पटक-पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा सहभागी नगराउन प्रजातन्त्र सेनानीको चेतावनी 



काठमाडौं ।

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल प्रजातन्त्र सेनानी सङ्घले आगामी राष्ट्रिय सभामा पटक-पटक खाइपाई आएकालाई नै पठाए कडा विरोध गर्ने चेतावनी दिएको छ।

सोमबार बिपीको मेलमिलाप दिवसको सन्दर्भ पारेर आयोजना गरिएको नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशको भेलामा प्रजातन्त्र सेनानीहरूले पार्टीका नेताहरूलाई यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सधैँ एउटै व्यक्तिले अवसर पाइरहने र जीवनभर सङ्घर्ष गरेर जिम्मेवारी नपाएकाहरूले त्यसै बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा कसैका श्रीमती, छोरी, बहिनी, साली वा भाइ, छोरा र ज्वाइँ सम्धीहरूलाई छनोट गरिए आन्दोलन गर्ने चेतावनी दिए।

दाहालले भने ‘राष्ट्रिय सभाको निर्वाचनमा कसैका श्रीमती, छोरी,बहिनी, साली वा भाइ, छोरा र ज्वाइँ सम्धीहरूलाई छनोट गरिनु हुँदैन । २० औ ३० औँ वर्ष सांसद मन्त्री भइरहने फेरी राष्ट्रिय सभामा तीनै व्यक्तिहरूलाई पठाइए कडा विरोध गर्ने आज यहीबाट घोषणा गर्दछु।’

उम्मेदवार छनोटको निर्णय प्रक्रियामा सहभागी हुने केन्द्रीय नेताहरू शेखर कोइराला र डिना उपाध्यायलाईसँगै राखेर नेता दाहालले न्यायोचित निर्णय गर्न दबाब दिएका थिए।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका संस्थापक अध्यक्ष समेत रहेका प्रजातन्त्र सेनानी विपिन कोइरालाले कांग्रेसले पछिल्लो समय बिपी कोइरालाले जे भनेका थिए त्यसको उल्टो मात्रै गर्दै गएको टिप्पणी गरे।

उनले कांग्रेसको वर्तमान नेतृत्व तहमा रहेका नेताहरू आफूभन्दा पछिल्लो पुस्ता भएको स्मरण गराउँदै उनीहरूले कांग्रेसको राष्ट्रियता र प्रजातन्त्रलाई बिर्सिएको बताए। नेताहरूले आफू र आफ्ना लागी मात्रै सोचेर देश र भविष्यका पुस्ताका लागि केही नछाडी लैजान लागेको उनले आरोप लगाए।

पार्टीले कम्युनिस्टहरुसँग गरेको एकता बिपीको मेलमिलापको नीतिको उल्टो भएको उनले टिप्पणी थियो। उनले भने ‘बिपीले भन्नुभएको थियो, राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लानुपर्छ। तर आज कांग्रेसले ती दुवै कुरालाई छाडिसकेको छ। कम्युनिस्टसँग मिलेर प्रजातन्त्र खाइसकेको छ। उनीहरूसँगै मिलेर राष्ट्र समेत विदेशीहरूलाई बुझाइसकेको अवस्था छ।’

प्रतिक्रिया दिनुहोस्