त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो।

यो सूचना प्रकाशित भएको शुक्रबारको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्न सकिने सूचनामा भनिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तका साथ नागरिकता, वैयक्तिक विवरण, स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यताको प्रमाणपत्र र विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यहोरा खुलेको विवरण पनि पेस गर्नुपर्ने समितिले जनाएको छ।

यस्तै, सोचपत्र (भिजन पेपर) र ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्न भनिएको छ। १६ कात्तिकमा प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ।

प्रतिक्रिया दिनुहोस्