महासमिति बैठकबाट १५ औँ महाधिवेशनकाे मिति तोक्नुपर्छ : शेखर कोइराला



काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताएका छन्।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशको भेला उद्घाटन गर्दै कोइरालाले पार्टीको १५ औँ महाधिवेशन समयमै गर्नका लागी सबै तहबाट दबाब सुरु गर्नुपर्ने बताएका हुन्।

नेपाली कांग्रेसको साङ्गठनिक संरचना परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले भने–‘पार्टीको तलदेखि माथि सम्मकै संरचनागत सुधार ल्याउनुपर्छ । यसका लागि महाधिवेशन नै उपयुक्त समय हो। हामीले आगामी महासमितिको बैठकबाट १५ औँ महाधिवेशनको मिति तोकेर तयारी थाल्नु पर्छ । त्यसमा प्रजातन्त्र सेनानीलगायत सबै तहका साथीहरूले दबाब दिनुपर्ने हुनसक्छ।’

उनले आगामी दिनमा कम्युनिस्टहरुसँग सहकार्य गरेर चुनावमा जाने कल्पना गर्न नसकिने जिकिर गरे। ‘गठबन्धन गर्नु नै परे लोकतान्त्रिक शक्तिहरुसँग मात्रै गठबन्धन हुन्छ, कांग्रेसको चुनावी सहकार्य अरूसँग हुँदैन, हुनुहुँदैन।’

नेपाली कांग्रेसले कम्युनिस्टसँग गठजोड गरेर जानु अलोकतान्त्रिक भएको दाबी गर्दै उनले थपे ‘कम्युनिस्टहरुसँग चुनाव अघि गठबन्धन हुनुहुँदैन । चुनावपछि सरकार बनाउने कुरामा आवश्यकता अनुसार गर्न सकिन्छ।’

अहिले नेपाली कांग्रेस ठुलो पार्टी भएपनि तेस्रो दल माओवादीलाई सरकारको जिम्मा लगाइएकोप्रति उनले आक्रोश व्यक्त गरे।

उनले भने-‘कांग्रेसको मुख्य सहयोगमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड जी कांग्रेसका मन्त्रीहरूको रिपोर्ट कार्ड माग्दै हुनुहुन्छ। मत उहाँकै रिपोर्टकार्ड माग्दै छु। मुलुकमा भएका भ्रष्टाचारका काण्डमा सरकारले के–के गर्‍यो ? यो एक वर्षमा तपाईँले के–के गर्नुभयो ?’

ललिता निवास काण्ड, एनसेल, ह्वाइटबडी काण्ड देखि सुन तस्करी र नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुग्यो भनेर हेर्न खोजेको कोइरालाको भनाइ छ।

त्यस्तै उनले गत शुक्रबार बालकुमारीमा भएको घटनामा सरकार, प्रहरी प्रशासन देखि अदालत समेत दोषी रहेको बताए। कोइरालाले भने–‘त्यो काण्डमा सरकार देखि सबै दोषी छन्, भन्नत हुँदैन तर, अदालत पनि दोषी छ। पहिला १८ जनाको स्वीकृत गरिदियो त्यसपछि सबैले परीक्षा दिन पाउने भनेर भनिदियो । काण्ड भइसकेपछि भनेर के फाइदा भयो ?’

प्रतिक्रिया दिनुहोस्