डोजर पल्टिँदा चालकको मृत्यु



चैनपुर ।

बझाङको सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १० बजे डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सूचना अधिकारी चौधरीको नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको थियो।

डोजर बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायतको सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्