नागढुंगामा स्थानीय र प्रहरीबीच झडप, वडाध्यक्षसहित ८ जना प्रहरीको नियन्त्रणमा

14
Shares

काठमाडौँ।

नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्।

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८/९ जनालाई नियन्त्रणमा लिएको छ।अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ।

ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्।