जयसवाललाई आठ वर्ष कैद, ८३ करोडभन्दा बढी जरिवाना



काठमाडौं ।

विशेष अदालतले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा प्रमोदकुमार जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपिया“ जरिवाना तिराउने फैसला गरेको छ।

न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेको हो। यसअघि गत पुस ४ गते सोही इजलासले जयसवाललाई कसुरदार ठहर गरी आठ वर्ष कैदको सजाय पनि सुनाइएको थियो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २ सय ७५ रुपियाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपियाँ जरिवाना गराएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयसवाललाई प्रतिवादी बनाई २०७७ वैशाख २ गते विशेष अदालतमा सो मुद्दा दर्ता गराएको थियो।
सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपिया“ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपियाँ जरिवानाको फैसला सुनाइएको छ। ठाकुरलाई ५ वर्षको जेल सजायसमेत तोकिएको छ।

नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपिया“लाई भारतीय रुपियाँमा रूपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरूमाथि मुद्दा चलेको थियो। उनीहरूले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भए पनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेन।

प्रतिक्रिया दिनुहोस्