आन्तरिक पर्यटनअन्तर्गत मनास्लु पदयात्राको स्मरण



काठमाडौं ।

विविध संस्कृति, विभिन्न भेषभूषा, लवाइ, जातजातिले भरिएको नेपालको सुन्दरता वर्णन गर्न शब्दावली अपर्याप्त नै भएको मान्न सकिन्छ। विभिन्न भौगोलिक विविधताको प्रचुरता विश्वका लागि अनुपम देन नै मान्न सकिन्छ।

विदेशी, स्वदेशी पर्यटन प्रवद्र्धनको कैयौैं आधारहरुको विकास, संवद्र्धनको साथसाथै स्वदेशीहरुका पनि आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत देशको हालको आर्थिक अवस्था चलायमान बनाउन, थप रोजगारीको अवसर सृजनाको अवसर बनाउन प्रशस्त आधार देख्न सकिन्छ।

पदयात्रा आफैँमा स्वास्थ्यको लागि पनि आवश्यक हो भने, नयाँ गन्तव्यको पहिचान, नयाँ परिवेश, जनजीवनको तौरतरिका बुझ्न, सामाजिक सद्भाव बढाउने तथा आर्थिक गतिविधि चलायमान बनाउने एउटा दरिलो माध्यम पनि हुन सक्छ। विदेश भ्रमणको साटो स्वदेश भ्रमण गर्ने परिपाटीको विकास गर्नसमेत थप पहलकदमीको अपेक्षा शायद गलत नहोला ।

स्वदेशको विभिन्न धार्मिक स्थलहरु, विभिन्न गाउँ, विभिन्न पदमार्गहरुको प्रचारप्रसार गरी सुहाउँदो उमेर समूह अनुरुप स्कुल, कलेजलगायत विभिन्न सरकारी, गैरसरकारी कार्यालयहरुको समेत यसमा सक्रियताको अपेक्षा गर्न सकिन्छ।

नेपालमा विभिन्न पदयात्राहरुमा विदेशी पर्यटकहरुको आगमनलाई मात्र पदयात्रीको रुपमा लिने तर त्यही यात्रामा नेपाली पदयात्रीहरुको के–कस्तो अवस्था छ, के–कस्तो अभिवृद्धि गर्न सकिन्छ अथवा कसरी स्वदेशी पदयात्रीहरुलाई पनि थप आकर्षित गर्न सकिन्छ ? त्यतातिर पनि सम्बन्धित निकायहरुले जोड दिन आवश्यक छ।

यस परिवेशमा हालै ११ दिने मनास्लु पदयात्रमा सरिक भएबमोजिम सो यात्राको केही विवरण इच्छुक जोसु्कैलाई फलदायी हुने आशा गर्दै केही संस्मरणहरु लेख्ने जमर्को गरेको छु।

पहिलो दिन बसबाट गोरखाको आरुघाट हुँदै माछीपोखरीमा पुगेर बास बसियो। साँझ केहीबेर घुम्नुका साथै बूढीगण्डकी नदी पनि पुगियो भने नदीकै छेउबाट बग्ने तातो पानीको अनुभव पनि गरियो । त्यस्तै दोस्रो दिन सवैरै पदयात्रा शुरु भयो।

माछीखोलाबाट करिब २२ कि.मि.को दूरी जगातमा पुग्यौं। बाटोमा विभिन्न विदेशी पर्यटक टोलीहरुको भेट, सामान्य कुराकानी पनि निकै लाभप्रद नै मान्न सकिन्छ । तेस्रो दिन जगातबाट करिब २० कि.मि.को यात्रा पूरा गरी बासको लागि डेंङ्ग पुग्यौं।

डेंङ्गमा बसेको होटलमा कुराकानी बमोजिम गएको दशैंताका विदेशी पर्यटकहरुको घुइँचो थियो तथा बासस्थानको अभावले गर्दा भान्साकोठामा समेत बसेर रात कटाएको कुरा पनि जानकारीमा आयो।

चौथो दिन डेङ्गबाट १९ कि.मि.को पदयात्रा गरी नामरुङ्गमा पुग्यौं । अरु स्थानभन्दा त्यहाँ चिसो अनुभव भयो । त्यसो त अब जति उकालो लाग्दै जाने हो, चिसो पनि बढ्दै जाने नै हो।

यस यात्रामा जहाँ–जहाँ बास बसियो, खाना खाने बेलामा जनशक्तिको कमीले गर्दा खाना खुवाउने कार्यमा हामीसँगै गएका सहयोगीले निकै मद्दत गरे । हामीसँगै जाने भरिया हुन् वा अन्य टोलीसँग गएका हुन्, २५ देखि ३० केजी वा सोभन्दा बढी भारी बोकेर हामीभन्दा अघि पुग्न सक्नु, त्यसमाथि कसै–कसैको त सामान्य चप्पलमात्र हुनु पनि जीवनको दर्द, स्थान विशेषको परीस्थिति, बाध्यता दर्शाउन पर्याप्त छ।

पाँचौं दिन नामरुबाट १० कि.मि.को यात्रा गरी ल्हो गाउँमा दिउँसो नै पुग्यौं । खाना र रातिको बास पनि त्यहीँ भयो । दिउँसो केही समूह फेरि उचाइ र नयाँ स्थानको अवलोकनको लागि गयो।

सोही दिन बासस्थानको नजिकै नयाँ चैत्य उद्घाटन गरी लामागुरुहरुसहित स्थानीय बासिन्दाहरुले धार्मिक कार्यक्रम आयोजना गरिरहेकोमा विदेशीलगायत हामी पनि केहीक्षणको लागि सरिक भयौँ।

पाँचौं दिन बिहानै ल्हो गाउँबाट मनास्लुको दृश्यावलोकन गरियो। अति सुन्दर र मनमोहक देखियो। सूर्यको किरण र रातो हिमालको दृश्यावलोकन अनुपम छ। यात्राको क्रममा कुनै स्थान विशेषमा थप चिसो हुने, राति ओढ्ने सिरक, कम्बलको कतै राम्रो व्यवस्था हुने त कतै अपुग पनि महसु्स हुन्छ। यस अर्थमा शरीर न्यानो गर्न यात्रुहरुले थप चनाखो हुन आवश्यक देखिन्छ।

यो पदयात्रात्राको क्रममा गाउँहरुको दृश्यावलोकन, झरनाहरु, जनजीवन, खच्चडको माध्यमबाट सामान ओसारपसार, सडकहरुको डरलाग्दो र दनयीय अवस्था, विदेशी पर्यटकहरुसँग हाइहेलो, कहाँबाट आउनुभएको, कहाँ जाने, नेपाल कस्तो लाग्यो, यात्रा सफल होस् भनेर सामान्य कुराकानी पनि निकै सुखकर मान्नुपर्छ।

यसै गरी स्थानीय जनजीवन, शैली, स्थानीय भाषाको ‘टासी देलेक’ शब्दमात्र बोल्दा पनि जुन सुख प्राप्त हुन्छ त्यो पनि अविस्मरणीय छ । साथै एक–आपसमा सम्बन्ध प्रगाढ हुने वातावरण पनि सृजना हुन्छ।

यस्तो पदयात्रामा निश्चितरुपमा केही लाभदायक स्थिति भए पनि आफ्ना केही कमजोरीहरु सुधार्न तथा अन्य यात्रीहरुको व्यवहारबाट पनि केही लाभ लिन सकिने अपेक्षा गर्न सकिन्छ। विशेषतः नेपालीहरुले हल्ला गर्ने र विदेशी पर्यटकहरुको देनिकीमा बाधा पुग्ने गरेको कुरा सुन्न पाइन्छ । एउटा बासस्थानमा होहल्ला गरेकोले अरु स्थानमा हाम्रो समूहलाई बास नदिने कुरा भएको भन्ने पछि सुन्न पाइयो।

धन्य त्यो दिन निश्चित र तोकिएको बासस्थानसम्म पुग्न सकिएन, केही वरकै बस्तीमा बास बसियो। त्यहाँ पुग्न नसक्नुको कारण एक–दुईजना सहभागीको हिँडाइ ढिलो भएको थियो । त्यो ठाउँमा पुगेको भए हाम्रो समूहलाई पुग्ने कोठा पनि थिएनन् भन्ने पनि जानकारीमा आयो।

हाम्रो यात्रा कुनै न कुनै रुपमा सफल भयो नै, तर यसको शिक्षा हामी नेपालीहरुले सिक्नुपर्ने कुराचाहिँ पक्कै छ, सार्वजनिक स्थानहरुमा होहल्ला नगरी आफूहरुमा सानो स्वरले मात्र कुरा गर्ने, अरु पक्षको पनि ख्याल गर्ने तथा सकभर गफ नै नगर्ने प्रवृत्ति बनाउन आवश्यक छ।

यस्तै होटल संञ्चालकहरुहरुले पनि विदेशी पर्यटकहरुसँगको आर्थिक लाभमात्र ख्याल नगरी स्वदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्ने थप प्रयासको खाँचो देखिन्छ।

छैटौं दिन ल्होबाट सामागाउँ (३५०० मिटर उचाइ) को लागि बिहानै हिड्यौं र १७ कि.मि. करिब ५ घण्टाको यात्रापश्चात् खाना र बास बस्ने होटल पुगियो। सामागाउँ पुग्दा अझ चिरपरिचित नाम भएकोे र हेलिकप्टर उडान हुने हुँदा थप उमंग बढेको महसुस हुन्थ्यो। निषेधित क्षेत्र सामागाउँमा उक्त दिन पनि हेलिकप्टर उडान अवतरण भएको आवाजले मनमा हर्षको तरंग अनुभूति भयो।

बासस्थान पुग्न केही वर एकजना वृद्धले हामीसँग सामान्य भलाकुसारी गरे । हामीले पनि घर परिवारको बारेमा जिज्ञासा राख्दा छोरा जंगलतिर दाउरा टिप्न गएको वा कतै गएको, आजकल छोराछोरीले आमा–बाको कुरा नसुन्ने, बुढेसकालमा दुःख भएको कुरा सुनाए।

पदयात्राको अवधिमा कैयौं घरहरु जीर्ण वा बसोबास नभएको, कैयौं घर निर्माण भइरहेका, पुराना होटलहरु नयाँ होटल र स्थानमा विस्थापित भएको पनि यत्रतत्र देख्न सकिन्छ।

खाना खाएर केहीक्षणको विश्रामपश्चात् पुनः केही उकालो चढेर वीरेन्द्र ताल पुग्यौं। वीरेन्द्र ताल जाने क्रममा एउटा पुरानो गुम्बा पनि देखियो। त्यहाँ धार्मिक पुस्तकालय रहेको बुझिन्छ। त्यो बेला बन्द थियो। लाग्छ, त्यो स्थान बुद्धधर्मको केन्द्रस्थल हुनुपर्छ। जाँदै गर्दा गुरु पद्मसम्भवको पार्क भनी फोटो देखेको थिएँ तर हाम्रो जाने बाटोमा परेन र जान अनुकूल मिलेन।

सातौं दिन सामागाउँबाट करिब १६ कि.मि.को यात्रा ५ घण्टाको यात्रा गरी साम्दो (३७०० मिटर) मा पुग्यौं। त्यहाँ दिउँसो खाना खाइसकेपछि केही उचाइको यात्रा गरी पुनः बासस्थान फर्कियौं।

आठौं दिन बिहानको खाजासहित १२ कि.मि. यात्रा ५ घण्टाको समयान्तरमा धर्मशाला (४४६० मिटर) मा पुग्यौं । धर्मशाला पुगेको दिनमा अन्य दुईजना सहभागीहरुको हिँडाइको स्थिति हेरेर हामीसँगै गएको सहयोगीले भनेको त थियो– यस्तो अवस्था हो भने उहाँहरु भोलि लार्केपास जान सक्नुहुन्न । आखिरमा अनुभवको पनि त मूल्य हुन्छ ।

नवौं दिन धर्मशालाबाट बिहान अँध्यारोमै टर्च लाइट बालेर लस्करै हिड्यौं । हामीभन्दा केही समयअघि विदेशीहरुको टोली गएको थियो। कुनै स्थानमा हाम्रो टोली अघि त कुनै स्थानमा उनीहरु अघि हुन्थे, विश्राम, खाजा आदिको स्थान र समयान्तर आदिको कारणले।

धर्मशालादेखि लार्केपास (लार्के भर्‍याङ, ५१०६ मिटर उचाइसम्म दायाँ–बायाँका हिमालहरु निकै सौन्दर्यजनक थिए। करिब १ घण्टाजति हिउँको बाटो पार गर्नुपर्छ । लार्के भर्‍याङ पुगेपछि सहभागीहरुको उत्साह र उमंग हेर्नलायकको हुन्छ।

लार्के भर्‍याङबाट लार्केपास फेदी, मनाङ बासस्थान पुग्दा साँझ भयो । फेदीको बसाइ पनि निर्धारित गन्तव्यभन्दा करिब दुई घण्टा वरकै स्थानमा भयो।
दशौं दिन लार्केपास फेदीबाट भीमठाङ्ग हुँदै साँझ गोंमा पुग्यौं । यो यात्राको क्रममा अरु दिनको यात्रा कठिन त होइन, तर क्रमशः उचाइ बढ्दै जाने, चिसो बढ्दै जानेसँग आफू अभ्यस्त हुँदै जानुपर्छ।

अन्तिम दिन गोंबाट तिलिचो पुगियो । हामी प्ुग्दा स्थानीय आमा समूहको पहलमा बाटो सरसफाइ भइरहेका थियो । सामान्य कुराकानी गर्दा, महिनाको तीनचोटि सबै मिलेर सडक बढार्ने जानकारी पाएँ।

त्यहाँबाट जिपबाट बेसीशहरको लागि प्रस्थान गरियो । जिपमा सहभागीहरुले भ्रमण सुखद भएको भनी हिमाली दृश्यहरुको अनुपमता वर्णन गर्दै खानाभन्दा तातो पानी महँगो भएको आदि प्रसंग निकाले।

तातो पानीको पैसाको सन्दर्भमा हामीसँगै गएका सहयोगीले शहरबजारमा पनि बहालमा बस्नेहरुसँग पानी, फोहोर फालेको बापत पैसा लिन हुने, तातो पानीको किन लिन नहुने भन्ने कुराकानी गरे।

अझ जिप चालकले थप पुस्ट्याइँ गर्दै ‘शहरबजारमा १८–१९ सय रुपियाँमा पाउने ग्यास ती स्थानहरुमा पुग्दा ७ हजार रुपियाँभन्दा बढी पर्छ, दाउराको जोहो गर्न पनि गाह्रो छ, अतः तातो पानीको मात्र नभई इन्धन, श्रमको पनि पैसा हो’ भनेपछि सबैले होमा हो मिलाए । यस पदयात्रामा बत्ती नभएको स्थानमा पनि बसियो।

बत्ती भएकै स्थानमा पनि मोबाइल चार्जलाई भोल्टेज नपुग्ने पनि बेहोरियो। कतै त वाइफाइका लागि पनि शुल्क तिर्नुपर्‍यो । शौचालयका जारमा भएका पानी जम्ने पनि हेरियो । यसरी विभिन्न स्थानहरुको रोजगार, श्रम, बजारको अवस्था आदि बुझ्न र बुझाउन पनि पदयात्रा लाभदायी भएको सिद्ध हुन्छ ।

तीन दिन निकै चिसो स्थानबाट बिहान हिँड्नुअघि तातो सूप खाएर, अन्य दिन हामीले बोकेकै खाजाको भरमा, बीच–बीचमा मनतातो पानी, खुर्पानी, मकै चपाईकन पनि स्वस्थ र सहज यात्रा सम्पन्न गर्न सकिन्छ।

खानापान नमिलेमा यात्रा कठिन हुन्छ भन्ने सन्देश प्रवाह गर्नसमेत सफल भएको मान्न सकिन्छ। ललितपुर सातदोबाटोस्थित प्रकृतिप्रेमी समूहद्वारा आयोजित यात्रामा सहभागी, प्रत्यक्ष–अप्रत्यक्ष सहयोगी, विशेषतः विभिन्न गाउँमा जे–जस्तो भए पनि व्यवसाय गरी सेवा दिइरहरनुभएका सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न आवश्यक ठान्दछु।

अन्त्यमा बेंसीशहरमा खाना खाई केहीक्षणको आरामपछि बसबाट काठमाडांैको लागि यात्रा शुरु भई कलंकीमा राति १० बजे पुग्यौं।

प्रतिक्रिया दिनुहोस्