खानेपानी संस्थानका कर्मचारी संगठनहरु जुर्मुराउदै  

पुस ६ गतेसम्म विनियमावली प्राप्त नभए कठोर संघर्ष थालिने

0
Shares

काठमाडौँ।

 नेपाल खानेपानी संस्थान संयुक्त कर्मचारी युनियन संघर्ष समितिको गत बिहीबार  बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । संघर्ष समितिले ती महत्त्वपूर्ण निर्णयहरु संस्थानका महाप्रबन्धक तथा सञ्चालक समितिलाई  समेत जानकारी गराएको छ ।

खानेपानी संस्थानका कर्मचारी संघ, कर्मचारी संगठन, स्वतन्त्र कर्मचारी संघ र स्वतन्त्र कर्मचारी परिषद्को संयुक्त बैठकले आगामी पुस ६ गते सम्ममा नेपाल खानेपानी संस्थान कर्मचारी  सेवासर्त सम्वन्धि विनियमावली प्राप्त नभएमा संयुक्त कर्मचारी युनियन संघर्ष समितिले संघर्षको कार्यक्रम घोषणा गरी आन्दोलनलाई सशक्त बनाउने र नयाँ उचाइमा पु¥याउने निर्णय गरिएको  नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष समीर पण्डितले जानकारी दिए ।

अध्यक्ष पण्डितका अनुसार सो बैठकले कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली प्राप्त भई नसकेसम्म संस्थानमा रिक्त दरवन्दिहरुमा पदपूर्तिका लागि कुनै कार्य प्रक्रिया अगाडि बढाइएमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले संघर्षको कार्यक्रममा पालना गर्ने आचरणको सम्बन्धमा ट्रेड युनियन ऐनमा भएको व्यवस्था बमोजिम सबै अधिकार प्रयोग गरी थप संघर्षको कार्यक्रम कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी   बैठकले  संयुक्त संघर्ष समितिको संयोजक सबै युनियनका अध्यक्षहरुको आलोपालो हुने गरी  नेतृत्व गर्ने र मंसिर २१ गतेदेखि अर्को बैठकबाट निर्णय नभएसम्म नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष समीर पण्डितलाई संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको जनाइएको छ ।

बैठकले कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली प्राप्त गर्न संयोजकले संस्थान व्यवस्थापनलाई आवश्यक सहयोग गर्ने भूमिकाको कार्य गर्ने जिम्मेवारी समेत दिने निर्णय गरेको बताइएको छ ।