यूएईमा फस्टाउँदै नेपाली फुटबल क्लब



काठमाडौं ।

संयुक्त रूपमा ७ वटा राज्य अर्थात् दुबई, शारजाह, अजमान, उम अल कुवैन, फुजिराह, रस अल खेमाह र आबुधाबी मिलेर बनेको राष्ट्र हो यूएई अर्थात् संयुक्त अरब एमिरेट्स। यूएईको नाम झट्ट सुन्नासाथ मरुभूमिले भरिएको देशलाई सम्झन्छौं।

त्यही मरूभूमिमा आश्चर्यचकित पार्ने पूर्वाधारहरू निर्माण गरेर दिन दुगुना रात चौगुणाको रफ्तारमा आर्थिक उन्नति र विकास गरेको छ यूएईले।

केही दशकअघिसम्म मरुभूमिमा रहेको तेलको खानीमा आश्रित यूएई अहिले मरुभूमिलाई चाहे अनुसारको कृतिम हरियाली बनाएर पर्यटनबाट पनि मनग्गे आय आर्जन गर्दैछ।

यही देशमा रोजगारीका लागि विदेशिनेहरू पनि लालायित हुने गरेका छन् । प्रचण्ड गर्मीका बावजुद वैदेशिक रोजगारमा जाने नेपालीहरूको पनि प्रमुख गन्तव्यको रूपमा परिचित छ यूएई ।

मरुभूमिले घेरिए पनि आधुनिकतासँग तादम्यता मिलाएर अघि बढेको यही देशको सबैभन्दा विकसित राज्यहरूमा गनिन्छन् दुबई, आबुधाबी र शारजाह।

अनि यी राज्यभित्र रोजगारीको सिलसिलामा पुगेका कयौं नेपालीहरूबीच लोकप्रिय छ फुटबल। नेपाल छँदा ए डिभिजन क्लब वा राष्ट्रियस्तरको खेलाडी बन्ने धोकोलाई थाँती राखेर विदेशिएकाहरूले अहिले आफ्नो इच्छालाई धेरै हदसम्म साकार पनि पारेका छन्।

फुटबल खेलाडी बन्ने सौख हुँदा हुँदै परिस्थितिले विदेसिनु परेकाहरूले अहिले प्रवासमा पनि फुटबललाई आफ्नो दैनिकीको हिस्सा बनाएका छन्। यूएईमा रहेका कयौं नेपालीहरू अहिले कुनै न कुनै रूपले फुटबलसँग जोडिएका छन्।

उदाहरणको रूपमा यूएईमा रहेका नेपालीहरुले स्थापना गरेको फुटबल क्लबको संख्या र त्यहाँ हुने गरेको प्रतियोगितालाई हेरेबाट प्रष्ट हुन्छ। यूएईको व्यस्त कार्य तालिकामा फुटबललाई पनि जोडेर झन्डै दुई दर्जनभन्दा बढी क्लबहरूको स्थापनाले यसको पुष्टि गर्छ।

ती क्लबहरूबीच प्रतियोगिता गराई फुटबल खेल्ने आफ्नो अधुरो चाहनालाई पनि पूरा गर्दैछन् यूएईका प्रवासी नेपालीहरू। स्थापना गरिएका ती क्लबहरूमध्ये सबैभन्दा बढी दुबईमा नै रहेका छन्।

त्यति मात्र होइन, फुटबलको मर्यादित विकासका लागि दुबईमा नै छाता संघसमेत गठन गरिएको छ। ती सबै क्लबको परिचालक निकायको रूपमा अहिले यूएई नेपलिज फुटबल एसोसिएसन (अन्फा) सक्रिय छ।

सन् २०१९ मा यूएई नेपाली फुटबल ग्रुप (यूएनएफजी) बाट गठन गरिएको यो संस्थाको नाम २०२२ मा यूएई नेपलिज फुटबल एसोसिएसनमा रूपान्तरण गरिएको हो।

हाल मुक्ति गुरुङ अध्यक्ष रहेको यो संघलाई दुबई सरकारबाटसमेत मान्यता दिलाउने प्रक्रियामा रहेकाे छ ।  वर्तमान अन्फाको कार्यसमितिमा अध्यक्ष गुरुङलगायत उपाध्यक्षमा अनिल शेर्पा, कोषाध्यक्षमा कुल लेप्चा, संयोजकमा राहुल श्रेष्ठ, सचिवमा प्रेम शाही ठकुरी, उप–सचिवमा दीपेन्द्र भण्डारी, मेडिकल पर्सनमा शेखर पौडेल र रेफ्री संयोजकमा विजय तामाङ रहेका छन्।

प्रायोजक बिना कुनै पनि प्रतियोगिता गर्न कठिन हुन्छ । तर, विदेशी भूमिमा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न ब्यक्तिदेखि क्लब तथा संघसंस्थाका अध्यक्ष र कार्यसमितिका अन्य पदाधिकारीबाट आर्थिक संकलन जुटाउने संस्कारका कारण प्रतियोगिताले निरन्तरता पाइरहेको अन्फाका कोषाध्यक्ष तथा घाण्टुट रेस्टुरेन्ट आब्राका सञ्चालक कुल लेप्चा बताउनुहुन्छ।

त्यस्तै, अन्फाका उपाध्यक्ष तथा दुबईमा सबैभन्दा पहिले स्थापना भएको नेपाली फुटबल क्लबमध्येको एक ओल्ड मोन्क्स फुटबल क्लबका संस्थापक अनिल शेर्पाले पनि अन्फाले सक्रिय रूपमा आफ्नो कामहरूलाई अघि बढाउँदै लगेको बताउनुहुन्छ।

उहाँले भने–“खेल मात्र नभई यूएईमा बस्ने सबै नेपालीहरूबीच सदभाव र आत्मीयता बढाउन र एकआपसमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित अन्फा स्थापना गरिएको हो। विशेषगरी सप्ताहन्तमा मात्र कामबाट आराम पाउने नेपालीहरूले त्यही दिन पारेर फुटबल प्रतियोगिताहरू पनि आयोजना गर्दै आइरहेका छन्।”

उहाँले निकट भविष्यमा नै नेपाली पुरुष तथा महिला राष्ट्रिय फुटबल टोलीलाई पनि अन्फामार्फत् सहयोग गर्ने योजना रहेको बताउनुभयो। उहाँ संस्थापक रहेको ओल्ड मोन्क्स फुटबल क्लबको आयोजनामा गत ३० सेप्टेम्बरमा चौथो सहदेव मेमोरियल कप सफलतापूर्वक आयोजना गरिएको बताउनुहुन्छ।

शारजाह वन्डरर्स स्पोर्ट्स क्लबको खेल मैदानमा भएको उक्त प्रतियोगितामा कुल २० वटा टिमले प्रतिस्पर्धा गरेको थियो। जसमा विजेता बनेको नखिल गोर्खा एफसीले उपाधिसहित ४ हजार दिर्हाम्स (यूएई मुद्रा) र उपविजेता लाली गुराँस एफसीले २ हजार ५ सय दिर्हाम्ससहित ट्रफी प्राप्त गरेका थिए।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्लेलाई टिमलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी, लामो समयदेखि दुबईमा स्थापना भएका क्लबहरूबीच समन्वयकारी भूमिका निभाउँदै आउनुभएका युथ स्पोर्टिंग एफसीका अध्यक्ष तथा अन्फाका संयोजक राहुल श्रेष्ठले पनि गर्मीयाममा प्रतियोगिता गर्न सहज नहुने भएकोले मौसम अनुकूल हुने महिनामा वर्षको औसत ६ वटा प्रतियोगिता हुने गरेको बताउनुहुन्छ।

गत अक्टोबरमा यूथ स्पोर्टिंग क्लब दुबईको आयोजनामा दशैंको अवसरमा पारेर तेस्रो दशैं कप आयोजना गरिएको थियो। जसमा रोयल गोर्खा क्लब विजेता बनेको थियो।

त्यसैगरी, गत डिसेम्बरको तेस्रो साता तनहुँ सेवा समाज यूएईको आयोजनामा प्रथम भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ग्रिन सिटी ईलाम विजेता बन्दा ओल्ड मोन्क्स उपविजेता बनेको थियो।

पछिल्लोपटक दुबईको लाली गुराँस एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडको सहकार्यमा ३० डिसेम्बरमा अन्फामा आबद्ध दुबईमा रहेको १६ टिमबीचबीच पनि प्रथम लालीगुराँस एफसी न्यू इयर कप २०२४ सम्पन्न भएको थियो।

जसमा नखिल गोर्खाज क्लबले उपाधि जित्दै ४ हजार दिर्हाम्स हात पार्दा उपविजेता बनेको आयोजक लाली गुराँस एफसीले ३ हजार दिर्हाम्स प्राप्त गरेका थिए। यस प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि सम्मान गरिएको थियो।

खेललाई विवादरहित बनाउन रेफ्रीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। यस विषयमा प्रथम लाली गुराँस न्यू इयर कपमा रेफ्री संयोजकसमेत रहेका अन्फाका रेफ्री संयोजक विजय तामाङ नेपाली रेफ्रीहरूले नै प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुहुन्छ।

उहाँले शुरुका दिनमा प्रतियोगिता सञ्चालनका लागि अफ्रीकी मुलका रेफ्रीहरूलाई बोलाउने गरिए पनि अहिले दुबईमा नै रहेका एन्फा लाइसेन्स प्राप्तलगायत अन्य अनुभवी नेपाली रेफ्ररीहरू पदम भुजेल, कुमार थिंग, सुजित गुरुंग, निश्चल थापा, याम थापा, सागर श्रेष्ठ, विकास धिमाल, अनिश बस्नेतलगायत अन्यलाई खेल सञ्चालन गर्न दिएको बताउनुहुन्छ ।

हालसम्म अन्फामा दर्ता भएका क्लबहरू

लमजुंग एफसी, रोयल गोर्खा एफसी, हिपात एफसी, नवबुद्ध एफसी, गोर्खाली एफसी, लाली गुराँस एफसी, मेची महाकाली एफसी, नेपाल टाइगर, एफसी रोयल एयूएच, सुनसरी एफसी दुबई, नखिल गोर्खा एफसी, एएसएसजी आरएके, ओल्ड मोन्क्स, युथ स्पोर्टिंग एफसी, ग्रिन सिटी इलाम, युनाइटेड स्टार एफसी, इनास एफसी, न्यु ब्वाइज एफसी, मर्स्याङ्दी एफसी, धरान एफसी, चन्द्रसूर्य एफसी, काष्ठमण्डप एफसी, दार्जिलिङ युनाइटेड एफसी, झापा–११ एफसी, नेपाल–११ एफसी, कास्की–११ एफसी ।

प्रतिक्रिया दिनुहोस्