जीबी राईको सहकारीले नेपालगञ्जमा पनि ठग्यो

0
Shares

बाँके  ।

थप दुई ठूला सहकारीका पीडित जाहेरी लिएर प्रहरी कार्यालय, नेपालगञ्जमा पुगेका छन्। करोडौं रकम हिनामिना गरेर सञ्चालक फरार भएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका हुन्।

प्रहरीले ठगिएका र जाहेरी दिन बाँकी रहेका अरू बचतकर्तालाई जाहेरी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ। गितेन्द्रबाबु (जीबी) राईलगायतले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३२ जना पीडित प्रहरी कार्यालयमा पुगेका छन्।

नेपालगञ्जमा लामो समयदेखि चलेको यो सहकारीलाई राईको समूहले किनेर सञ्चालन गरेको थियो । सहकारी कार्यालय  बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ता प्रहरीमा जाहेरी दिन पुगेका छन्।

केदारनाथ शर्मा अध्यक्ष रहेको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडमा ३ हजार ४ सय २९ जनाले जाहेरी दिएका छन्। न्यूरोडमा तामझामका साथ सञ्चालन गरिएको यो सहकारी लामो समयदेखि बन्द रहेको छ। पसलसमेत सञ्चालन गरेको यो सहकारीबाट केहीले सामान लगेर केही असुल गरे पनि धेरैजना ठगिएका छन्।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले ठगिएका अरूलाई पनि जाहेरी दिन सार्वजनिक सूचना जारी गरेको र धेरै जनाफोन सम्पर्कमा आएको बताउनुभयो। ‘हामीले सूचना निकालेपछि धेरै जनाले फोन गर्नुभएको छ। उहाँहरू जाहेरी लिएर आउँदै हुनुहुन्छ, प्रहरी प्रवक्ता डाँगीले भन्नुभयो, यी सहकारीबाट धेरै जना ठगिएको पाइएको छ।’

देशव्यापी सञ्जाल रहेको यी दुई सहकारीमात्रै होइन, जिल्लामा मात्रै सञ्चालन रहेका अन्य सहकारी सञ्चालक पनि बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन्।

नमस्ते सहकारीका सञ्चालक लामो समयदेखि फरार रहेका छन् । नमस्ते पनि धेरै बचतकर्ता रहेको सहकारीमा गनिन्थ्यो। सर्वसाधारणको पैसा उठाउने र त्यो पैसाले व्यक्तिगत सम्पत्ति जोडेका सञ्चालकले पैसा फिर्ता गर्न नसकेपछि फरार हुने गरेको देखिएको छ।

महंगो गाडी चढ्ने, अरू ठूला व्यवसाय चलाउने, विभिन्न ठाउँमा घर घडेरी जोड्ने सहकारीका सञ्चालक अन्ततः भाग्नुपरेको घटनाहरूले देखाएका छन्।

बाँकेकै अर्को सहकारीमा भएको ४३ करोड घोटालामा हालै अदालतले १९ जनालाई दोषी ठहर गरेको छ। पीडितले ४१ जनाविरुद्ध मुद्दा दायर गरेका थिए। दोषी ठहर भएकाहरूलाई कति सजाय हुन्छ त्यो एक महिनापछि थाहा हुने अदालतले जनाएको छ।

अदालतले दोषी ठहर गर्ने, जेल हाल्नेलगायतका काम गरे पनि बचतकर्ताको रकम छिटो पाउने संभावना भने न्यून देखिएको सम्बद्धहरू नै बताउँछन्।

सहकारी वित्तिय विकास संस्था लिमिटेड नाम रहेको यो सहकारीको हिनामिनालाई मिलाउन अदालतले नयाँ समिति बनाउनेदेखि ऋण लिएकाबाट उठाउनेलगायत विभिन्न निर्देशन दिएको छ।