कंगोमा मिसन बन्द, १ हजार १ सय ५२ नेपाली शान्ति सेना फर्कंदै



काठमाडौं  ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनाअन्तर्गत अफ्रिकी मुलुक कंगोमा खटिएका १ हजार १ सय ५२ नेपाली सेना छिट्टै मिसन बन्द गरेर नेपाल फर्कने भएका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्को मंगलबार राति बसेको बैठकले सर्वसम्मत रुपमा कंगो मिसन बन्द गर्ने निर्णय गरेपछि कंगोमा खटिएका नेपाली शान्ति सेना स्वदेश फर्कन लागेको हो।

यसअघि अर्को अफ्रिकी मुलुक मालीमा खटिएका १ सय ५२ जना नेपाली शान्ति सेना स्वदेश फर्किएका थिए । मालीमा राष्ट्रसंघीय शान्ति मिसन बन्द भएपछि त्यहाँ तैनाथ १ सय ६८ नेपाली सेनामध्ये १ सय ५२ जना फर्किएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार बाँकी रहेका १६ जना नेपाली शान्ति सेना पनि फर्कने क्रममा छन्। ती दुवै मुलुकमा शान्ति स्थापना हुने क्रममा रहेको र सम्बन्धित मुलुकका सुरक्षा अधिकारीले नै त्यहांको सुरक्षा स्थिति नियन्त्रण लिन सक्ने भएपछि शान्ति सैनिक फिर्ता गर्न लागिएको राष्ट्र संघको मुख्यालयले जनाएको छ।

राष्ट्र संघले कंगोमा तैनाथ शान्ति सेनालाई सन् २०२३ भित्र नै मिसन बन्द गरेर आ–आफ्नो देशमा फर्काउन सम्वन्धित देशलाई आग्रह गरेको छ।

लामो समयदेखि आन्तरिक द्वन्द्वमा फसेको कंगोमा लाखौ कंगोलीको ज्यान गएपछि त्यहाँ शान्ति सुरक्षा कायम राख्न शान्ति सेना खटिएको हो। अहिले पनि कंगोमा बिभिन्न देशका १५ हजारभन्दा बढी शान्ति सेनाको उपस्थिति छ।

कंगोमा सक्रिय सशस्त्र समूहलाई नियन्त्रण गर्न शान्ति सेना असमर्थ भएको भन्दै कंगो सरकारले आफ्नो देशबाट मिसन फिर्ता गर्न राष्ट्र संघलाई पटकपटक आग्रह गर्दै आएको थियो।

विश्वका बिभिन्न मुलुकमा शान्ति सैनिकको रुपमा नेपाली सेनाका १६ मिसनमा ६ हजार १६ जना कार्यरत रहेकोमा अव १४ मिसनमा ४ हजार ८ सय ४८ जना शान्ति सेना मात्रै कार्यरत रहने भएको छ।

सन् १९५८ मा ५ जना सेनालाई लेवनानमा शान्ति सेनाको रुपमा खटाएपछि नेपालको शान्ति मिसन यात्रा शुरु भएको थियो। अहिलेसम्म नेपालले बिभिन्न मिसनमा गरी १ लाख ४२ हजार ६ सयको हाराहारीमा शान्ति सेना खटाइसकेको छ।

प्रवक्ता भण्डारीका अनुसार यो बीचमा ७१ जना शान्ति सैनिकको कार्यक्षेत्रमा निधन भएको छ भने ६८ जना घाइते भएका छन्। नेपालले बिभिन्न देशमा फोर्स कमान्डरको रुपमा समेत आफ्नो भूमिका निभाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्