अपांगताका पीडाबारे बेखबर स्थानीय सरकार

दाम्लोमा बाँधिनु बाध्यता कि रहर ?



धादिङ ।

राष्ट्रिय स्तरका नेताहरु रहेको ज्वालामुखी गाउँपालिकाभित्र अपांगता भएका नागरिकले सास्ती व्यहोरी रहेका छन्। स्थानीय सरकारले उनीहरुका बारेमा जानकारी राखे पनि योजना बनाएर संरक्षणका कार्यक्रम भने ल्याउन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, नेकपा माओवादीका नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख रवीन्द्रप्रताप शाह, नेकपा एसका केन्द्रीय सदस्य गुरु बुर्लाकोटी, नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, एमाले नेता तथा साना किसान सहकारी संघका केन्द्रीय सदस्य खेम पाठक, नेपाली कांग्रेस नेता तथा प्रदेश सांसद शिवराज अधिकारी रहेको ज्वालामुखी गाउँपालिकामा अपांगताहरुको संरक्षणमा कुनै योजना नबन्दा दाम्लोले बाँधिनुपरेको हो।

पूर्ण अपांगता भएकालाई राज्यले संरक्षण गरेर राख्नुपर्ने व्यवस्था भए पनि धादिङ ज्वालामुखीका ३ सहित ६ अपांगता भएका नागरिक दाम्लोमा बाँधिएर बस्न बाध्य भएका छन्।

पाँच वर्षदेखि घरमा नबस्ने भएपछि गंगाजमुना गाउँपालिका–३ पोखराका २० वर्षीय मदनकुमार तामाङलाई दाम्लोले बाँधेर राखिएको छ। घरमा नबस्ने, आफू मेलापात जानुपर्ने भएकाले उनको जिउ बचाउन दाम्लोले बाँधेर राख्नुपरेको आमा मनमायाले बताउनुभयो।

गरिब परिवारको तामाङ पहुँच नभएको समुदायका व्यक्ति भएकाले घरमा भएको टिनको छानोमुनि चिसो समयमा बाँधिएर बस्दा थप मानिसक पीडा हुने गर्छ तर गरिबीका कारण बाध्यताले गर्दा बाँधेर राख्नुपरेको मनमायाको भनाइ छ।

अपांगता परिचयपत्र बनाइएको मदनकुमारले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। गाउँपालिका कर्मचारीले व्यक्तिगत गरेको सहयोगको गाउँपालिका अध्यक्ष भक्त लामाले सामान वितरण गर्नुभयो । गाउँपालिकाले भने खास सहयोग उपलब्ध गराएको छैन।

यता ज्वालामुखी गाउँपालिका–५ जौकारीका १४ वर्षीय रोशन र १७ वर्षीय सोमबहादुर गुरुङलाई पनि परिवारले बाँधेर राख्ने गरेका छन्। मानसिक रुपमा समस्या आएका कारण घरमा नबस्ने भएपछि परिवारले नै बाँधेर राखी काममा जाने गर्नुपरेको हजुरआमा कान्छी गुरुङले बताउनुभयो।

सोमबहादुर बोल्न र सुन्न सक्दैनन् भने रोशन हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा छन्। बाँधेर राखिएका बालकका बुबा शिव पनि शारीरिक अपांगता भएका व्यक्ति हुन्।

ज्वालामुखी गाउँपालिका–५ माझजौबारीका १७ वर्षीय सन्तोष गुरुङलाई पनि परिवारले डोरीले बाँधेर राख्नुपरेको छ। सुस्त मनस्थितिको समस्या भएका गुरुङको परिवार काममा जाँदा बाँधेर जाने गरेका छन्।

सिद्धलेक–५ मा १२ वर्षीय बालकलाई मानसिक समस्याका कारण घरमा थुनेर राखिएको छ भने नीलकण्ठ नगरपालिका–४ का एक महिलालाई पनि थुनेर राखिए पनि स्थानीय सरकारले वास्ता गर्न सकेको छैन। ज्याला मजदुरी गर्नुपर्ने, कमाएर खानुपर्ने र घरमा बसेर कुर्न नभ्याउने भएपछि बाँधेर राख्नुपर्ने बाध्यता आएको परिवारको भनाइ छ।

अपांगता भएकालाई बाँधेर राखिएको सम्बन्धमा गाउँपालिका अध्यक्ष यमनाथ दनैले यसरी बाँधेको बारे परिवारले स्पष्ट सूचना नदिने गरेको र यस किसिमका अपांगता भएकालाई स्थानीय सरकारले उद्धार गर्न सघाउने बताउनुभएको छ।

गंगाजमुना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले भने पूर्ण अपांगता परिचयपत्र यस्ता व्यक्तिको घरमै पुगेर दिएको बताउँदै स्थानीय सरकारले अपांगता भएकाहरुका लागि काम गर्ने बताउनुभयो ।

अपांगता भएकामध्ये अति अशक्तलाई सरकारले पुनःस्थापना गरी संरक्षण गर्ने व्यवस्था भए पनि ज्वालामुखी गाउँपालिकाले यसतर्फ ध्यान दिन सकेको छैन।

सामाजिक सुरक्षाको अवधारणाअनुसार अपांगता भएकाहरुको सहज जीवनयापनका लागि राज्यको दायित्व हुने भए पनि बेखबर रहने गरेको अपांगता क्षेत्रमा काम गर्दै आएका गुणराज खतिवडाले बताउनुभयो।

उहाँले पुनःस्थापना केन्द्र बनाउन, व्यवस्थापन गर्न अपांगताको विषयमा धेरै माग गर्दा पनि बेवास्ता गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्