डोनाल्ड ट्रम्प अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न नपाउने

0
Shares

एजेन्सी ।

संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ।

अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै ट्रम्पलाई २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो।

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो। तल्लो अदालतले जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो।

मंगलबार आएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुने छ। यो फैसलामाथिको अपिल होल्डमा राखिएको छ। यसलाई पछिल्लो महिनासम्म होल्डमा नै राखिने छ।

शीर्ष अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘ हामी यो निष्कर्षमा यसै पुगेका छैनौँ। हाम्रासामु जुन सवाल उठेको छ, यसको परिणाम कति ठूलो हुने छ भन्नेबारे जानकार छौँ।’अदालतले कानुनको कार्यान्वयन गर्ने कुरामा गम्भीर रहेको पनि भनेको छ।

‘यस्तै हामी कानुन कार्यान्वयन गर्ने आफ्नो गम्भीर कर्तव्यप्रति सचेत पनि छौँ। बिना कुनै डर, पक्षपात र फैसलामाथि आउने जनताको प्रतिक्रियासँग प्रभावित नभइ यो फैसला कानुन सम्मत रुपमा लिइएको छ,’ फैसलामा भनिएको छ।

२०२० को राष्ट्रपति जुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै जनवरी २०२१ मा ट्रम्पका सर्मथकहरुले क्यापिटल हिलमा प्रवेश गरेर तोडफोड समेत गरेका थिए। उनीमाथि आफ्ना सर्मथकलाई उस्काएको आरोप लाग्दै आएको छ।