नास्टद्वारा ई. दिल्लीरत्न शाक्य सम्मानित



काठमाडौँ।

नेपालको विज्ञान तथा प्रविधि क्षेत्रको ईलेक्ट्रिकल इन्जिनियरिङ विषयमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ई. दिल्लीरत्न शाक्यलाई सम्मान गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले उनलाई कदरपत्र प्रदान गरेका हुन् । ई. शाक्य सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर एसोसियसन नेपाल (सीन)का अध्यक्ष हुन । कार्यक्रममा वि.सं. २०७९ र २०८० सालको पुरस्कार एवं वैज्ञानिक तथा प्राविधिज्ञहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताए । उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने – “विज्ञान तथा प्रविधि विकासका लागि सरकारले  एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।”

विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासमा अझै अपेक्षाअनुरुप काम हुन नसकेको बताए । उनले भने –“सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन् । म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।” उनले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्