गुरुकुल स्थापनाको लागि आयोजित सप्ताह सम्पन्न

८८ लाख सहकारीमा जम्मा गरियो 

140
Shares

 सप्ताहबाट पनौती–६ गोरखनाथ डाँडामा निर्माणाधीन गुरुकुलको पहिलो चरणको भौतिक संरचना निर्माण गर्न प्रयाप्त रकम संकलन भएको छ भने सरकारी तवरबाट पनि नगरपालिकाले  र जिल्ला समन्वय समितिले गुरुकुलको लागि दरबन्दी र थप बजेट विनियोजन गरिने भएको छ।

 काभ्रे, पनौती ।

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । सप्ताह समापन भएको दिन शनिवार १३ लाख ६८ हजार भन्दा बढी रकम संकलन भएको छ ।  सप्ताह समापन गर्दै जिल्ला समन्वय समितिका सभापति दीपक गौतम र पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गुरुकुलको लागि थप २० लाख रुपैयाँ  विनियोजन गर्ने जानकारी दिएका छन् ।

सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले नगरपालिकाबाट गुरुकुलको दर्ता प्रक्रिया सकिएको र एक जनाको दरबन्दी समेत स्वीकृत भैसकेको जानकारी दिँदै जिल्ला समन्वय समिति सँगको ६०-४० प्रतिशतको साझेदारीमा थप ८ लाख बजेट विनियोजन गरिने बताएका छन् । जिल्ला समन्वय समितिका सभापति गौतमले पनि नगरपालिका र जिससको साझेदारी अनुसार २० लाख रुपैयाँको ६० प्रतिशत रकम जिल्ला समन्वय समितिबाट विनियोजन हुने बताएका हुन्।

 जिल्ला समन्वय समितिको मुख्य कार्य समन्वय र अनुगमन गर्ने भए पनि जिससको मौजाद कोषबाट उक्त रकम विनियोजन हुने सभापति गौतमको भनाई थियो । सप्ताह समापन समारोहमा नेपाली कांग्रेसका  नेता मधु आचार्यले गुरुकुल स्थापनासँगै गोरखनाथ डाँडाको मुहानै फेरीएको भन्दै जुगजुग सम्म पुग्ने पवित्र कार्य भएको चर्चा गरेका थिए ।

शचीतीर्थ त्रिवेणी गुरुकुलमा देशका विभिन्न भागबाट आएका  २८ जना बटुकले शिक्षा दीक्षा लिइरहेका छन् । यो गुरुकुल विगत दुईवर्ष देखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भइरहेको छ । आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाँडामा भवन निर्माण भइरहेको छ ।

हाल निर्माणाधीन ८० फिट लम्बाई र २० फिट चौडाइको दुईतले भवनलाई सुर्की चुना लगायत कलात्मक तरिकाले रंगरोगण गरिँदै छ , साथै शौचालय निर्माण कार्यपनि भइरहेको छ । गोरखनाथ डाँडामा चन्दा संकलन बाटै पञ्चधातु बाट निर्मित ९ फिट अग्लो गणेशको मुर्ति पनि निर्माण सम्पन्न भैसकेको छ । गोरखनाथ मन्दिर परिसरमा नगरपालिकाले समेत चालु आर्थिक वर्षको लागि धार्मिक पार्क निर्माणको लागि २० लाख र शौचालय निर्माणको लागि ४ लाख रुपैयाँ  विनियोजन गरेको नगर प्रमुख भण्डारीले बताएका छन् ।

भवन निर्माणको लागि सप्ताहबाट संकलित रकम मध्ये  शनिवार साँझ सम्म ८७ लाख ८३ हजार नगद स्थानीय सामुदायिक बचत तथा ऋण सहकारीमा जम्मा भैरकेको गुरुकुलका अध्यक्ष  शिवप्रसाद जंगमले जानकारी दिएका छन् । गुरुकुलको नेपाल बैक लिमिटेड पनौती शाखामा खाता भएपनि सहकारीमा रकम जम्मा गरिएको छ । दैनिक लाखौँ रकम संकलन हुने भएकोले सप्ताह स्थलमै सेवा मागिएको तर बैकले सेवा दिन नसक्ने बताएपछि सरकारीमा रकम जम्मा गरिएको अध्यक्ष जंगमको भनाई थियो । चन्दा संकलनको हिसाबकिताब सकिदा साथ सहकारीमा जम्मा भएको रकम बैकमा सार्ने उनको भनाई थियो ।

सप्ताहमा ठ्याक्कै कति रकम संकलन भयो भन्ने बारेमा गुरुकुलले विस्तृत  हिसाब दिएको छैन । गुरुकुलका अध्यक्ष जंगमको भनाई अनुसार सहकारीमा जम्मा भएको रकम बाहेक करिब २४ लाख जतिको चेक सटही हुन बाकी छ । सप्ताहमा प्राप्त केही चेक फिर्ता आएको बताइए पनि यसको विस्तृत जानकारी दिइएको छैन ।

कतिपय चन्दादाताहरुले गुरुकुल निर्माण थालनी भए देखिनै रकम दिएका छन् । पहिल्यै रकम दिएको कति भन्ने बारेमा पनि विस्तृत विवरण आएको छैन । कतिपय चन्दा दाताहरुले सप्ताह स्थलमा आएर वचनबद्धता व्यक्त गरेको रकम संकलनको कार्य सकिए पछि सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्ने गुरुकुलका अध्यक्ष जंगमले बताएका छन् ।