सृजनशील महिला समाज र तारकेश्वर नगरपालिकाबीच छलफल 

 समाजलाई ३ लाख सम्मको सहयोग गर्ने उपमेयर बुर्लाकोटीको प्रतिबद्धता



काठमाडौँ। 

वातावरणीय क्षेत्रमा देखा परेका  विभिन्न समस्या समाधानका लागि  लामो समयदेखि सशक्त पैरवी र विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको तारकेश्वर नगरपालिका ४ मा रहेको  सृजनशील महिला समाज र तारकेश्वर नगरपालिकाबीच बुधवार बिहान महत्त्वपूर्ण विषयमा  छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सृजनशील महिला समाजले बहुसरोकारवाला मञ्च गठन गरी  सबै पक्षलाई समेटेर वातावरणीय मुद्दा उठान गर्दै यस क्षेत्रका विद्यमान समस्या समाधानका लागि महत्त्वपूर्ण  कार्य गर्दै आइरहेको छ ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीको प्रमुख आतित्थतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाले वातावरणीय क्षेत्रमा विनियोजन गरेको बजेट, वातावरणीय कार्यक्रम र उपलब्धिको अनुगमन, वातावरणलाई असर गर्ने प्लाष्टिकजन्य उत्पादनमा न्यूनीकरण, तथा सृजनशील महिला समाजले वातावरणीय सुधारमा गर्दै आइरहेका महत्त्वपूर्ण कार्य र आगामी दिनमा तय गर्नुपर्ने रणनीति  लगायतका विभिन्न विषयमा छलफल गरी निष्कर्ष समेत निकालिएको छ ।

 तारकेश्वर नगरपालिका ४ स्थित मिलनबस्तीमा भएको छलफलमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले सृजनशील महिला समाजले वातावरणीय क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी भइरहेकाले नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख बुर्लाकोटीले सृजनशील महिला समाजलाई आगामी दिनमा वातावरणीय क्षेत्रका विभिन्न समस्या पहिचान गरी सशक्त किसिमले काम गर्ने वातावरण बनाउन उपप्रमुख पूर्वाधार कार्यक्रम मार्फत ३ लाख रुपैयाँ सम्मको सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

 

 उपप्रमुख बुर्लाकोटीले आफू उपमेयरमा निर्वाचित भएर आएदेखि नै तारकेश्वर नगरपालिकाको समग्र विकास, सुधार र सेवाप्रवाह प्रभावकारी बनाउन दत्तचित्त भएर लागिरहेको स्पष्ट पार्दै नगरपालिकाको समग्र नेतृत्व   भौतिक पूर्वाधार निर्माणमा मात्रै नभएर दिगो विकासको लक्ष्य अनुसार अघि बढ्नुपर्ने आवश्यकता औल्याइन् । उनले तारकेश्वर नगरपालिका क्षेत्रमा अखाद्य बस्तुको विक्री वितरण हुने क्रम बढिरहेकाले अब सशक्त अनुगमन गरी  अखाद्य वस्तु विक्री वितरण गर्ने माथि कडा  कारबाही गर्ने चेतावनी दिइन् ।

  कार्यक्रममा सृजनशील महिला समाज तथा बहुसरोकारवाला मञ्चका  हेमा भण्डारी, रञ्जना शर्मा, शुभद्रा चालिसे, केदार खत्री लगायतले वातावरणीय क्षेत्र सुधारका लागि समाजले सञ्चालन गर्दै आइरहेका कार्यक्रमलाई  नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरुले तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा विनियोजन गरेको बजेटमा सृजनशील महिला समाजलाई छुटाएकोमा दुःख व्यक्त गरेका थिए । सहभागीहरुले नगरपालिकाले आगामी दिनमा वातावरणीय क्षेत्रमा कार्यरत संस्थाहरुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

आगामी वर्षमा नगरपालिकाले बजेट विनियोजन गर्दा सृजनशील महिला  समाजलाई पनि समावेश गर्न आग्रह गर्दै उनीहरुले  यसका लागि उपमेयर बुर्लाकोटीले पहलकदमी लिने विश्वास व्यक्त गरेका थिए । उपमेयर बुर्लाकोटीले वातावरणीय समस्या समाधान गर्दै समाज सुधारमा लागेको सृजनशील समाज सँग आफू सधैँ आत्मीय रुपमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । समाजका सदस्यहरुले  उपमेयर बुर्लाकोटीले समाजलाई  ३ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएकाले असल अभिभावक पाएको अनुभूति भएको भन्दै उहाँप्रति  कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्