गाउँपालिका अध्यक्ष ओलीले गरे ‘छोपा बामरे’ हिमालको सफल आरोहण



दोलखा ।

दोलखाको बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीसहित ६ जनाको टोलीले आफ्नै पालिका भित्र रहेको ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेको छ।

अघिल्लो वर्ष मात्र आरोहण अनुमति खुला गरिएको बिगु गाउँपालिका वडा नम्बर–१ लप्ची मा रहेको ६,१०९ मिटर अग्लो ‘छोपा बामरे’ हिमाल आरोहणको लागि गाउँपालिका अध्यक्ष ओली, उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा नम्बर–१ का अध्यक्ष मेम्बा तमाङ, सगरमाथा आरोही लिलाबहादुर बस्नेतलगायत १० जनाको टोली गत पुष ९ गते त्यसतर्फ गएको थियो।

आरोहणमा गएका मध्य बिगु गाउँपालिका अध्यक्ष ओली, सगरमाथा आरोही बस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का र लाक्पागेली शेर्पाले ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेका हुन्।

बिगु गाउँपालिका समेतको आग्रहमा सरकारले गतवर्ष मात्र पालिका भित्र रहेको ‘छोपा बामरे’ र ‘आमा बेग्मरे’ हिमाल आरोहण खुला गरेको थियो।

हिमाली जिल्ला दोलखामा आरोहण अनुमति भएका हिमालको प्रचार-प्रसार गर्न सकिए पर्यटन प्रवर्धनमा टेवा पुग्ने र दोलखाको समृद्धि सम्भव हुने ठानेर गौरीशङ्कर गाउँपालिकाले ‘छोपा बामरे’ हिमाल आरोहणको योजना बनाएको गाउँपालिका अध्यक्ष ओलीले बताए।

आफ्नो पालिकामा रहेको हिमाल आरोहणको लागि बिगु गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्टाएको थियो।

प्रतिक्रिया दिनुहोस्