१ सय ३८ किलो सुन तस्करी भएको खुलासा

0
Shares

काठमाडौं ।

पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ। उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ।

यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो। गत मंंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो।

विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिन समितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेलाई आइतबार छानबिन प्रतिवेदन बुझाउँदै १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको खुल्न आएको जानकारी दिनुभएको हो।

१४ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चन्द्र घलेसहित ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले स्वीकार गरेको आधारमा हालसम्म १ सय ३८ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पैठारी गरिसकेको तथ्य खुल्न आएको हो।

५५ वर्षीय घले २१ गते फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए। उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाई २–२ केजीका ७ वटा बिस्कुट आकारको सुन लुकाएर ल्याएका थिए।

उनको ‘ट्राभल हिस्ट्री’ बाट उनी एक वर्षमा ५२ पटकसम्म दुबई गएको देखिएको छ। मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवालको नामले चिनिने व्यक्ति र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समितिले जनाएको छ।

चन्द्र घलेले हालसम्म पहिलोपटक २ पोका, दोस्रोपटक ४ पोका र तेस्रोपटक चार पोकागरी सात पोका सुन ल्याएको स्वीकार गरेका छन्।

छानबिन टोलीका संयोजकका अनुसार सो टोलीले एक खेपमा ५ देखि १४ किलो सुन लिएर आउने गरेका छन् । उनीहरूले डीबी गुरुङको सहयोगमा दुबईबाट ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेर गुरुङको घरमा पुर्‍याउने गरेका छन्।

विमानस्थलबाट सुन बाहिर निकाल्न त्यहाँ कार्यरत नागरिक उडड्यन कार्यालय गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत सक्रिय हुने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

भरियाले ल्याएको सुन विमानस्थल बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको समितिले जनाएको छ।

सो सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ । त्यसपछि त्यो सुन कहाँ पुर्‍याइन्छ समितिले पत्ता लगाउन सकेको छैन ।

यस किसिमले पटकपटक गरी जम्मा १ सय ३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ मिलाई बाहिर ल्याइएको जानकारी दिँदै प्रमुख भन्सार अधिकृत पौडेलले भन्नुभयो– ‘पछिल्लोपटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको हो।’

समितिले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको जनाएको छ। समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो। तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताउनुभयो।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सि“ढीको सीसी टीभी फुजेट पनि मागेको थियो। तर त्यहाँको सीसी क्यामराले कामै नगरेको जानकारी समितिलाई दिइएको छ।

जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्ष हु“दै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई सामान बुझाउने गरेको बयान दिएका छन् । त्यहाँको सीसी टीभीले किन काम नगरेको भन्ने छानबिनकै विषय भएको प्रमुख भन्सार अधिकृत पाण्डेको भनाइ छ।

समितिलाई १४ किलो अवैध सुन ल्याउने व्यक्तिहरूको ‘ट्राभल हिस्ट्री’ अध्ययन तथा ‘कल डिटेल’ विश्लेषण गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।

यस्तै, समग्र सूचना तथा तथ्यांकहरूको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य कार्यहरू गर्ने समेतको कार्यादेश पाएर समितिले अध्ययन थालेको थियो।

समितिले सीसीटीभी फुटेज विश्लेषण गर्नुका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेजहरूको सम्पूर्ण डिटेलहरू समितिले अध्ययन गरेको थियो।

यस्तै मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवम् अन्य आवश्यक वस्तुहरूलाई पनि आरोपीहरूको लिखित बयानमा सनाखत गरिएको थियो।

यस्तै सशंकित तथा संलग्न व्यक्तिहरूको यात्रा विवरण, सीसीटीभी फुटेज तथा कर्मचारीहरूसँग सम्बन्धित कार्यलगायतका तथ्यहरूको पनि विश्लेषण गरिएको थियो।

समितिले अध्यागमन कार्यालयले पटकपटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिनेलिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।

त्यसै गरी भन्सार विभागले यी देशहरूमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको छ।

मोटरसाइकल, स्कुटर तथा कार जस्ता व्यक्तिगत सवारी साधनहरू सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लगि आफ्नो एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा राख्ने गरेको देखिएकाले त्यस्ता सवारी साधन सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लैजान रोक्नुपर्ने सुझाव समितिको छ।

समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने सुझाव दिंदै आयल निगममा जाने कर्मचारीहरूको सवारी साधन पार्किङ गरेपछि सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

यस्तै, सिनामंगल ओरालोको छेउमा विमानस्थलको पेरिमिटरभित्र रहेको प्रहरी ब्यारेक छिर्ने बाटोबाहिर चक्रपथतर्फ खोली ब्यारेकको पछाडितर्फको भागमा बार लगाएर बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनुपर्ने पनि समितिको सुझाव रहेको छ।

यस्तै, अन्तर्राष्ट्रिय धावनमार्गको १ नम्बर ‘वे’ को छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवतजावत बन्द गर्नुपर्ने सुझाव पनि समितिको छ ।

निरीक्षणका लागि जाने इन्जिनियरहरूको समूहले जहाजको नजिकै आफ्नो सवारी साधन लैजाने गरेकोमा निजहरूले आफ्नो टुलबक्सलगायतका औजार विमानमा लैजानुअघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउन पनि समितिले राय दिएको छ। सो प्रतिवेदनको आधारमा सीआईबीले थप अनुसन्धान गर्ने जनाएको छ।