भारतका १४१ जना विपक्षी सांसद निलम्बनमा

0
Shares

एजेन्सी ।

भारतमा १४१ जना विपक्षी सांसद निलम्बनमा परेका छन् । निलम्बित सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन्।

डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेँलो धुवाँ छाडेपछि सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए।

सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमबार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो।

संसद् अधिवेशन शुक्रबार समाप्त हुँदैछ। गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसद्भित्र नारा लगाएपछि मङ्गलबार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ।

निलम्बित सांसद तथा विपक्षी कांग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भने, “अर्थपूर्ण बहसबिना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिँदैछ।”

संसद्मा हमला भएको २२औँ वार्षिक दिवसका दिन धुवाँ विरोध भएको थियो। बाइस वर्षअघि पुरानो संसद् भवनमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीको गोली हानी हत्या गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक जागरण अखबारलाई दिएको दुर्लभ अन्तरवार्तामा घटनालाई ‘अत्यन्त गम्भीर’ भन्दै विस्तृत जाँचको आदेश दिए तर यसबारेमा बहस गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए।

प्रधानमन्त्री मोदीले आगामी वर्षको मेमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा तेस्रो पटकको कार्यकालका लागि उम्मेदवारी दिन खोजेका छन्।