विमानस्थल सुरक्षामा संवेदनशीलता



काठमाडौं ।

चौतर्फीरुपमा नेपालको सुरक्षा संयन्त्रका बारेमा प्रश्न उठाइरहेको बेला सुन तथा लागूऔषध तस्करका लागि नेपाल स्वर्णभूमिको रुपमा चिनिन थालेको छ, जुन दुःख लाग्दो कुरा हो।

अफ्रिका, अमेरिका तथा दक्षिण अमेरिकी मुलुकबाट तस्करी भएर आउने लागूपदार्थ नेपाल हुँदै भारत र थाइल्यान्ड पुग्ने गरेको तथ्य सार्वजनिक भएपछि नेपालको सबैभन्दा पुरानो विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ।

राज्यले विमानस्थलमा यथेष्ट मात्रामा सुरक्षा सामग्रीका लागि लगानी गर्न नसकेको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्न थालेको स्वयम् सुरक्षा निकायका अधिकारीहरुले नै स्वीकार गर्न थालेपछि विमानस्थलको सुरक्षा कसरी चलेको छ भन्ने प्रस्ट हुन्छ।

आधुनिक उपकरणको अभावको फाइदा उठाउँदै विमानस्थलमा खटिएका अधिकांश कर्मचारी सेटिङमा मस्त भएपछि तस्करहरुले नेपाललाई स्वर्णभूमिको रुपमा परिभाषित गर्न थालेका हुन् कि भन्ने भान पर्न थालेको छ।

राजनीतिक सोर्सफोर्स लगाएर विमानस्थल पुग्ने अधिकांश कर्मचारीलाई तस्करहरुले ‘किन्ने’ गरेका कारण अवैधरुपमा नेपाल भित्रिएका मालवस्तु नेपालबाट तेस्रो देश सजिलै जाने गरेको छ।

दक्षिण अमेरिकाबाट नेपाल आउने कोकिन भारत र थाइल्यान्ड पुग्ने गरेको छ भने सिंगापुर, हङकङ र मध्यपूर्वका विभिन्न मुलुकबाट आउने सुनसमेत नेपाली बाटो हुँदै भारतीय बजारमा पुग्ने गरेको छ।

नेपालको विमानस्थलको सुरक्षा संयन्त्रका बारेमा जानकार रहेका तस्करहरुले सजिलै भन्सार पार गराएर आफूले चाहेको मुलुक लैजान सफल हुँदै आउनुले पनि नेपालको सुरक्षा अवस्थाका बारेमा संसारभरले चासो दिएर हेर्ने गरेका छन्। तर नेपालका सुरक्षा निकायले यसलाई सामान्यरुपमा लिएका कारण यो समस्या विकराल बन्दै गएको देखिन्छ।

यो सामान्य विषय पटक्कै होइन तर नेपाल सरकारले यसतर्फ अहिलेसम्म ध्यान दिन सकेको पाइँदैन। युरोपियन युनियनले नेपाली आकाश सुरक्षित नरहेको भनेकाले नेपालका विमानहरु युरोप पुग्न सकेका छैनन्।

उता युरोपका विमान कम्पनीहरु नेपाल आउन नपाउँदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ। देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय धराशयी हुँदै गएकाले नेपालको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्दै गएको छ।

भोलि नेपालमा कुनै सुरक्षाको ग्यारेन्टी छैन भन्ने आशयका समाचारहरु बाहिरिन थाले भने बामे सर्दै गरेको अवस्थामा रहेको पर्यटन क्षेत्र थप ध्वस्त नहोला भन्न सकिँदैन।

त्यसैले राज्यले यसतर्फ समयमा नै ध्यान दिएर अवैध गतिविधि रोक्नका लागि अपनाउनुपर्ने सबै सुरक्षा व्यवस्था अवलम्बन गर्न जरुरी देखिन्छ । त्यसैले सबै क्षेत्र इमानदार भएर अवैध गतिविधि रोक्नेतर्फ अग्रसर हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्