राष्ट्रिय सभा निर्वाचन

गठबन्धनको किचलोमा एमालेको खेल्ने दाउ



कामाडौं ।

राष्ट्रिय सभा निर्वाचनलाई लिएर हुनसक्ने सत्ता गठबनधनको किचलोमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले खेल्ने प्रयास गरेको छ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट वितरणमा किचलो भइरहँदा एमालले माओवादीसँगको सहकार्यका नाममा गठबन्धनमा फाटो ल्याउने प्रयास गरेको हो।

सोही प्रयासस्वरूप पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग सोमबार भेटवार्ता गर्नुभयो। सोमबार प्रधानमन्त्री र ओलीबीचको भेटलाई पुष्टि गर्दै नेकपा एमालेका एक पदाधिकारीले भने– ‘प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्षबीच भएको भेटमा केही न केही कुरा त भएको होला, तर के के भयो भन्ने बाहिर आएको छैन। राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलहरूबीच दायाँबायाँ नहुने प्रतिबद्धता जनाएपछि एमालेको हार निश्चित नै छ। तर, हाम्रो तर्फबाट सकिने प्रयास त गर्नै पर्‍यो चुप लागेर बस्ने कुरा पनि भएन।’

एमाले नेताहरूको बुझाइमा दुई नेताको भेटमा अध्यक्ष ओलीले राष्ट्रिय सभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न प्रस्ताव गरेको हुन सक्छन्। यद्यपि, प्रचण्ड–ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालय र नेता निकटस्थहरूले गोप्य राखेका छन्।

नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सभा निर्वाचन र टीआरसी विधेयकसमेतका विषयमा छलफल भएको हुन सक्ने एमालेका नेताहरूले बताएका छन्।

प्रधानमन्त्री दाहाल र प्रतिपक्षी दलका नेता ओलीबीच भएको भेटलाई कतिपयले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबनधनबीच खटपट ल्याउने र एमाले–माके सहकार्यलाई जोड्ने प्रयासका रूपमा विश्लेषण गरेका छन्।

तर, राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मंगलबार बालुवाटारमा छलफल भएकाले अहिले नै गठबन्धनमा असमझदारी नआउने माओवादी केन्द्रका नेताहरूले जिकिर गरेका छन्।

नेपाली कांग्रेसले पनि गत हप्ता भएको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै राष्ट्रिय सभामा जाने निर्णय गरिसकेको छ। गठबन्धनमा सिट बाँडफाँटसँग क्लस्टर मिलाउने विषय जटिल रहेको नेताहरूले बताएका छन्।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा असहज हुने भएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई तर्साउनका लागि एमाले अध्यक्ष ओलीसँग छलफल चलाएको कतिपयको बुझाइ छ।

मंगलबार भएको सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

यता, माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए। नेताहरूबीच गठबन्धनभित्र कुन दलले कति भाग पाउने भन्ने विषयले प्राथमिकता पाएको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो– ‘प्रधानमन्त्री प्रचण्डले पनि यही गठबन्धनलाई यो कार्यकाल कायम राखेर जाने कुरामा ढुक्क हुनुहुन्छ। तर, एमालेले खेल्न खोजिरहेको सत्य हो। त्यो प्रतिपक्षको धर्म पनि हो । राष्ट्रिय सभामा अहिले खाली हुने सिटमा आ–आफ्नो दलले लिने र एमालेबाट खाली हुने ९ सिटमा दलको हैसियतअनुसार बाँडफाँट गर्ने मोटामोटी सहमति भएको छ।’

फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, वागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ। निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबीच सिट बाँडफाँटबारे छलफल बाक्लिँदै गएको छ।

कांग्रेस र माओवादी केन्द्रबीच मंगलबार भएको छलफलमा कांग्रेस नेता रमेश लेखकले भन्नुभयो– ‘सत्ता गठबनधन दलका शीर्ष नेताहरूबीच भएको छलफलमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा केन्द्रित भएको छ। राष्ट्रिय सभाको सिट बाँडफाँट चाँडै टुंग्याउने गरी अघि बढ्न नेताहरूबीच सहमति भएको छ। प्रतिपक्षी दलका नेता केपी ओलीसँगको भेटका सन्दर्भमा प्रधानमन्त्री दाहालले केही भन्नुभएन।’

उहाँका अनुसार राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधबार गठबन्धनको बैठक बस्नेछ। कांग्रेस र माओवादी केन्द्रका नेताबीच भएको एमालेको रिक्त ९ सिटमा दुई दलबीच मात्र भागबन्डा गर्ने गरी छलफल भएको स्रोतको दाबी छ।

सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र जसपालाई उनीहरूको रिक्त सिटमा मात्र छाड्न सकिने बताएपछि उसले असन्तुष्टि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्