कानुनअनुसार औषधि पसल सञ्चालन नगरे कारबाही गर्ने काठमाडौंका मेयर शाहको चेतावनी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरू ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गर्ने चेतावनी दिएका छन्।

अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताए। त्यस्ता औषधि पसललाई यही मङ्सिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।

‘काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’

सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने चेतावनी उनकाे भनाइ छ। ‘माथि उल्लेख भएअनुसारको समयभित्र काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) तथा काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्नेसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ।’

अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्