प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीलाई हराउँदै एपीएफ फाइनलमा



काठमाडौं ।

विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो।

एपीएफले दिएको १४० रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। यसअघि पहिला ब्याटिङ गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ। दोस्रो क्वालिफायर सोमबार हुने छ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्