वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल खेल्ने नेपाली टोलीको बिदाइ

0
Shares

काठमाडौँ। 
चीनमा हुन लागेको वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपन प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच डिसेम्बर २६ देखि जनवरी १ सम्म चीनको नु जियाङमा हुने वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपनमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार चार सदस्यीय टोलीलाई बिदाइ गरेका हुन् । नेपाली टोलीको लिडरमा सूर्य प्रसाद, प्रशिक्षकमा युवराज अधिकारी तथा खेलाडीमा विक्रम गुरुङ र गणेश गुरुङ रहेका छन् ।

अध्यक्ष श्रेष्ठले टोलीलाई शुभकामना दिँदै सहभागीहरुलाई आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै सक्दो सहयोग गर्ने समेत बताए । बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघ (एनआरसिए) का अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।