खानेपानीको अभाव

0
Shares

काठमाडौं ।

जनसंख्या वृद्धिसँगै काठमाडौंमा प्रत्येक वर्ष खानेपानीको माग बढ्दै गएको छ। पानीका स्रोत सीमित हुने र ती स्रोत पनि सुक्दै जाने तर जनसंख्याको चाप बढ्दै जाने हुँदा पानीको अभाव दिन–प्रतिदिन बढिरहेको छ।

यता प्राकृतिक प्रकोप एवं अन्य अवरोधले गर्दा काठमाडौंमा मेलम्चीको पानी पनि आपूर्ति हुन सकेको छैन। मेलम्चीको मुहानमा समयमै मर्मत हुन नसक्दा सो पानीको प्रतीक्षा गरिरहेका उपभोक्ताहरु निराश हुन थालेका छन्।

मागअनुसार पानी आपूर्ति बढाउँदै लाने सरकारको पूर्वयोजनासमेत नहुँदा काठमाडौंवासीका लागि पानीको समस्या झनै विकराल बनिरहेको छ।

हिउँदको सुख्खा मौसममा पानीको माग बढी हुने हुँदा र पानी आपूर्तिको अन्य विकल्प नहुँदा पानी सप्लाइ गर्ने ट्याङ्कर एवम् पानी प्रशोधन कम्पनीहरुले मौकाको फाइदा नउठाउलान् भन्न सकिँदैन।

त्यसैले सम्बन्धित निकाय र उपभोक्ताहरु सचेत हुनुपर्ने देखिन्छ। साथै मेलम्चीको पानी आपूर्तिका लागि सरकारले तदारुकता देखाउनै पर्छ।

लामो प्रतीक्षा गर्दा पनि मेलम्चीको पानी पिउने काठमाडौंवासीको चाहना पूरा हुन नसक्दा यतिखेर उनीहरु प्रदर्शनमा उत्रिन बाध्य भएका छन् ।

समयमै मर्मत कार्य सम्पन्न गरी मेलम्चीको पानी आपूर्ति गर्न माग गर्दै प्रदर्शनमा उत्रिएर आक्रोश पोखेपछि बल्ल एक महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम अगाडि बढाइएको समाचार प्रकाशमा आएको छ।

यसका लागि ठेकेदार कम्पनीसँग सहमति भएसँगै एक महिनाभित्र नै मेलम्चीको पानी ल्याउने गरी काम अगाडि बढाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

योजना अनुसार काम अघि नबढाई ढिलाइ गर्ने प्रवृत्तिका कारण नै मेलम्ची खानेपानीले पूर्ण सफलता हासिल गर्न नसकेको सर्वविदित नै छ। त्यसैले कुरामात्र नभएर यथाशीघ्र काम अघि बढाउनु जरुरी छ।

काठमाडौं उपत्यकाका लागि दैनिक ३५ करोड लिटरमन्दा बढी पानी आवश्यकता पर्छ। बढ्दो जनसंख्या, शहरीकरण, वनजंगलको ह्रास, औद्योगिकीकरण आदिका कारण विश्वमै शुद्ध पानीको माग बढ्दो छ।

काठमाडौंका लागि पनि मेलम्चीको पानीले धेरै वर्ष धान्न सक्ने देखिँदैन। त्यसैले बेलैमा विकल्पहरुको पहिचान गरी पानी व्यवस्थापनतिर लाग्नुपर्ने देखिन्छ । सबैको लागि पानी भन्ने विश्वव्यापी नारालाई सार्थक बनाउनु सरकारको कर्तव्य पनि हो।

हुन त आकस्मिक परिस्थितिबाहेक बढीमा २८ दिनको कार्य तालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी मेलम्चीको पानी आपूर्तिका लागि कार्य गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

त्यसपछि दैनिक १७ करोड लिटरको दरले मेलम्चीको पानी उपलब्ध गराइने समितिको भनाइ छ। भनाइ र काम गराइमा अन्तर हुने प्रवृत्ति यहाँका लागि नौलो होइन।

त्यसैले मेलम्ची खानेपानीको मर्मत कार्य सम्पन्न गर्न सम्बन्धित सबै निकायको ध्यान केन्द्रित हुनै पर्छ। तत्कालको समस्या निराकरणका लागि भने पानी बोक्ने ट्याङ्करबाट भए पनि सहज किसिमले पर्याप्त मात्रामा शहरी क्षेत्रमा पानी आपूर्ति व्यवस्था गर्न जरुरी छ।

हाल रहेका पानीका स्रोत तथा मुहानहरुको संरक्षण एवम् संवद्र्धन गर्नु पनि उत्तिकै जरुरी छ।