मन्त्री र सांसदले नै माइतीघरको निषेधाज्ञा तोडेपछि

0
Shares

काठमाडौं ।

सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन्।

गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् ।

हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती दिवस मनाउँदै आएकोे भन्दै धोती दिवस लेखिएको ब्यानर लिएर मन्त्री यादव र सांसद राउत सहभागी हुनुभएको थियो।

धोती लगाएर माइतीघर निषेधित क्षेत्रमा गरेको र्‍यालीको अगुवाइ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजेको थियो।

सो क्रममा प्रहरीसँग मन्त्री, सांसदको धकेलाधकेल भएको थियो । माइतीघर निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडि रहेका राउतसहित टोलीलाई ओर्लिनेबित्तिकै प्रहरीले धरपकड गर्न शुरू गरेको थियो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेलगत्तै त्यसको प्रतिकार गर्दै नेकपा एमाले निकट युवा संगठनले सोही स्थानमा अर्को प्रदर्शनी गर्ने तय गरेको थियो।

जिल्लाको समग्र सुरक्षा व्यवस्थापन जिम्मा स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। जिल्लाको वस्तुस्थिति कस्तो छ, कस्ता रणनीति र उपाय अपनाउँदा शान्तिसुरक्षा र अमनचयन राख्न सकिन्छ भनेर प्रजिअले नै सोहीअनुसार निर्णय गर्ने, आदेश दिने प्रावधान रहेको छ।

त्यसपछि प्रशासनले मंसिरको पहिलो साता माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रशासनले जुलुस, प्रदर्शनी गर्न नपाउने निषेधित क्षेत्रको दायरा मिति थप दुई महिनाका लागि बढाउँदै लगेको पृष्ठभूमिमा हिजो मन्त्री र सांसदले निषेधित क्षेत्र तोडेका थिए।

शुरूमा एक महिनाको लागि निषेधित क्षेत्र तोकेको प्रशासनले पछिल्लोपटक पुस ४ देखि फागुन ४ सम्म निषेधित क्षेत्र तोकेको थियो । यसरी आफ्नै मन्त्रालयअन्तर्गत निकायले तोकेको निषेधाज्ञा उल्लंघन गर्ने मन्त्री, सांसद्लाई रिहाइ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल प्रहरी क्लबमा पुग्नुभएको थियो ।

गृहमन्त्री श्रेष्ठले आफूहरूबाट भएको कमीकमजोरी स्वीकार गर्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनुभएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले भन्नुभयो।

नागरिको आवाजलाई मुखरित गर्ने थलोका रूपमा रहेको माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गरेको विषयलाई मानवअधिकारकर्मी, नागरिक समाज, पेसाकर्मी, कानुनविद्हरूले विरोध गर्दै आएको स्थितिमा सरकारको मन्त्री, सांसदले समेत निषेधित क्षेत्र तोडेपछि त्यस निर्णयलाई पुनरावलोकन गर्न गृह मन्त्रालयले मनस्थिति बनाएको बुझिएको छ।

रिहाइपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष राउतले आफूसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको घटनासँग जोडेर सरकारको आलोचना गर्नुभएको छ।

सरकारको बलमिच्याइँको बारेमा संसद्मा पनि कुरा उठाउने उहाँको भनाइ थियो। अध्यक्ष राउतले सरकारले दम्भ देखाएर आफूहरूलाई पक्राउ गरेको बताउनुभयो।

उहाँले संविधानमा बहुभाषिक र बहुसांस्कृतिकको व्यवस्था गरेको अवस्थामा आफ्नो पार्टीले धोती दिवस मनाउने क्रममा ¥याली आयोजना गरिएको बताउनुभयो।

‘जो–जसको जे–जे भेषभूषा हो लगाउन पाउनुपर्छ। एकल भेषभूषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौैं’, राउतले भन्नुभयो– ‘यो हाम्रो राजनीतिक कार्यक्रम र र्‍याली थिएन।’

उहाँले कुनै मन्त्रीले हचुवाको भरमा बोल्दा र भ्रष्टाचार गर्दा पनि पक्राउ नगर्ने सरकारले मधेसी भएकै कारण आफूहरूलाई पक्राउ गरेको आरोप लगाउनुभयो।

अध्यक्ष राउतले प्रहरीलाई समेत व्यंग्य गर्दै भन्नुभयो– ‘प्रहरीको पनि मानसिकता कस्तो छ भने जतिखेर पनि समात्न पाए हुन्थ्यो भन्ने देखिन्छ । अरू राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त । यो त मधेसी पार्टीको हो भनेर समातिहाल्ने।’

यसैबीच यस्ता घटना र गतिविधि बढ्दै गएपछि सरकारले तोकेको निषेधाज्ञाबारे समीक्षा गर्न बाध्य बनाउने बताइएको छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा फिर्ता गर्नुपर्ने बताउनुभयो।