भारतीय विदेशमन्त्री डा. जयशंकर काठमाडौं आउँदै



काठमाडौं ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ।

भारतीय विदेशमन्त्री डा. जयशंकरको यो भ्रमणमा भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्नेगरी दीर्घकालीन ऊर्जा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठमा भारत भ्रमणका क्रममा छिट्टै नै काठमाडौंमा भारतसँग दीर्घकालीन ऊर्जा सम्झौतामा हुने बताउनुभएको थियो।

बिहीबार र शुक्रबार दुई दिन चल्ने संयुक्त आयोगको बैठकमा ऊर्जा व्यापारका साथै भैरहवाबाट सीधै भारत हवाई उडानको विषयमा विशेष छलफल हुने बताइएको छ। त्यसै गरी बैठकमा नेपाल–भारतबीच क्रस बोर्डर कनेक्टिभिटीलगायत विकास परियोजनाहरूका बारेमा पनि छलफल हुने बताइएको छ।

भारतीय विदेशमन्त्री जयशंकरसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची र विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि संयुक्त बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।

भारतीय वायुसेनाको विशेष विमानबाट बिहीबार बिहान काठमाडौं आउने भारतीय विदेश मन्त्रीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

जयशंकरको सम्मानमा परराष्ट्र मन्त्रालयले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ। उक्त रात्रिभोजमा भारतीय विदेशमन्त्री एस.जयशंकरले संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्