झापा प्लेअफ होडमा सामेल

0
Shares

काठमाडौं ।

झापा एफसी जारी दोस्रो संस्करणको नेपाल सुपर लिगअन्तर्गत प्लेअफ होडमा सामेल भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा झापाले धनगढी एफसीलाई २–० ले पराजित गरेको हो।

यो जितले धनगढीको अपराजित यात्राको क्रम तोडिदियो । झापालाई जित दिलाउन अन्जन विष्ट र समीराज ठोकरले एक–एक गोल गरेका हुन्।

हार बावजुद धनगढी १२ अंकसहित दोस्रो स्थानमा यथावत छ भने झापा १० अंकसहित चौथो स्थानमा उक्ल्यिो। यो नतिजापछि गत पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई शीर्ष चारबाट बाहिर जान बाध्य तुल्याएको छ।

यसअघि ६ खेलमा ७ अंक जोडेर छैटो स्थानमा रहँदा झापाको प्लेअफ होडमा पुग्ने न्युन संभावना थियो । तर, यो जितले झापालाई प्लेअफ होडमा सामेल गराएको छ।

झापाको अन्तिम खेल एफसी चितवनसँग हुनेछ भने धनगढीले शीर्ष टोली पोखरा थन्डर्सविरुद्ध खेल्ने। यी दुवै खेल शुक्रबार हुनेछ। अहिलेसम्म प्लेअफमा पुग्ने एक मात्र टोली पोखरा थन्डर्स हो।

प्लेअफको तीन स्थानका लागि मुख्यतया ४ टोलीले संघर्ष गरिरहेका छन्। यसमा धनगढी, झापा, काठमाडौं र ललितपुर सिटी छन् । बुटवल लुम्बिनीको सम्भावना भने न्युन रहेको छ।

काठमाडौंले दुई खेल खेल्न बाँकी छ। टोलीको अंक ९ रहेको छ। काठमाडौंले आज वीरगञ्ज युनाइटेड एफसीसँग खेल्दैछ। यो खेलमा यदि काठमाडौंले जितेमा १२ अंक हुनेछ र यो नतिजाले बुटवलको प्लेअफ खेल्ने न्युन संभावना पनि समाप्त हुनेछ।

यदि यो खेलमा काठमाडौं पराजित भएमा बुटवल प्लेअफ होडमा रहिरहनेछ । बराबर भएमा भने पनि बुटवलको लागि प्लेअफको ढोका बन्द हुने सक्नेछ।