बढ्दो जनसंख्या र शहरीकरणले निम्त्यायो वीरेन्द्रनगरमा खानेपानी संकट



वीरेन्द्रनगर ।

सुर्खेतको वीरेन्द्रनगर वडा नं ९ को तल्लो भेगस्थित काटिमाटी गाउँमा २०२० सालदेखि थारु समुदायको बसोबास छ । उनीहरु ९५ घरमा कुल ३ सय १५ जना कालिमाटीमा बस्दै आएका छन् । गाउँमा रहेको पुरानो कुवाको पानी केही वर्षअघिसम्म तीन–चार गाउँलाई पुग्थ्यो तर त्यो बिस्तारै सुक्दै गएको स्थानिय बताउँछन् । ‘०११ सालमा हामी आउडा सानो मुल ठियो, पछि फलेक हालेर पानी जम्मा हुने बनाइम् । त्यतिबेला हाम्रो यहाँ १५ घर ठियो,’ स्थानिय बुद्धिराम थारुले भने, ‘सबै मिलेर ०२० सालमा कुवा बनाइम् । पानी फालाफाल ठियो तर अहिले त खडेरीमा सुक्छ ।’ वर्षाको समयमा अहिले जति पानी हुन्छ त्यो भन्दा बढी उहिले खडेरीमा हुने उनी बताउँछन् ।
कुनै बेला वीरेन्द्रनगरका बिगौँ बिगाह खेत भएका जिमदारका जग्गा अधिया लगाएर खाने यो समुदाय अहिले खेतीपातीबाट पलायन हुने सम्भावना छ । थारु भन्छन्, ‘जिमदारका जग्गा लगाउठिम् खेती । आडाआडा हुन्ठ्यो, घरको काम गराउठे । उनीहरुको घरमा पानी लग्नुपर्ने, लुगा धुने, दाउरा अनि घाँस सबै गरिदिनु पथ्र्यो ।’ कुवामा धेरै पानी भएर बग्ने भएकाले कालिमाटीका खेतहरुलाई हाडि भनिन्थ्यो । कुवाको पानीले सिजन अनुसारका तरकारी फल्थ्यो । त्यो बजारमा विक्रि हुन्थ्यो । तर अहिले खडेरीमा खानेपानी समेत पु¥याउन मुस्किल हुन्छ ।

कालिमाटी क्षेत्रमा रहेको कुवामा महिलाहरु साँझ पानी तान्दै । तस्वीरः सिर्जना बुढाथोकी

स्थानिय ६३ वर्षिय ज्येष्ठ नागरिक गेनेद्या थारुले यही कुवाको पानीले तरकारी खेती गरेर पाँच छोरी हुर्काइन् । पुराना दिन सम्झिँदै उनले आफु जिउदो हुँयो कुवा सुकेको हेर्न नसक्ने बताइन् । वीरेन्द्रनगर–९ का वडा अध्यक्ष ऋषि गिरिले कुवा जोगाउन आफुले प्रयास गरिरहेको बताए । ‘पहिला कुवा वरपर सिमेन्टले प्लस्टर गरेको थिएन । आकासबाट पानी आउँदा जम्मा हुन्थ्यो होला । अहिले मुहान वरपर प्लस्टर छ । कारण यो नि हुन सक्छ,’ उनले भने, ‘पानीका मुहान सुक्ने हाम्रो वडा मात्रै नभएर अहिले पूरै जिल्लाकै समस्या हो । कहिले बाढी नै आउँछ, कहिले खाने पानी हुन्न ।’ वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै भएको वस्ती विकासले शहरीकरण तीब्र हुनुका साथै पानीको समस्या र फोहोरमैला व्यवस्थापनको समस्या भने झन् विकराल छ ।

 

 

सन् २००० मा करिब ९० घरधुरी रहेको लाटिकोइली र कालिमाटी क्षेत्रमा दुई दशकको अवधिमा चार गुणाले घरहरु त बढे तर खानेपानीको स्रोत एउटा कुवा मात्रै रहेको छ । स्याटेलाइट तस्वीर स्रोतः गुगल अर्थ प्रो

पाँच वर्षअघि कर्णाली प्रदेशको राजधानी बनेपछि वीरेन्द्रनगरमा अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम तीव्र रूपमा बढ्यो । २०६८ सालमा एक लाख बासिन्दा रहेको वीरेन्द्रनगरको जनसंख्या २०७८ मा एक लाख ५५ हजार पुगेको छ । जनसंख्या वृद्धिस“गै खानेपानीको समस्या बढ्दै छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख डम्मर गौतमका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । ‘मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको छ । छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ । पछिल्लो समय खानेपानीका मुहान पनि स्रोत सुक्दै गइरहेका छन्,’ उनी भन्छन् ।

बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको गौतमले बताए । ‘पछिल्ला वर्षहरूमा मुुहान पनि सुुक्दै गएका छन्,’ उनी भन्छन्, ‘पानीका स्रोत थपिए केही राहत भने पक्कै हुुनेछ ।’ वीरेन्द्रनगर उपत्यकामा खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट पानी ल्याइएको छ । झुप्रा खोलाको यहाँको एक प्रमुख स्रोत हो । सुर्खेत उपत्यका खानेपानी संस्थाले बुलबुले तालबाट दैनिक १५ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्दथ्यो । तर मुहान सुक्दै गएपछि अहिले दैनिक सात लिटर प्रतिसेकेन्ड मात्रै पानी आउने गरेको संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए ।

उनका अनुसार अहिले खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट पानी वितरण हुन्छ । देवकोटाका अनुसार सबै मुहानको पानी सुकेर खडेरीको समयमा आधामा झर्ने गर्छ । अन्य समयमा ७६ लिटर प्रति सेकेन्ड पानी आउने गरेका झुप्रा खोलामा खडेरीको समयमा ३६ लिटर प्रति सेकेन्ड पानी आउने उनी बताउ“छन् । ‘माथिल्लो क्षेत्रमा पानी रिचार्ज नै छैन, यी मुहानहरुमा हरेक वर्ष पानीको मात्रा घट्दै गएको छ,’ उनले भने, ‘२०५७ सालदेखि हेर्दा अहिलेसम्म पानीको मुहान प्रत्येक वर्ष घट्दै गइरहेको छ ।’

सुर्खेतको पर्यटकीय आकर्षण बुलबुले तालमा २५ वर्ष पहिले पर्याप्त पानी थियो । बुलबले ताल थोरै क्षेत्रफलमा हुँदा फोहोर थिएन । जब ताल बिस्तार गरियो, वरिपरि फोहोर ह्वात्तै बढ्यो र पानी पनि सुक्यो । वीरेन्द्रनगर वडा नं ९ का दलबहादुर खत्री २०११ सालमा बुलबुलेमै बस्थे । उनले खानेपानीका लागि बुदबुदे मुहानबाट आउने पानी बुलबुलेमा जम्मा गरेर ९ नम्बर वडाका बासिन्दालाई वितरण गर्न उनी त्यहाँ बसेका थिए । ‘बुलबुल गर्दै पानी निस्किने धेरै मुल थिए पहिला । पानी धेरै भएर बगेरै अर्को तलाउ भरिएर पनि बाहिर जान्थ्यो, डुंगा चल्थे । राजा हाँसहरु, माछा तलाउमा कति हुन्थ्यो,’ उनले भने, ‘अहिले त पानी नै छैन । मेन बुलबुल गर्ने एक दुईवटा मुल छ । अर्को तलाउ सुक्यो । तालमा भएका १० धाराबाट आउने पानी अहिले दुई तीन धारा बुज्यो भने बल्ल अर्कोबाट पानी आउ“छ ।’

 

 

सन् २००० मा तालको पानी व्यवस्थापन गर्न ताल सुकाइयो । तर तत्पश्चात आसपासका मुहाँनै सुकेपछि हालसम्म ताल सुख्खा अवस्थामा छ । स्याटेलाइट तस्वीर स्रोतः गुगल अर्थ प्रो

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को कर्णाली जलपरियोजनाका विज्ञ सुदिप आचार्यले पछिल्लो समय कुनै जिल्लामा मात्र नभइ समग्र नेपालमा तापक्रम बढ्दै गएको बताए । उनका अनुसार नेपालको पूर्वी भेगबाट पश्चिमतर्फ तापक्रम बढ्दै गएको छ । ‘सुर्खेतको हकमा हेर्दा ४ प्रतिशत मुख्य पानीका मुहान सुकिसकेको छ,’ उनले भने, ‘स्थानीयले पिउने पानीको १९ प्रतिशतभन्दा बढी मुहान सुकेको छ । मुलबाटै पानी घटेपछि नागरिकले पिउने पानीको मुहान घट्नु स्वभाविक हो किनकि सुख्खापन बढ्दै छ ।’ आचार्यका अनुसार यो सबैको प्रमुख कारण मध्येको एक विगत १० वर्षदेखि भएको ग्रामिण सडक निर्माण हो । ‘पानीको मुहानको ख्याल नगरी सडक निर्माण गर्दा मुहान घटेको वैज्ञानिक हिसाबले देखाउँछ,’ उनले भने, ‘पहिले पहिले आकाशबाट पनि लामो समय पानी पथ्र्यो तर अहिले वर्षाको दुई महिना ९० प्रतिशत र बाँकी महिना १० प्रतिशत पानी पर्छ । जसका कारण प्राकृतिक रुपमा रिचार्ज हुन पाउँदैन ।’

कर्णालीमा जथाभावी गरिएका विकास निर्माणका कामले पानीको मुहान सुक्ने र पानी घट्दै गएको कर्णाली जलपरियोजनाको तथ्यांक छ । स्थानीय सरकारले अब विकास निर्माणका काम गर्दा पानीका मुहान मासि“दै गएकोतर्फ ध्यान दिनुपर्ने आचार्य बताउँछन् । मुहानभन्दा पनि त्यो मुहान रिचार्ज हुने क्षेत्र खोज्नुपर्नेमा उनको जोड छ ।
वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भए पनि अहिले प्रति सेकेन्ड १५३ लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । सुर्खेतको वीरेन्द्रनगरमा मुहान रहेका झुप्राखोला, खरीखोला बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट ६८ लिटर प्रतिसेकेन्ड ५८ लाख ७५ हजार दुई सय लिटर प्रतिसेकेन्ड उत्पादन हुने गरेको छ । तर २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजार बढी घरधुरीलाई खानेपानी दिन नसक्दा आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागु गर्दै आएको छ ।

भेरी पम्पिङ आयोजनाले जगाएको आश
खानेपानीको संकट भोगिरहेका कर्णाली प्रदेशका वासिन्दाको लागि भेरी पम्पिङ आयोजना अघि बढाइएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार ५ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरेकोमा हालैमात्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । विश्व बैंकको लगानीमा भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।

भेरी लिफ्टीङ आयोजनाको कामको थालनी आगामी बैशाख सम्म हुने नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भनिन्, ‘टेण्डर आह्वानका लागि धेरै प्रक्रिया पूरा गर्नु थियो । त्यो चरण पनि सकिएको छ । अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागेका छौं ।’ आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले स्वीकृति दिएपछि पहिलो चरणको काम शुरु गर्न लागिएको हो । आयोजनाको पहिलो प्याकेज अन्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गरिने छ । करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगर नगरपालिकाको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँच मार्ग सहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ ।

“यो अनुसन्धानात्मक रिपोर्टिङ संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) द्वारा प्रदान गरिएको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।“

प्रतिक्रिया दिनुहोस्