केका लागि मेलमिलाप ?

एजेन्डा : भागबण्डा कि सुशासन, विकास र समृद्धि



काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको ४८औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा ठूला राजनीतिक दलले एक ठउँमा उभिएर राजनीतिक मेलमिलापको सन्देश दिए।

नेपाली कांग्रेसले आयोजना गरेको विमर्श सभामा बहालवाला प्रधानमन्त्रीसहित पाँच पूर्वप्रधानमन्त्री एउटै मञ्चमा बसेर सबै दलबीच राजनीतिक एकताको संस्कार बसालेको बताए।

कार्यक्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहितका नेताले वर्तमान व्यवस्थाको रक्षा, विकास र समृद्धिका लागि सबै दल एक हुनुपर्ने विचार राखे।

पुराना दलहरूबीच देखिएको मेलमिलापको सन्देशलाई नयाँ राजनीतिक दल, विश्लेषक र नागरिक समाजका व्यक्तिहरूले राजनीतिक भागबण्डा र एजेन्डा सेटिङको संज्ञा दिएका छन्।

यी दलहरूबीचको एकताले सुशासन, समृद्धि र विकासको पक्षमा केही नयाँ नहुने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले टिप्पणी गर्नुभयो। कांग्रेसले रास्वपालाई भने यो कार्यक्रममा निम्ता दिएको थिएन।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टीबीचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कसैले नसोचे हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एक हुनुपर्छ । हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ भन्ने बीपी कोइरालाले दिएको सन्देश हो। हामी एक भएर जाऔँ।’

सभापति देउवाले पार्टीहरूबीच वैचारिक, पार्टीगत मतभेदका बाबजुद दलहरूबीच मेलमिलाप रहेको जिकिर गर्नुभयो।

‘वैचारिक मतभेद र पार्टीगत मतभेद छन्। तर, हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ। यो सायद धेरै कम देशमा छ’, देउवाले भन्नुभयो– ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्मजयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’

अहिले देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाको भनाइ छ। त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको विषयमा एक ठाउँमा रहेको बताउनुभयो।

‘लोकतान्त्रिक गणतन्त्रमा हामी एक छौँ। शान्तिको प्रश्नमा हामी एक छौँ, हुनुपर्दछ। सुशासनको पक्षमा एक छौं। विकासको पक्षमा हामी एक छौँ ।’ उहाँले सांकेतिक रूपमा कांग्रेस एमाले मिलेर बलियो सरकार बनाउन तयार रहेको बताउनुभयो।

‘नेपाली कांग्रेसको नीति के हो ?’, ओलीले प्रश्न गर्नुभयो– ‘एकतले घर मात्र बनाउने हो ? कम जमिनमा धेरै तला भएको नभत्किने गरी घर बनाऊ, एउटै घरमा धेरै कार्यभार चलोस्।’

ओलीले देश राजाले नभई जनताले बचाउने बताउनुभयो। उहाँले कांग्रेसका नेताहरू आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्वपूर्ण र सान्दर्भिकता रहेको बताउनुभयो।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा लोकतन्त्र र गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गरेको भन्दै सबै दल मिलेर त्यसको सामना गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले यो विषयमा कहीँ न कहीँ आत्मसमीक्षा गर्नुपर्ने भएको छ  यो कार्यक्रम सबैले सङ्कल्प गर्ने अवसर भएको र त्यसअनुसार अघिबढे देश र जनताले चाहेको समृद्धि असम्भव छैन।’

गठबन्धनबाट जनतालाई समृद्धि दिनुपर्ने भन्दै आफूले शुरूमै राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि पहल गरेको भन्दै निर्वाचनपछि आफूले कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र पक्षधरको बीचमा नयाँ एकता गर्ने मान्यताका साथ कार्यक्रम गर्नु उत्साहजन भएको बताउनुभयो। उहाँले सबैलाई देशको चिन्ता भएको भन्दै यो चिन्ताबाटै हामी कसरी अघि बढ्ने भनेर मन्थन गर्न चाहिरहेको बताउनुभयो।

पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको मूल मर्मलाई रक्षा गरेर नतिजा दिनुपर्ने बताउनुभयो। उहाँले संविधानरूपी बिरुवा टाक्सिएर बसेकाले युवाहरू आक्रोशित बनेको समेत बताउनुभयो।

‘अहिले तँ–तँ र म–म भन्ने बेला भएको छैन । सबैले लोकतन्त्र र समाजवादमा आधारित शक्ति बनेमात्रै नेपालको लोकतन्त्र सुदृढ हुन्छ, त्यसका लागि राजनीतिक पार्टीहरूबीच राष्ट्रिय मेलमिलाप आवश्यक छ।’

बीपीको मेलमिलाप दिवसका अवसरामा शीर्ष तहका नेताहरूले यो भनिरहँदा कांग्रेसभित्रको आन्तरिक मेलमिलाप भने कमजोर बन्दै गएको छ।

मेलमलाप दिवसको कार्यक्रममा समेत नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइराला एकै ठाउँमा नरहेको विषयमा कार्यकर्ताबीच छलफल चलेको छ।

सबै दलका नेतालाई बोलाएर गरेको कार्यक्रममा कोइरालाको अनुस्थितिका विषयमा उहाँका स्वकीय सचिव दिनेश थपलियाले पार्टीका भ्रातृ संगठनहरूले गरेका अन्य कार्यक्रममा व्यस्त रहेकाले मूल पार्टीको कार्यक्रममा सहभागी हुन नसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्