एमालेको समृद्धिका लागि संकल्प यात्राको निष्कर्ष : लोकतन्त्रप्रति जनउत्साह घटेको छैन

0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले आम जनतामा लोकतन्त्र र वर्तमान शासन व्यवस्थाप्रति जनउत्साह कायमै रहेको निष्कर्ष निकालेको छ।

एमालेले गत मंसिर १४ देखि पुस १ सम्म चलाएको १८ दिने झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समीक्षा गर्दै लोकतन्त्रप्रति जनउत्साह कायमै रहेको निष्कर्ष निकालेको हो।

तीन हप्ता लामो अभियानको नेतृत्व गरेर फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग संवाद गर्दै वर्तमान व्यवस्थाप्रति जनतामा रहेको उत्साहमा कमी नआएको बताउनुभयो।

‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आमजनतामा उत्साह कायमै छ, जनताको उत्साह घटेको भनेर चलाइएका हल्लाहरू निराधार छन्। ’एमाले अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही पक्षबाट जबरजस्त धावा बोल्ने काम भए पनि त्यो सफल नहुने ठोकुवा गर्नुभयो।

संघीय लोकतान्त्रिक व्यवस्था आएको आठ वर्षमा धेरै सुधारका कामहरू भए पनि केही पनि भएको छैन भनेर दुष्प्रचार गर्नु गलत रहेको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले १८ दिने यात्रा अनुभव सुनाउँदै लोकतन्त्रप्रति जनअपेक्षा सकारात्मक रहेको बताउनुभयो।

उहाँले यात्राका क्रममा भोग्नुपरेका विभिन्न संस्मरणहरू समेत सुनाउनुभएको थियो। त्यसक्रममा ओलीले ३० जिल्ला हुँदै २ हजार किलोमिटरभन्दा लामो यात्रा सम्पन्न गरिएको बताउनुभयो।

उहाँले १ करोड २० लाखभन्दा बढी जनता बसोवास गर्ने त्यस क्षेत्रको समाजिक आर्थिक रूपान्तरण र समृद्धिको नयाँ संकल्प बोकेर आफूहरू फर्किएको र सोही अधारमा आगामी कार्यक्रमहरू तय गरिने जानकारी दिनुभयो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भन्नुभयो– ‘लोकतन्त्रप्रति जनताको असाधारण माया छ। अहिलेको व्यवस्था र स्थापित राजनीतिक दलहरूप्रति जबरजस्त नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको छ । यसमा स्थापित राजनीतिक दलले दह्रो खुट्टा टेक्नुपर्छ।’

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाम दिएर गरिएको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा यो व्यवस्था मन नपराउनेहरू नभेटेको उहाँले दाबी गर्नुभयो।

‘राजनीतिलाई हिंसात्मक द्वन्द्वतिर लान खोजिँदै छ’, अध्यक्ष ओलीले थप्नुभयो– ‘मुलुकमा नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ। यसमा सचेत भएर सामाजिक सांस्कृतिक सद्भाव राष्ट्रिय एकता कायम गरेर जानुपर्छ। लोकतन्त्रप्रति जनताको असाधारण सम्मान छ आस्था घटेको छैन।’

कृषिमा व्यावसायिकीकरण र आधुनिकीकरणा हुँदै गएको भए पनि गाउँगाउँमा युवाहरू नबस्ने र जनसंख्या घट्दै जानुलाई ठूलो चुनौतीका रूपमा लिएको ओलीले बताउनुभयो।

‘४० प्रतिशतजति युवाहरू मात्रै हरेक कार्यक्रममा सहभागी भए । यसलाई युवाहरू गाउँमा बस्न छाड्दै गएको अर्थमा बुझ्न सकिन्छ।’ मानिसमा कृषि व्यवस्थाप्रति सकारात्मकता झल्किएको भन्दै युवाशक्तिलाई गाउँ र देशबाटै पलायन हुने अवस्थाको अन्त्य गर्न सरकारले ठोस योजना ल्याउन नसकेको ओलीको टिप्पणी छ।

कतिपय स्थानीय तहमा जनतामाथि सरकारी दमन रहेको पाइएको ओलीले बताउनुभयो। लोकतन्त्र र पुराना दलहरूप्रति जबरजस्त निर्माण गर्न खोजिएको नकारात्मक अवस्थालाई चिर्नका लगि यो अभियान सफल भएको एमाले नेताहरूले बाएका छन्।

अध्यक्ष ओलीले अभियान राजनीति र सामाजिक दृष्टिले नीकै सफल भएको र जनताले विकास र समृद्धिको माग गरेको बताउनुभयो। अध्यक्ष ओलीले पहाडी क्षेत्रमा देखिएका विकास र समृद्धिका समस्याहरूलाई पहिचान गर्न अभियान सफल भएको जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले जनतामा एमालेप्रति आशा र भरोसा जगाएको बताउनुभयो।

उहाँँले अभियानका क्रममा ४० ठूला सभा १ सयमाथि साना सभाहरू तथा थुप्रै छलफल भेटघाट अन्तरक्रिया सम्पन्न भएको जानकारी दिनुभयो। राजनीतिक दलका नेता कार्यकर्ताहरू, कर्मचारीसँग समेत विकास, समृद्धि र सुशासनका विषयमा छलफल गरिएको पोखरेलले बताउनुभयो।

त्यस क्रममा धेरै समस्याहरू र सम्भावनाहरू देखेको भन्दै ती समस्याका सन्दर्भमा विज्ञसँग बसेर छलफल गरी अघि बढ्ने एमालेको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकमा जबरजस्त भ्रम फैलाउने काम भएको र यात्रामा क्रममा त्यसलाई चिर्ने काम गरिएको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो व्यवस्थामाथि केही शक्तिबाट जबरजस्त रूपमा नकारात्मक भ्रम फैलाउने कोसिस भइरहेको छ। नेकपा एमाले राजनीतिक अस्थिरता चाहँदैन । हामी यो व्यवस्थालाई संस्थागत गर्न चाहन्छौं । अहिले यो व्यवस्थाको विरुद्धमा बोल्ने बेला भएको छैन। लोकतान्त्रिक गणतन्त्र सफल बनाउँदा संघीयताका पनि सफल बनाउनुपर्छ। जनताको बलबाट प्राप्त वर्तमान व्यवस्थालाई राजनीतिक दलहरूले संस्थागत गर्ने काममा लाग्नुको विकल्प छैन ।’

अभियानका क्रममा प्राप्त ध्यानाकर्षणपत्रका विषयमा के गर्न सकिन्छ भनेर एमालेले छलफल गरिरहेको र त्यस विषयमा भएका वा गर्न सकिने अवस्थाका बारेमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने एमालेले जनाएको छ।

अभियानमा सयभन्दा बढी ध्यानाकर्षणपत्र बुझेको नेताहरूले बताएका छन्। मंसिर १४ गते बिहान ८ बजे झुलाघाटबाट झन्डोत्तोलन गरेर शुरू गरेको यात्रा पुस १ गते दिउँसो १ बजे चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बारेमा विभिन्न सुझाव दिएका थिए।

उनीहरूले सुशासनबिना समृद्धि र विकास असम्भव हुने भएकाले राजनीतिक दलहरूले मुलुकमा सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता आंैल्याएका थिए।