क्रमभंगताका साथ कार्यशैली बदल्ने आश्वासन

0
Shares

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिबाट क्रमभंगता गरेर कार्यशैली बदल्ने आश्वासन दिनुभएको छ। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यशैली बदल्ने बताउनुएको हो।

उहाँले देशमा केही पनि भएन र हुँदैन भनेर बनाइएका भाष्यलाई गलत सावित गर्दै नागरिकमा सकारात्मक सोच जगाउनका लागि सरकरले कार्यशैली परिवर्तन गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अहिलेकै अवस्थाको नीति कार्यक्रम र बजेटले मुलुकको अवस्थामा परिवर्तन नहुने भएको निष्कर्षसहित मैले आगामी वर्षका लागि नीति योजना, कार्यक्रम र बजेटसमेत परिवर्तन गर्ने पक्षमा छु।’

प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गर्नुभएको छ। सम्बोधनकै क्रममा उहाँले भन्नुभयो– ‘म दलहरू, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु । हामीलाई असफल हुने छुट छैन । कार्यक्षमता देखाएर काम गर्न नसक्ने मन्त्रीहरूले सधैं ठाउँ ओगटेर बस्न हुँदैन।’

केही पूर्वनिर्धारित र अपरिहार्यबाहेकका कार्यक्रममा नजाने बताउँदै दाहालले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटीअनुसार परिणाम पनि आएको छैन’ –उहाँले भन्नुभयो ।

बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उहाँको भनाइ छ।

‘कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु’, दाहालले भन्नुभयो– ‘यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु।’

सरकारको कार्यशैली बदल्न यो प्रस्थान बिन्दु हुने भन्दै प्रधानमन्त्री दाहालले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्नेसमेत बताउनुभयो।