गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन



काठमाडौं ।

गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन्। गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित गर्‍यो। गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरे।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो। विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोडिन्। पुरुष/महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोश्रोले १५ हजारका दरले नगद पुरस्कार पाए।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवैले जनही ५ हजार नगद पुरस्कारका साथै ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । पुस ३ गतेदेखि शुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्