२०२३ का केही अन्तर्राष्ट्रिय खेलकुद

0
Shares

काठमाडौं ।

खेलकुदले नछोएको दैनिकी सायदै कसैको होला। कोही प्रत्यक्ष खेलकुदमा लागेका छन् भने कोही खेलकुदसम्बन्धी गतिविधि हेरेर वा पढेर खेलसँग जोडिएका छन्।

हरेकपटक नयाँ वर्षको सुखद आगमनसँगै हामीले बिदा लिएको वर्षलाई पनि मूल्याङ्कन गर्ने गर्छौं । एक वर्षभरि गरेका क्रियाकलापहरूलाई पुनः एकपटक सरसर्ती सम्झिने गर्छौं।

यही सन्दर्भमा अंग्रेजी वर्ष २०२३ पनि हामीबाट भर्खरै बिदा भइसकेको छ र अन्तर्राष्ट्रिय खेल जगत्मा भएका केही महत्वपूर्ण प्रतियोगिताहरूलाई पनि सम्झिनुपर्ने हुन्छ।

हरेक वर्षको क्यालेन्डरमा अटाउने चार वटा ग्रान्डस्लाम, यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग लगायतका अनगिन्ती प्रतियोगिताहरूसहित हरेक सालहरूमा जस्तै २०२३ मा पनि बहुसंख्यक जनमानसको ध्यान तान्न सफल केही खेलकुद गतिविधिहरू भए। तीमध्ये १९औं एसियाली खेलकुद, फिफा महिला विश्वकप र आईसीसी वान डे इन्टरनेसनल विश्वकप क्रिकेटको नाम अग्रपंक्तिमा आउँछ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा एसियाकै सबैभन्दा ठूलो खेलकुद उत्सव एसियाली खेलकुदको १९औं संस्करण सम्पन्न भयो। १६ दिनसम्म चलेको १९औं एसियाडको आयोजक चीनले पदक तालिकामा दबदबा कायम राख्दा आयोजना पनि भव्यरूपमा सम्पन्न गर्‍यो।

अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउ एसियन गेम्समा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४ सय ८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक तालिकामा नाम लेखाउन पनि सफल भए।

जसमा आयोजक चीनले कीर्तिमानी २ सय १ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । चीन सर्वाधिक २ सय १ स्वर्ण सहित १११ रजत र ७१ कांस्यसहित ३ सय ८३ पदक जितेर शीर्ष स्थानमा रह्यो।

जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १ सय ८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १ सय ९० पदक जितेर तेस्रोमा रह्यो।

दक्षिण एसियाली राष्ट्र भारतले पनि इतिहासकै सर्वाधिक २८ स्वर्ण ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर चौथो स्थान ओगट्यो । नेपाल एक रजत र एक कांस्य जित्दै ३३औं स्थानमा रह्यो। नेपालक लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कांस्य जितेको थियो। नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएको थियो।

त्यस्तै, जुलाई १० देखि अगस्त २० सम्म अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्तरूपमा आयोजना गरेको महिला फिफा विश्वकपको उपाधि स्पेनले जितेको थियो।

फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराएर स्पेनले पहिलोपटक महिला फिफा विश्वकपको उपाधि जित्न सफल भयो। स्टेडियम अस्ट्रेलिया सिड्नीमा भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो।

उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएकी थिइन्। २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी समेत बनिन्।

दुवै टोलीले पहिलोपटक फाइनल खेलको महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र समेत बन्यो । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एक पटक उपाधि जितेका छन् ।

त्यसैगरी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा भएको आईसीसी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो। ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । यो समेत अस्ट्रेलिया छैटौंपटक च्याम्पियन बन्यो। यसअघि, सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछि उपाधि जित्ने सपना पुन अधुरै रह्यो।

त्यसैगरी, हरेक वर्षझैँ २०२३ मा पनि चार वटा ग्रान्डस्लाम सम्पन्न भए । नोभाक जोकोभिचलाई भने २०२३ फाप्यो । उनले चारमध्ये तीनवटा ग्रान्डस्लामको उपाधि हात पारे। जनवरी १६ देखि २९ सम्म भएको वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन २०२३ को पुरुष एकलमा नोभाक जोकोभीच च्याम्पियन बन्दा महिला एकलको उपाधि बेलारुसकी आर्यना सबालेन्काले जितेकी थिइन्।

त्यस्तै, मे २८ देखि जुन १८ सम्म भएको फ्रेन्च ओपनको पुरुष एकलतर्फ सर्बियाली स्टार नोभाक जोकोभीच र महिला एकलतर्फ पोल्याण्डकी इगा स्वेतेकले उपाधि हात पारेकी थिईन्।

त्यसैगरी, जुलाई ३ देखि १६ सम्म भएको वर्षको तेस्रो ग्रान्डस्लाममा विम्बल्डनमा पुरुष एकलतर्फ कार्लोस अलकाराज र महिलातर्फ मार्केटा भोन्ड्रोसोभा च्याम्पियन बनिन्।

वर्षको अन्तिम ग्रान्डस्लामबाट परिचित यूएस ओपन २०२३ संस्करणको उपाधि पनि नोभाक जोकोभिच र अमेरिकाकी कोको गौफले जिते।यूईएफए च्याम्पियन्स लिग र यूईएफए युरोपा लिग विश्वमा सर्वाधिक चर्चित फुटबल लिगमा गनिन्छ।

हरेक वर्ष विश्वका करोडौं दर्शकहरूले चासो लिने यी दुई लिगमा यसपटक इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र स्पेनिस ला लिगा क्लब सेभियाले बाजी मार्‍यो।

१० जुन २०२३ मा भएको च्याम्पियन्स लिगको फाइनलमा सिटीले इटालियन सिरी ए क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलो पटक उपाधि जित्न सफल भयो। सिटीको जितमा रोड्रिगोले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बनेको थियो।

त्यसैगरी, ३१ मे २०२३ मा भएको यूरोपा लिगको फाइनलमा सेभियाले पनि इटालियन सिरी ए कै टोली एफसी रोमालाई टाईब्रेकरमा ४–१ ले हराउँदै सातौंपटक उपाधि जित्न सफल भयो।

निर्धारित र अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल विजेताको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।