सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने सरकारीे लक्ष्य



काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘ब्रेक थ्रु’ गर्नुभएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङबाट सिन्धुली, रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई मरिण नदीमा खसालिने लक्ष्य राखिएको छ ।

‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो आयोजनाको लागि आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत सरकारले दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको थियो । यो आयोजना मुख्य रूपमा सिँचाइमा केन्द्रित भए पनि पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो।

सिन्धुली, रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत् मरिण नदीमा खसाली वागमती नदी हुँदै वागमती सिंचाइ आयोजनामा पु¥याउने सरकारको लक्ष्य छ । आयोजनाले हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभर सिँचाइ सुविधा पु¥याउने विश्वास गरिएको छ । मरिणमा पानी खसाल्दा विद्युत् गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । यो इन्टरबेसिन वाटर ट्रान्सफर बहुद्देश्यीय सिँचाइ आयोजनाको उद्देश्य हो ।

तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत् मरिणमा खसालिने छ । मरिणमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिने छ । यो आयोजना बनेपछि सुनकोशीको ६४ क्युबिक मिटर प्रतिसेकेन्ड पानी मरिणमा झर्नेछ । यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् नै खनिएको थियो । भेरी बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोशी मरिणमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्