सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ

0
Shares

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुने छ।

अन्तिम सुनुवाइ शुरू भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा शुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो। अब मुद्दाको सुनुवाइ यही इजलासमा आज हुने छ।

यसअघि गत मङ्सिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि लामिछानेका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

यो मुद्दामा यसअघि पटक पटक पेशी तोकिए पनि अदालतले निर्णय सुनाउन सकेको छैन। सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो।

लामिछाने दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नु पर्ने छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।