अतीत र वर्तमानको तकरार



पृथ्वीभन्दा ठूलो माता, आकाशभन्दा ठूलो पिता भन्ने बाबु, बाजे, बराजुहरूको आदर्श, सत्कार, ज्ञान, संस्कार तथा पठनपाठनबाट हुर्केका हामी मानव हौं । हाम्रो लागि मातापिता जन्मदाता मात्र नभई दैवसरि नै पूजनीय र सम्माननीय हुनुहुन्छ । तसर्थ उहाँहरुलाई रथका दुईवटा पाङ्ग्राहरूजस्तै महत्त्वपूर्ण स्थान दिइनुको साथै एकले अर्काप्रति गर्नुपर्ने मान, सम्मान, माया, प्रीतिलाई समेत बोध गराएको छ ।

उही माता, नारी वा स्त्री परपुरुषसँग लागेमा, अनैतिक गुप्त सम्पर्क वा लसपस भएमा व्यभिचारी, दुराचारी, पतीत, रन्डी, वेश्या आदि निम्न कोटीमा गन्ती गर्दै बाबुबाजेहरुले हेला, घृणा र तिरस्कारको दृष्टिले हेर्ने गरेको झझल्को र सम्झनामा पालनपोषण भएको म ७९ वर्षीय वृद्धलाई हालसालै अर्थात् वि.सं. २०८० कार्तिकको तेस्रो÷चौथो हप्तातिर ‘नेपाल समाचारपत्र’ मा बलिउडकी चर्चित अभिनेत्री झन्डै ५० वर्षकी सुस्मिता सेनको बाह्र जवान व्यक्तिको नामाङ्कनसहित भएको प्रेमप्रसङ्गको अभिव्यक्ति र सौन्दर्यको खुलासा हुँदा सोको तडप, वेदना, डाह र पीडाको उपहारस्वरूप यस लेखको सृजना भएको हो ।

हेर्दाहेर्दै कति चाँडो बदलाव र फेरबदल आएको । अतीत र वर्तमानको तकरार र भीडन्त ! जमानामा पापी, व्यभिचारी, पतीत, रन्डी, वेश्या आदि निम्न कोटीमा गन्ती गरिने स्त्रीको स्तर आजकाल त आधुनिक, सुन्दरी, आकर्षक, रूपवान् स्त्रीको रूपमा परिणत ! अतीतमा पनि डराइ–डराइ, लुकिछिपी वा कोठीहरुमा अनैतिक क्रियाकलापहरू हुने दह्रो प्रमाण फेला परे पनि आजकाल त निर्धक्क र खुलमखुला हिँड्ने, बस्ने र चल्ने गरेको दृश्य बाक्लै देख्न पाइन्छ । यसलाई कुण्ठित र रुढिवादी विचारधाराको परिपूर्तिस्वरूप नवीन सोच र विचारको आगमन भनेर स्वीकार्दा पनि फरक पर्लाजस्तो छैन ।

स्वेच्छानुसार भिन्न–भिन्न स्वाद, शक्ति र सन्तुष्टिको चाहना गर्नु त मानिसको नैसर्गिक अधिकारै अन्तर्गत भएकोले त्यसको उपयोग, पहिचान, प्रयोग र पूर्ति गर्दा अप्ठेरो मान्नुपर्ने कुनै कारण छैन । मन मिलेसम्म प्रेमी, प्रेमिका, साथी, सँगी, पति, पत्नी र मन बाझिएपछि छुट्टिने अंग्रेजीमा एफ एन्ड एफ (तृप्ति अनि बिर्सने) को धारणा पनि नराम्रै भन्न पनि सकिँदैन । बरु यसले पति–पत्नीमा हुनुपर्ने प्राचीन दया, माया र प्रीतिको भावना र सोचलाई अवश्य बिथोलिएको वा साँघुरिएको आभास जगाउनुको साथै एक–अर्काप्रति हुनुपर्ने अथाह प्रेम र मायाको बन्धनलाई खुलापनले खुइल्याइदिने हो कि भन्ने शङ्का, उपशङ्का र डर कायमै रहे तापनि जनसमक्ष राख्नु नै उचित ठानी प्रस्तुत गरेको छु ।

हुन त अतीतका कमी–कमजोरीहरुलाई पन्छाई वा हटाई वर्तमानले उज्ज्वल भविष्यतर्फ पाइला चाल्नुपर्छ भन्ने भगवान् श्रीकृष्णको आदर्श र उपदेश रहेको छ । तैपनि कतिपयमा मलाई पुरानै संस्कार, संस्कृति, सनातन, धर्म र भाषा नै प्यारो लाग्छ । तसर्थ घर–परिवारले बेला–बेलामा बाहिर रेस्टुराँ, पार्टीप्यालेस, रिसोर्ट, पिकनिक स्पट, मठ मन्दिर आदि ठाउँमा गएर रमाइलो र मनोरञ्जन गर्ने कुरा उठाउँदा पनि म उत्सुक नभई घरमै रमाइलो र मनोरञ्जन गर्नेतर्फ उभिन्थेँ तर परिवारका अन्य सदस्यहरुलाई बाहिर जान कुनै रोकटोक र मनाही गरेको छैन ।

यसै विषयमा कहिलेकाहीँ परिवारमा किचकिच र ठाकठुक पनि हुने गरेको छ । यो स्वभावलाई कन्जुस, जिद्दी, घमण्डी, कट्टर, अपारदर्शी, पुरातनवादी सोचको परिपोषक आदि जे पगरी भिराए पनि सन्तोष छ । सम्भवतः लोभ, रोग, नैराश्यता, बुढ्यौली, एकलपनको मिश्रितरूप हो कि !

प्रतिक्रिया दिनुहोस्