अनिवार्य दर्ता गर्नुपर्ने, अटेर गरे पसल बन्द 

94
Shares

१.फार्मेसी नपढेकाले औषधि बेच्ने गरेकाले
२ फार्मेसी खोलेर ओपीडी सञ्चालन
३.महानगरमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको
४.प्रचलित व्यवस्थाविपरीत नार्कोेटिक औषधि बिक्रीवितरण हुने
५.औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री गरेको
६.चिकित्सकको प्रेस्क्रिप्सनबिना नै औषधि बिक्री

काठमाडौं।

काठमाडौं महानगरपालिकाले ६ वटा गम्भीर कारण औल्याउँदै महानगरभित्र सञ्चालन भइरहेका सबै औषधि पसललाई मापदण्डभित्र आउन आग्रह गरेको छ । ६२ वटा औषधि पसल अनुगमन गर्दा गम्भीर केही औषधि पसलमा गम्भीर त्रुटि भेटेपछि कानुनको दायरामा ल्याउन सो आग्रह गरेको हो । कामपा जनस्वास्थ्य विभागले हिजो सूचना जारी गरी १० दिनभित्र मापदण्डभित्र आउन आग्रह गरेको हो ।

विभागले ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्रीवितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्रीवितरण भइरहेको, चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्रीवितरण भइरहेको, प्रचलित व्यवस्थाविपरीत नार्कोटिक औषधि बिक्रीवितरण हुने गरेको, औषधि पसल खोलेर ओपीडी सेवा सञ्चालन गरेको र फार्मेसी नपढेका व्यक्तिले योग्यताविपरीत औषधि बिक्री गरेको खुलेपछि कामपाले औषधि व्यवसाय सञ्चालन गर्न कडाइ गरेको हो ।

विभाग प्रमुख रामप्रसाद पौडेलले समयसीमाभित्र प्रक्रिया पूरा नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँका अनुसार सूचना जारी गरेपछि आजबाट पुनः अनुगमन थालिने जानकारी दिनुभयो । अस्पतालको फार्मेसीसहित कामपाभित्र करिब १ हजार ८ सय औषधि पसल सञ्चालनमा छन् । तीमध्ये अधिकांशले महानगरमा व्यवसाय दर्ता गराएका छैनन् । ‘एकाधबाहेक कुनै पनि औषधि व्यवसायीले पसल दर्ता गराएका छैनन्, मनपरी रूपमा सञ्चालन भइरहेका छन्’ –विभाग प्रमुख पौडेलले भन्नुभयो ।

कामपाका मेयर बालेन्द्र साहले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा जनस्वास्थ्यमा लापरबाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको बताउँदै सर्वसाधारणलाई अपिल गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो– ‘यस्ता लापरबाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्नुहोला । टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गर्नुहोला । तोकिएको समयभित्र सुधारको संकेत देखिएन भने गलत गर्नेहरूलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही गर्छौं ।’

महानगरले औषधि पसलहरू अनुगमन गर्दा केहीले युवालाई लक्षित गरी कुलतजन्य औषधि बिक्री गर्ने गरेको खुलेको छ । ‘अनुगमनको क्रममा त्यस्ता पसललाई कारबाही गर्ने चेतावनी दिएका थियौं, उनीहरूले मापदण्डअनुसार सञ्चालन गर्ने बचन दिएका थिए’ –विभाग प्रमुख पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपय व्यवसायीले फार्मेसिस्टको नाममा पसल दर्ता गरी सो विषयमा जानकार नभएका अर्थात् फार्मेसी नपढेका व्यक्तिले समेत पसल सञ्चालन गरेको फेला पारेको थियांै, त्यस्तो पसललाई के गर्ने भन्ने विषयमा छलफल जारी राखेका छौं’ –विभागीय प्रमुख पौडेलको भनाइ थियो ।
कामपाले जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार निरन्तर अनुगमन गर्ने र १० दिनभित्र कानुनी दायरामा नआए व्यवसाय बन्द गर्नेसम्मको चेतावनी दिएको छ । जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको उजुरी आउन थालेपछि कामपाले अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको हो । विभागीय प्रमुख पौडेलले सुधार नगर्नेमाथि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

यसैबीच औषधि पसलबाट अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसी शिलबन्दी भएको छ । औषधि व्यवस्था विभाग, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि टोलीले बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मामा शिलबन्दी गरेको हो ।

विभागको टोलीले अवैध रूपमा औषधि बिक्री वितरण गर्ने कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा अनुगमन गरेको थियो । टोलीले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा लाइफ केयरमा शिलबन्दी गरेको हो । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।