सत्ता गठबन्धनको गाँठो खुस्काउने प्रयास तत्काल असम्भव

0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहित सत्तासीन केही राजनीतिक पार्टीले गठबन्धन तोड्ने प्रयास गरे पनि तत्कालका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेझैं असम्भव देखिएको छ।

प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखाको सुलिकोटमा स्थानीय सरकार र सरोकारवालासँगको अन्तरक्रियामा सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको र यो सरकार पाँचै वर्ष टिक्ने दाबी गर्नुभएको थियो।

उहाँले भन्नुभयो– ‘जति जे जे षड्यन्त्रहरू भएका छन् हाम्रो गठबन्धन अझ बलियो हुँदै गएको छ। अझ सुदृढ हुँदै गएको छ, यो गठबन्धन पाँचै वर्ष जान्छ।’ प्रधानमन्त्री प्रचण्डले एकथरी तत्वहरूलाई सरकारले गरेको राम्रो काम मन नपरेर गठबन्धनभित्र खेल्न सरकारलाई गाली गर्ने काम गरिरहेको टिप्पणी पनि गर्नुभयो।

एमालेले पछिल्लोपटक सत्तासहयात्री दल जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीसहितका साना दलहरूसँग मिलेर वर्तमान गठबन्धन सरकारमा फाटो ल्याउने प्रयास गरे पनि अहिले नै उक्त प्रयास सफल नहुने देखिएको हो।

गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूले गठबन्धनभित्रका अन्य साना दलहरूलाई बेवास्ता गरेको भन्दै बेलाबेलामा सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिँदै आएको अवस्थामा च्याँखे दाउ थाप्ने प्रयासमा रहेको संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भएकाले सरकारको विकल्प खोज्नुपर्ने टिप्पणी गर्दै आएको छ।

एमालेका सचेतक महेश बर्तौलाले वर्तमान सत्ता गठबन्धन भत्काउनु देश र जनताको हितमा हुने जिकिर गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले माओवादीको सहयोगीमात्रै नभई मुख्य दलको हैसियतमा जिम्मेवारी बहन गर्नुपर्छ । कांग्रेसले देश निर्माणको तहमा ठीक ढंगबाट जाऔं भन्ने हो भने एमालेको साथ रहन्छ।’

तर, कांग्रेस सभापति शेरबहादुर देउवा नै ढलपल हुने अवस्थामा मात्रै गठबन्धनमा फेरबदल आउने कांग्रेसका नेताहरूको भनाइ छ। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन सरकार भर्खर काम गर्ने मेलोमा लागेकाले अहिले नै सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुरा असम्भव रहेको बताउनुभयो।

उहाँ मात्रै होइन, सत्ता गठबनधनका अन्य नेताहरूले समेत गठबन्धनभित्र असन्तुष्ट रहेका केही साना राजनीतिक दलहरूसँग छलफल गरेर आगामी चार वर्ष यही गठबन्धनभित्रैका दलहरूले सरकार चलाउने र जनताका पक्षमा देखिने गरी काम गर्ने योजनाका साथ अघि बढेकोे बताउका छन्।

सरकार फेरबदलले अस्थिरता मात्रै निम्त्याउने हुँदा तत्काल गठबन्धन तोड्ने सोचाइमा आफू नरहेको जिकिर गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो– ‘जसपा तत्कालै सरकार परिवर्तनको पक्षमा छैन। सरकारलाई सच्याउन र जनताका पक्षमा काम गर्नका लागि दबाब दिँदै आएका हौं ।’

तराई आन्दोलनका क्रममा संलग्न जसपाका नेताहरूलाई सरकारले मुद्दा लगाएपछि जसपाले सरकारबाट बाहिरिने घुर्की लगाउँदै आएका थिए। यही मौकाको उपयोग गर्दै एमालेका नेताहरूले उपेन्द्र यादवसँग गठबन्धन सरकारको काम र मधेसका मुद्दाका विषयमा छलफलसमेत गरेका थिए।

वि.सं. २०७९ पुस १० मा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि सत्ता टिकाउन राजनीतिक दाउपेच र भागबन्डामात्रै केन्द्रित भएको आरोप लाग्दै आएको पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे कार्यकालको अवसर पारेर मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्ना कमजोरी सच्याउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यद्यपि, सरकारप्रति गठबन्धनकै मुख्य सहयात्री नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले समेत सरकारको सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन्।