जनस्वास्थ्यमाथि न्याय



काठमाडौं ।

नेपालमै पहिलोपटक जापान सरकारको सहयोगमा सामुदायिक अस्पतालमा ट्रमा सेन्टर बनाउन नेपाल सरकारले निर्णय गरी जनस्वास्थ्यमाथि न्याय गरेको छ। यति महत्वको विषयमा नेपाल सरकारले समुदायलाई जिम्मेवारी दिएकोमा स्याबास सरकार !

१४ वर्षदेखि अनवरतरुपमा नेपालको धुलिखेलमा ट्रमा सेन्टर बनाउने विषयमा जोड दिँदै जाइकासमक्ष योजना र प्रस्तावनालाई प्राथमिकतामा राखी लागिपर्नु अर्को प्रशंसनीय विषय हो।

यही प्रयासले गर्दा जापान सरकारले करिब ३ अर्ब २२ करोड रुपियाँको लागतमा धुलिखेल अस्पतालमा एक सय शय्याको ट्रमा सेन्टर बनाउन स्वीकृतमात्र दिएन अब दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण नै गर्ने गरी अन्तिम चरणको सम्झौता नेपाल सरकार र जापान सरकारबीच भएको छ।

धुलिखेल अस्पतालमा ट्रमा सेन्टरको स्थापनाले अरनिको र बीपी राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याउनुपर्ने बाध्यता हट्नेछ । यति ठूलो र महत्वपूर्ण कामका लागि सरकारले देखाएको उदारताले निरन्तरता पाओस् ।

अस्पताल कुनै व्यक्ति, धर्म, राजनीतिक दल विशेषको नभई आम नागरिकको सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षाका लागि बन्ने हो।

धुलिखेलमा प्रत्यक्षरुपमा जोडिएका ठूला राजमार्गमा अरनिको राजमार्ग र बीपी राजमार्ग रहेका छन्। यी दुवै राजमार्गमा दैनिक साना–ठूला दुर्घटना भइरहन्छन्। यो सेन्टरले मानवजीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सकोस्।

अकालमा मानिसको ज्यान नजाओस्। यतिमात्र नभई सरकारले आकस्मिक दुर्घटनामा हुने चोटपटक तथा क्षतिका विषयमा समयमै व्यवस्थापन गरोस्।

भोलिका दिनमा ट्रमा सेन्टरमा पुग्ने बिरामीले आर्थिक अभाव, दक्ष चिकित्सकको कमी र उपकरणको कारणले उपचारबाट वञ्चित हुनु नपरोस् । यसैलाई ध्यानमा राखी समयमै दीर्घकालीन योजना बनाइयोस्।

जापान सरकारको यति ठूलो सहयोगलाई जीवन्त बनाउन स्थानीय, प्रदेश, संघीय सरकारका साथ सर्वसाधारणको पनि अपनत्व कायम रहोस् ।

एक सय शय्याको ‘लेबल वान ट्रमा सेन्टर’ धुलिखेल अस्पतालमा बन्दै गरेको विषय सरकारको ठूलो इज्जत र सानको विषय हो। सरकारले सन् २०१० मा नै आईटी सेन्टर बनाउन लिएको १६ रोपनी जग्गामा आईटी सेन्टर नबनेपछि खाली रहेको सो जग्गामा आज ट्रमा सेन्टर बन्दै छ।

धुलिखेल अस्पतालले सन् २०१४ मा नै जाइकामा यो प्रस्ताव पेस गरेको थियो। यद्यपि, ट्रमा सेन्टरको योजना सन् २००९ मा नै बनेको हो। योजना बनाएको १४ वर्षमा काम हुने भयो।

दुईवटा राजमार्गको संगम स्थल धुलिखेलमा अन्य ट्रमा उपचार गर्ने ठूला अस्पताल नभएका कारण गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं नै ल्याउनुपर्ने बाध्यता छ । ट्रमामा ६ घण्टालाई ‘गोल्डेन आवर’ भनिन्छ।

यो ६ घण्टाभित्र उपचार गर्‍यो भने बाँच्ने र कम क्षति हुने सम्भावना हुन्छ । यो समय गुमाउँदा दुर्घटनामा धेरैको ज्यान जाने र अंगभंग हुने क्रम बढेको छ । यो ट्रमा सेन्टर बनेपछि आगामी दिनमा यस्तो समस्या नआओस्।

कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् । यति ठूलो र महत्वपूर्ण काममा सरकारी निकायबाट विविध खाले झन्झटिला प्रक्रियालाई हटाई सहजीकरण गरियोस् । समयमै काम सम्पन्न गर्न जापान सरकारलाई सहयोग पुर्‍याइयोस् ।

प्रतिक्रिया दिनुहोस्