![](https://newsofnepal.com/wp-content/uploads/2023/12/Jaundice-During-Pregnancy-1.jpg)
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2022/03/Cover-story-photo-1-Dr.-Suman--scaled.jpg)
एक हजार गर्भवती महिलामध्ये १ देखि ४ जनामा जन्डिसको समस्या देखिन सक्छ । सामान्यतया रगतमा ०.२ देखि ०.८ मिलिग्राम प्रतिशतमा सीमित हुनुपर्ने बिलिरुबिनको मात्रा २ मिलिग्राम प्रतिशतभन्दा बढी हुन गयो भने जन्डिस भएको भनिन्छ ।
गर्भवती बेलामा जन्डिस देखिनाका कारण विभिन्न हुन सक्छन् । गर्भावस्थासँग सम्बन्धित कारणहरुमा कलेजोभित्र पित्तको बहाव थुनिएर, उच्च रक्तचापपछि जटिलता भएर, एक्कासी कलेजोमा बोसो जमेर, कडा खालको उल्टीे आउने समस्या भएर, शरीरभरि रक्तनलीभित्रै रगत जमेर पनि गर्भावस्थामा जन्डिस देखिन सक्छ ।
हेपाटाइटिसपछि गर्भावस्थामा पहेँलो हुनाको दोस्रो मुख्य कारण कलेजोभित्र पित्त थुनिएर हो । गर्भावस्थामा इस्ट्रोजेन नामको हर्मोन बढ्नाले यस्तो समस्या हुन्छ । गर्भावस्थामा अत्यधिक उल्टीको कारण हुने जन्डिस पहिलो त्रैमासिकतिर देखिन्छ भने पित्त थुनिएर हुने जन्डिसको समस्या तेस्रो त्रैमासिकतिर देखिन्छ । पित्त थुनिने समस्या हुँदा जन्डिस मात्र पनि देखा पर्न सक्छ । यसको अलवा आलस्य हुने, वाकवाकी लाग्ने, उल्टी आउने, जीउ चिलाउने लक्षण चिह्न देखा पर्न सक्छ ।
हेपाटाइटिस बीजस्तै हेपाटाइटिस सी पनि मुख्यतः रगतबाट सर्दछ ।
गर्भावस्थामा जन्डिस हुनाको अर्को कारण एक्कासी कलेजोमा बोसो जम्ने समस्याले पनि हो । विरलै हुने यो समस्या गर्भेशिशु केटा छ, जुम्ल्याहा बच्चा छ भने बढ्ता लाग्दछ । यसले गर्भवती महिलामा मोटोपना, उच्च रक्तचाप गराउन सक्छ । यो समस्या लाग्दा वाकवाकी लाग्ने, जन्डिस हुने, माथिल्लो पेट पोल्ने, ज्वरो आउने हुन्छ ।
गर्भावस्थाको कारण रगत टुक्रिने, कलेजोको इन्जाइम बढ्ने, रगत जमाउने प्लेटलेट्स कम भई रगत लामो समयसम्म बग्ने, कलेजो च्यातिने समस्या आउन सक्छ । धेरै वाकवाकी लाग्ने, उल्टी आउने समस्या भएका ५० प्रतिशत महिलामा कलेजोमा असर हुन सक्छ । धेरै पटकको उल्टीका कारण मुखबाट केही पनि खान नसकिने हुनाले शरीरमा पानी कम भई जलवियोजन हुन सक्छ । प्रायः पहिलो त्रैमासिकमा यस्तो असर देखिन्छ । धेरै वाकवाकीले गर्दा खकार वा थुकमा रगत देखा पर्ने हुन सक्छ ।
गर्भावस्थामा हेपाटाइटिस
गर्भावस्थासँग असम्बन्धित जन्डिसका कारणहरुमा मौसम अनुसारको भाइरल हेपाटाइटिस (ए, ई, जी प्रकारको) मुख्य हो । फोहोर वातावरण, अशुद्ध खानेपानी, दूषित खाना तथा नाजुक सरसफाइका कारण गर्भावस्थामा जन्डिस हुन सक्छ । यसको अलावा पित्तथैली वा पित्त बहने नलीमा पत्थरी भएर, कतिपय औषधि सेवन गरेर, रगत लिँदा रगत समूह नमिलेर, तराई तथा भित्री मधेसजस्तो ठाउँमा वा गर्मी मौसममा औलो संक्रमण बिग्रेर पनि गर्भावस्थामा जन्डिस देखा पर्न सक्छ । जीर्ण प्रकारको हेपाटाइटिस लागेका र कलेजोमा ट्युमर पलाएका महिलामा गर्भावस्थामा पहेँलो रोगको समस्या बल्झिन सक्छ ।
ए देखि जीसम्म गरी विभिन्न थरीका हेपाटाइटिस हुने भए पनि हेपाटाइटिस ए र ई दूषित खाना र पानीबाट सर्दछ । त्यसैले पनि यस्तो खालको जन्डिस गर्मी मौसममा महामारीका रुपमा देखिन सक्छ । गर्भावस्थामा चाँडै संक्रमित पनि हुन्छ । हेपाटाइटिस बीचाहिँ एचआईभी एड्सजस्तै गरी संक्रमित रगत, निर्मलीकृत नगरिएको सुई, असुरक्षित यौनसम्पर्क तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्दछ । हेपाटाइटिस बी पहिलो त्रैमासिकमा १० प्रतिशत र तेस्रो त्रैमासिकमा ९० प्रतिशतसम्म सर्ने सम्भावना छ । यस्तो खाले हेपाटाइटिस बढीजसो सुत्केरी व्यथाको क्रममा नवजात शिशुमा सर्दछ । यसरी संक्रमित शिशुहरुमध्ये २५ प्रतिशत शिशुमा शिशु अवस्थामै सिरोसिस हुने र बाल्यावस्थादेखि वयष्क हुँदासम्म कलेजोको क्यान्सर हुने हुन सक्छ ।
हेपाटाइटिस बी भएकी गर्भवती महिलामा रुघाखोकीजस्तै थकान लाग्ने, वाकवाकी लाग्ने, उल्टी आउने, जोर्नी दुख्ने, डाबर उठ्ने हुन्छ । तर हेपाटाटिस बी लागेका धेरैजसोमा कुनै लक्षण नदेखिने वा विरलै मात्रामा जन्डिस देखा पर्ने हुन्छ । हेपाटाइटिस बी भएका ९० प्रतिशतमा आपंैm ठीक भएर जान्छ । बाँकी १० प्रतिशत जीर्ण प्रकारकोमा परिणत भई कालान्तरमा कलेजो सुक्ने (सिरोसिस), कलेजोको क्यान्सर हुने हुन सक्छ । रगत परीक्षणबाट हेपाटाइटिस बीको निदान हुनुको साथै यसको कारणले हुने कलेजोको गडबडी भए-नभएको पनि पत्ता लाग्छ । त्यसो त गर्भावस्थामा गरिने नियमित रगत परीक्षणमा हेपाटाइटिस बीको पनि परीक्षण गरिन्छ ।
तर गर्भवती स्वयं वा उनका पाटर्नर जोखिम समूहमा पर्दछ अर्थात् हेमोफिलिया रोग लागेका कारण पटक–पटक रगत लिइराख्नुपर्ने, मृगौलाको समस्याका कारण हेमोडायलाइसिस गराइराख्नुपर्ने, नशाद्वारा लागू औषधि लिने तथा धेरैजनासँग शारीरिक सम्पर्क राख्ने गरिन्छ भने बढ्ता चनाखो हुनुपर्दछ । हेपाटाइटिस बीजस्तै हेपाटाइटिस सी पनि मुख्यतः रगतबाट सर्दछ । हेपाटाइटिस जीर्ण खालको हुनु तथा कलेजोले फेल खानुको मुख्य कारण हेपाटाइटिस सी हो । गर्भवती महिलाबाट गर्भेशिशुमा यो समस्या सर्ने सम्भावना १० देखि ४० प्रतिशत हुन्छ । रगत परीक्षणबाट नै यो रोगको निदान हुन्छ भने यो रोग लाग्दा लामो समयसम्म संक्रमित अवस्थामा रहिरहन सक्छ । हेपाटाइटिस डीको समस्या हेपाटाइटिस बीसँगै लाग्ने वा त्यसलाई जटिल बनाउने खालको हुन्छ । गर्भेशिशुलाई सार्न एवं जीर्ण अवस्थामा रहिरहन सक्छ । हेपाटाइटिस जी हेपाटाइटिस सीसँग बढी सम्बन्धित छ । यो त्यति खतरनाक नभए पनि प्रायः हेपाटाइटिस ए, बी, सी र एचआईभी संक्रमणसँगै लाग्दछ ।
गर्भवतीका लागि खतरनाक हेपाटाइटिस ई
हेपाटाइटिस एजस्तै हेपाटाइटिस ई पनि दूषित वातावरणको कारणले सर्दछ । हेपाटाइटिस ईले पूर्णरुपमा कलेजोका सुजन गराउँछ । गर्भेशिशुको लागि यो संक्रमण त्यति खतरनाक नभए पनि हेपाटाइटिस ईबाट संक्रमित १५ देखि २० प्रतिशत गर्भवती महिलाको मृत्यु हुन सक्छ ।
यसरी हेपाटाइटिस बी र ई गर्भावस्थामा सबैभन्दा खतरापूर्ण संक्रमण हुन् । हेपाटाइटिस ईले पूर्णरुपमा कलेजोका सुजन गराउने तथा गर्भवती महिलाको मृत्यु गराउने हुन्छ । हेपाटाइटिस लाग्यो भने गर्भवती महिलामा सुत्केरी व्यथामा अधिक रक्तश्राव हुने, कलेजो फेल खाने, रगत जम्ने, संक्रमण बढ्ने हुन्छ । यसैले गर्दा मातृ मृत्युदर बढ्न जान्छ ।
जन्डिस लागेपछि गर्भ तुहाए पनि संक्रमणको प्रकृतिमा खासै फरक पर्दैन र मातृ मृत्युदरलाई घटाउन पनि सकिँदैन । यसका साथै गर्भ खेर जाने, महिना नपुग्दै व्यथा लाग्ने, अपरिपक्व शिशु जन्मिने, कम तौलको बच्चा जन्मिने, सकस भएर गर्भेशिशुले पाठेघरभित्रै दिसा गर्ने, गर्भभित्रै शिशुको मृत्यु हुने पनि हुन सक्छ । यसरी समग्रमा व्यथा लाग्नुअगावैदेखि सुत्केरी भएको केही समयसम्ममा नवजात शिशुको मृत्यु हुने सम्भावना २० देखि ७० प्रतिशत हुन्छ ।
रोकथाम तथा उपचार
मुख्यतः हेपाटाइटिस ए र ईको हकमा वातावरणीय तथा व्यक्तिगत सरसफाइ अन्तर्गत साबुन–पानीले हात धुने, स्वच्छ (राम्ररी उमालेको) पानी पिउने, घरभित्र तथा वरिवरि सफा राख्ने गर्नुपर्दछ । हेपाटाइटिस बी, सी, डी र जीबाट बच्न निर्मलीकृत सुईको प्रयोग, राम्ररी जाँचेको (स्क्रिन गरेको) रगत लिने, सुरक्षित यौनसम्पर्क गर्ने बानी गर्नुपर्दछ । स्वास्थ्यकर्मी तथा हेपाटाइटिस बीको दृष्टिले जोखिमपूर्ण काम गर्ने व्यक्तिले हेपाटाइटिस बीविरुद्ध पहिले नै खोप लिनुपर्दछ । गर्भवती महिला हेपाटाइटिस बीबाट संक्रमित छन् भने शिशुको जन्मपछि नवजात शिशुलाई हेपाटाइटिस बीविरुद्ध खोप एवं इम्युनोग्लोबुलिन दिनुपर्दछ ।
जन्डिस लागेपछि प्रशस्त आराम गर्ने, छुट्टै कोठामा बस्ने, पोषिलो खाना खाने, ग्लुकोज–पानी एवं झोलिलो खानेकुरा प्रशस्त पिउने गर्नुपर्दछ । जटिल परिस्थितिमा अस्पतालमा भर्ना राखेर सलाइन चढाउनुपर्ने हुन्छ । संक्रमित महिलाले गर्भावस्थाको कुनै पनि बेला, सुत्केरी व्यथा लाग्दा वा सुत्केरीलगत्तै कलेजोलाई असर गर्ने कुनै पनि औषधि सेवन गर्नुहुँदैन । कुनै पनि बेला गर्भ तुहिन सक्ने, महिना नपुगी व्यथा लाग्न सक्ने, कम तौलको बच्चा जन्मिने, बच्चालाई रगत चढाउनुपर्ने, गर्भभित्रै शिशुको मृत्यु हुने, गर्भवती महिलाको मृत्यु हुने कारणले दम्पति वा परिवारजनलाई राम्ररी सल्लाह परामर्श दिनुपर्दछ ।