मुख्यमन्त्री पाण्डेले भने- बाँदरले गाँजा खाँदैन उत्पादन गर्ने हो, मदिरा ब्रान्डिङ

0
Shares

पोखरा। 

गण्डकी प्रदेश सरकारले गाजाँलाई कानुनी मान्यता दिँदै त्यसको उत्पादन गर्ने र घरेलु मदिराको ब्रान्डिङ गर्ने भएको छ । गाँजा लागुपदार्थमात्र नभई औषधीदेखी धागोसम्म बनाउने बुटी भएकाले यसको उत्पादनका लागि कानुन बनाउने तयारी भइरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बताए ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेलाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार कानुन बनाउने तयारीमा रहेको र आगामी प्रदेशसभामा पेश हुने जानकारी समेत दिए । उनले गण्डकी प्रदेशका किसानहरु बाँदर आतंकको कुरा लिएर आउने गरेको सुनाउँदै बाँदर आतंक रोक्ने कुनै उपाय नरहँदा गाजाँलाई बाँदरले नखाने समेत बताए । उनले अब गण्डकी प्रदेशले गाँजाको खेती गर्ने र त्यसका लागि आवश्यक कानुन र उद्योग समेत खोल्ने सुनाए ।

 ‘घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र अर्को गाँजा खेतीलाई लिगलाइज गर्ने हाम्रो तयारी छ । गाँजा केबल लागूपदार्थ मात्र होइन । यहाँ दुई जना डिआईजी साब पनि हुनुहुन्छ सिडिओ साप पनि हुनुहुन्छ । म फेरीपनि दोहो¥याएर भन्छु गाँजा लागुपदार्थमात्र होइन् । यो औषधीजन्य पदार्थ पनि हो । र यसका कतिपय उद्योगजन्य उत्पादन पनि हुन सक्छ’ उनले भने ‘डाठबाट पनि अन्य उत्पादन हुन सक्दो रहेछ । त्यसकारण यसलाई टेकेर हामीले कानुन निर्माण गरिरहेका छौँ । हामीलाई एउटा चिन्ता छ की यसको दुरुपयोग नहोस् । यसका लागि कानुनी व्यवस्था कसरी गर्ने त्यो बरेमा हामीले कानुन बनाउने क्रममा छौँ ।’ उनले उद्योगीहरुलाई अब गाँजाबाट बन्ने विभिन्न चिजहरुका बारेमा अध्ययन गरी त्यसतर्फको उद्योग खोल्नमा समेत आग्रह गरे । गाँजा बहुउपयोगी जडीबुटी रहेको र यसले रित्तिएको गाउँलाई पुनः भराउने समेत सुनाए ।

‘गाउँ रित्तो छ, हाम्रा बारी बाझो छन् । यहाँ गाउँमा भएका दाजुभाईहरु बाँदर धपाई दे, बाँदर रोक्दे भनेर आउनुहुन्छ । बाँदर आतंकवादको छुटकारा पाउन यसको व्यापार गर्ने मेरो विचार आएको छ । अर्को कुरा गाँजालाई बाँदरले खाँदैन रहेछ । जति पनि बाझो बारी छ । गाँजा उत्पादन हुन सक्छ त्यहाँ गाँजा रोक्ने हो र प्रवद्र्धन गर्ने हो । औषधीजन्य उद्योग खोल्ने हो ।’

उनले देशको मुख्य समस्याको रुपमा रोजगारी रहेको सुनाए । दलीय व्यवस्था आएपछि धेरै प्रगती भएपनि रोजगार सिर्जना र स्वरोजगार बनाउन राज्यनले नसकेको गुनासो गरे। घरेलु मदिरा ब्रान्डिङ गर्दै गाँजाको उत्पादनले देशमै रोजगारको अवसर पाइने उनको भनाई छ ।

कोरोना महामारी पछिको आर्थिक मन्दीको अवस्थाले उद्योग र व्यापारीहरुले ठूलो समस्या भोगिरहेको छ । यो बिचमा बैंकले ७ प्रतिशतको ब्याज बढाए १७ प्रतिशत बनाउँदा झन नाजुक स्थिति भएको उनको भनाई छ । उनले व्यापारि र सम्बन्धित निकायसँग विना छलफल बैंकले व्याजदर बढाउनु  बैंकहरुको एक्लौटी दादागिरी रहेको सुनाए । यो अवस्थालाई सहनुपर्ने बाध्यात्मक परिस्थिति भएको र यसलाई समाधान नगरे भयावह स्थिति आउने उनले बताए ।