एनएसएलमा वीरगञ्जले ल्याएको तरंग



काठमाडौं ।

पुछारमा रहेको वीरगञ्ज युनाइटेड एफसीले जित निकाल्दै जारी नेपाल सुपर लिग (एनएसएल) मा तरंग ल्याएको छ। बिहीबार ५ अंक जोडेको वीरगञ्जले गत पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई ४–१ ले स्तब्ध तुल्याएको हो।

यो जितले एनएसएलको अंकतालिकामा पनि उथलपुथल हुने गरी तरंग फैलाइदियो। यो नतिजाले गर्दा तीन प्लेअफ स्थानको लागि ६ टोली प्रतिस्पर्धामा आएका छन्।

अघिल्लो दिन झापाले यस्तै तरंग ल्याएर प्लेअफको सम्भावना बनाएको थियो। हिजो वीरगञ्जले जित निकाल्दै प्लेअफको होडमा आफूलाई सामेल गरायो।

यदि, अन्तिम खेलमा वीरगञ्जले बुटवल लुम्बिनीविरुद्ध जित निकालेमा ११ अंक हुनेछ।  यो स्थितिमा टोलीले अन्य खेलको नतिजा कुर्नु पर्ने हुन्छ।

ओपोकुको ह्याट्रिक

एनएसएलको लिग चरणको अन्त्यतिर पुगिरहँदा प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ। यसै क्रममा ह्याट्रिक र गोलवर्षाको प्रतिक्षा गरिरहेका दर्शकको लागि विलियम ओपोकुले शानदार खेल देखाए।

यस्तो जाडो मौसममा उनको उत्कृष्ट प्रदर्शनमा स्टेडियममा धैर्य गरेर बसेका केही दर्शकलाई न्यानो नै भएको हुनुपर्छ। उनीहरू यस्तै खेल हेर्न रुचाउँछन्।

काठमाडौंविरुद्ध ओपोकु एक्लै भारी परेका थिए । चार गोल भएको वीरगञ्जका लागि उनले तीन गोल गरे । यो जारी लिगमा पहिलो ह्याट्रिकसमेत हो।

साथै ओपोकु ५ गोलसहित जारी लिगमा सर्वाधिक गोलकर्ता पनि भएका छन्। ओपोकुको उत्कृष्ट प्रदर्शनको अगाडि बालगोपाल महर्जनको टोलीसँग कुनै जवाफ पनि थिएन।

काठमाडौं गत पहिलो संस्करणको एनएसएलको विजेता टोलीसमेत हो। त्यसो त काठमाडौंले २०औं मिनेटमा १–० को अग्रता लिएको थियो। यो गोल जुनियरले गरेका थिए । यो गोलको आवश्यकता पनि थियो काठमाडौंको लागि।

सुरुवाती अग्रता लिनु प्लेअफको कुनै सम्भावना नै नभएको वीरगञ्जमाथि दबाब राख्न काठमाडौंको लागि मौकासमेत थियो । तर, ३७औं मिनेटमा काठमाडौंले पेनाल्टी प्रहारमा गोल गर्न नसक्नु खेलमा २–० को अग्रता लिनबाट वञ्चित भयो।

शोखरुखले पेनाल्टी प्रहारलाई वीरगञ्जका गोलकीपर दीप कार्कीले बचाएका थिए। सायद, यहीँबाट काठमाडौंको दुर्दशा खेलभरि नै रह्यो।खेलले त्यतिबेर मोड लियो, जब वीरगञ्जले काठमाडौंविरुद्ध पेनाल्टी पायो।

पहिलो हाफको इन्जुरी समयमा वीरगञ्जले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । पेनाल्टी प्रहार ओपोकुले गरेका थिए। ओपोकुले प्रहार गरेको दिशातिरै काठमाडौंका गोलकिपर एञ्जल श्रेष्ठले डाइभ दिए पनि बलले जाली चुमेको थियो।

दोस्रो हाफ शुरु भएको ४५ सेकेन्डमै वीरगञ्जले अग्रता बनायो। सुनील खड्काले गोल गरेका थिए । यो गोल हुँदा काठमाडौंका गोलकिपर बिट भइसकेका थिए । सुनील गोललाइन निकटै भएको हुँदा गोलकिपरको लागि बचाउन कुनै मौका नै भएन।

यसपछि ओपोकुले टोलीको तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई हारतिर अग्रसर बनाए। ओपोकुले ५५औं मिनेटमा कर्नर प्रहारलाई हेडमार्फत् गोलको दिशा दिएका थिए।

अर्को मिनेटमै ओपोकुले ह्याट्रिक पनि पूरा गरे । यो गोलसँगै वीरगञ्ज खेलमा ४–१ को अग्रतामा पुगेको थियो। यही स्कोरमा वीरगञ्जले शानदार जित निकाल्यो ।

सबैभन्दा ठूलो जित र धेरै गोल

यो जारी लिगमा सबैभन्दा ठूलो जित पनि हो। यसअघिसम्म २ गोलअन्तरको जितको ठूलो जित थियो। यसमा वीरगञ्जले ३ गोलअन्तरले जितेर ठूलो जित निकालेको हो।

साथै यो जारी लिगमा सर्वाधिक गोल भएको खेल पनि बन्यो। यो खेलमा ५ गोल भएका छन्। यसअघिका खेलमा ४ गोलसम्म भएको थियो।

प्रतिक्रिया दिनुहोस्