प्रचण्ड सरकारको एक वर्ष: हर्ष न बिस्मात्

0
Shares

काठमाडौं ।

प्रचण्ड सरकारको एक वर्ष पुग्न अब केही दिनमात्रै बाँकी छ। सरकारले एक वर्षमा के–कस्ता काम गर्‍यो ? त्यस विषयमा छलफल हुन थालेको छ।

मुलुकको पछिल्लो बेथितिलाई हेर्ने हो भने, प्रचण्ड सरकारलाई समर्थन गर्न सक्ने अवस्था देखिँदैन। मिलिजुली सरकारका मन्त्रीहरुको क्रियाकलापलाई हेर्ने हो भने उदेक लाग्दो अवस्था देखिन्छ।

शुरुमा केही गर्छन् कि भन्ने आशा गरिएका गृह र पर्यटनमन्त्रीको पछिल्लो हर्कत हेर्ने हो भने उनीहरुको गतिविधिका कारण व्यवस्था धरापमा पर्ने हो कि भन्ने आशंका जन्माइदिएको छ।

जनताले समयमा मल, बीउ नपाउँदा यसपटकको कृषि उत्पादनमा समेत ह्रास आउने अवस्था भएको छ। उता तराईमा साहू–महाजनले गरिबलाई मिटरब्याजमा पैसा लगाएर उठिबास गराएको विषयमा सरकारले छानबिन आयोग गठन गरेर गरिबमारा मिटरब्याजीमाथि कारबाही हुन्छ भन्ने आशा आम नेपाली नागरिकले गरेको भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो हर्कत हेर्दा उहांँले मिटरब्याजीलाई राहत हुने गरी प्रतिवेदन बनाउन लगाएको आरोप लाग्दै आएको छ।

प्रचण्ड सरकारका मन्त्रीहरु यो अवसर फेरि आउँदैनजस्तो गरी कमाउमा लिप्त हुन थालेका छन् भने व्यवस्था विरोधी समूह अहिले यही मौकामा गणतन्त्रको घाँटी निमोठ्ने प्रयासमा लागेका छन् । यति हुँदा पनि सरकारको अझै चेत आउन सकेको छैन।

पर्यटनमन्त्री किरातीको पछिल्लो हर्कत हेर्ने हो भने उहाँ एक मिनेट पनि मन्त्रीको कुर्सीमा बस्नलायक देखिनुहुन्न। अर्बौं घाटामा रहेको नेपाल वायु सेवा निगमको गुणस्तर सुधार गर्नेभन्दा पनि ऋणमाथि ऋण बोकाउने मनसायले आन्तरिक उडानका लागि विमान किन्न चोर बाटोको प्रयोग गर्न लाग्नुले उहाँको नियतमाथि प्रश्न उठेको छ।

मन्त्री किरातीको पछिल्लो अभिव्यक्तिपछि त उहाँको नैतिकतामाथि झनै प्रश्न उठेको छ । क्रिश्चियन धर्मको प्रचारमा लागेका मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेलाई अपराधीको संज्ञा दिएर प्रधानमन्त्रीसमेत क्रिश्चियन भएको पुष्टि गर्न खोज्नुले उहाँको नैतिकतामाथि प्रश्न उठेको हो।

यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले काखी च्यापेर बस्नु भनेको यो सरकार संकटमा पर्नु हो। उहाँले नैतिकताको आधारमा राजीनामा दिनु नै उत्तम हुने देखिन्छ।

पुराना दलमाथि तीव्र प्रहार भइरहेको बेला प्रधानमन्त्रीका भद्दा शैलीका अभिव्यक्ति, छोरीमाथि लागेको भ्रष्टाचारको आरोपको ढाकछोप गर्न व्यस्त रहने र पछिल्लोपटक गोकर्ण रिर्सोटमा नातिनीको विवाहमा गरिएको तामझामपछि उहाँमाथि पनि नैतिक प्रश्न उठेको छ।

तर प्रधानमन्त्री प्रचण्डले आफू र आफ्ना परिवारमाथि आरोप लगाउनु भनेको व्यवस्थामाथिको ठाडो प्रहार भएको भन्दै जनतालाई पुनः एकपटक मूर्ख बनाउने प्रयासमा लाग्नुभएको छ।

यो सरकारको एक वर्ष असफलता नै असफलताले भरिएको वर्षको रुपमा चित्रण गर्नुलाई अन्यथा मान्न मिल्दैन।