सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

0
Shares

काठमाडौं ।

आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेका छन्।

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे।

एक टिमबाट समान २–२ पुरुष/महिला गरी खेलाडी दौडेका थिए। प्रत्येक खेलाडीले २.५ किलोटिमर तय गर्नुपर्ने थियो। नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोश्रो भए।

३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फूलमती राना, सञ्जीव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेश्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए।

आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए। उनले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गरे। रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते।

मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोश्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्ड समयमा तेश्रो बने। सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकालिन्।

आर्मीकी पूर्णलक्ष्मी (१९ मिनेट १५.४८ सेकेन्ड) दोश्रो तथा आर्मीकै सिर्जना (१९ मिनेट ४०.८५ सेकेन्ड) तेश्रो भए। पुरुष/महिला दुवैमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे। खुलामासहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।

सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो।

त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।

प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन्। सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो।

आयोजकका अनुसार जम्मा २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो। मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष खत्रीले बताए।