सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण : मन्त्री जिसी



सुर्खेत। 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नियम विपरीत जाने जोकोहीलाई पनि कानुन अनुसार कारबाही गरेर सुरक्षित र व्यवस्थित यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले बताए ।

शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको समन्वयमा आयोजित मर्यादित यातायात सेवाका लागि सवारी चालक तथा सहचालकहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नागरिकमैत्री सेवा प्रवाह गरेर ट्राफिक प्रहरी पावरमा चल्छ भन्ने आरोपको अन्त्य गर्नुपर्नेमा मन्त्री जिसीले जोड दिए । सडक दुर्घटना कम गर्नको लागि कर्णालीका सडकलाई स्तर उन्नति गर्न आवश्यक भएको भन्दै मन्त्री जिसीले सरकारले फराकिलो सडक निमार्णमा ध्यान दिने बताए । प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्किङको समस्याले सडक दुर्घटना बढ्ने भन्दै त्यसलाई कम गर्न व्यवस्थित वैकल्पिक पार्किङको छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले सार्वजनिक गाडीमा महिलाहरु माथि यौन दुर्व्यवहार हुने गरेको बताउँदै यसको अन्त्य गर्न चालक र सहचालकको भूमिका महत्त्वपूर्ण भएको औँल्याए । “ गाडीमा यौन दुर्व्यवहार हुने गरेको व्यापक सुनिने गरेको छ, यसलाई अन्त्य गरी दोषीलाई कारबाही गर्न चालक र सहचालकले प्रहरीलाई सहयोग गर्नुपर्छ, किनकि कसले कसलाई कसरी हिंसा गरेको भन्ने कुरा सहचालकलाई थाहा हुन्छ, त्यो कुरा राजमार्गको सुरक्षामा हुने प्रहरीलाई भन्नुपर्छ , अनि दोषीहरुलाई कारबाही हुन्छ” उनले भने । महिला आफैले यात्राका क्रममा धेरै कुराहरु भन्न नसकिरहेको अवस्थामा चालक तथा सहचालकले गाडीमा यौन तथा अन्य हिंसा गर्नेलाई कारबाहीको लागि प्रहरीलाई सूचना दिनुपर्ने उपरीक्षक गुरुङको भनाई छ । चालक तथा सहचालकवाट सूचना प्राप्त गर्न साथ ठाउँको ठाउँमा प्रहरीले दोषीलाई कारबाही गर्ने बताए ।

त्यस्तै कार्यक्रममा पत्रकार गणेशकञ्चन भारतीले कर्णालीमा सडक दुर्घटना हुनुमा सडक फराकिलो नहुन,कच्ची सडक बढी हुनु,गाडीमा इन्जिन कमजोर हुनु, रुटप्रमिट विना गाडी सञ्चालन हुनु तथा सवारी चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको भन्दै यसलाई अन्त्य गर्न सरकार तथा ट्राफिक प्रहरी जिम्मेवार भएर लाग्नुपर्ने बताए ।  कर्णालीका राजमार्गलाई मृत्युमार्गवाट नाम हटाउन ट्राफिक प्रहरीले आफ्नो सेवा प्रवाहलाई प्रभावकारी वनाउनेपर्नेमा भारतीले जोड दिए ।

कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यातायात कार्यालय सुर्खेतका प्रतिनिधि तथा ट्राफिक कार्यालयका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए । शाहीका अनुसार सरकारी तथा सस्थान र सार्वजनिक सवारी साधनका सवारी चालक, सहचालकहरु, ट्राफिक प्रहरी, पत्रकार लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्