पुष्पलालको जन्मस्थल रामेछापमा संकल्प यात्राको टोलीलाई भव्य स्वागतको तयारी

0
Shares

रामेछाप ।

मंसिर १४ गतेबाट सुरु भएको एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ मंसिर २५ गते रामेछापको मन्थली आइपुग्ने भएको छ ।

दोलखा हुँदै मन्थली नगरपालिका १४ फुलासीको मिल्ती खोलाबाट संकल्प यात्राको टोली रामेछाप प्रवेश गर्ने एमाले रामेछापका सचिव पुरुषोत्तम कडेंरियाले बताए । टोलीलाई नेकपा एमाले दोलखा कमिटीले २५ गते दिउँसो ३ बजे मिल्तीमा रामेछाप कमिटीलाई हस्तान्तरण गर्ने छ ।

त्यस पश्चात् र्यालि सहित जिल्ला सदरमुकाम मन्थलीको तिनलाल पार्कमा विशेष कार्यक्रमको आयोजना गरिने कडेंरियाले बताए । दिउँसो करिव ४ बजे तीनलाल पार्कमा हुने कार्यक्रममा अध्यक्ष ओली लगायतका नेताले सम्बोधन गर्ने तयारी रहेको छ ।

मंगलबार भातृ तथा सुवेच्छुक सङ्गठनहरूको संयुक्त बैठक राखेर एमाले रामेछापले कार्यक्रमको तयारिमा लाग्न निर्देशन समेत दिएको छ । बाग्मती प्रदेश सभाका सदस्य तथा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सफल बनाउनका लागि लाग्न भातृ तथा सुवेच्छुक सङ्गठनका पदाधिकार तथा सदस्यहरूलाई निर्देशन दिएको हो ।

रामेछाप जिल्ला नेपाल कम्युनिस्ट पाटिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल हो । त्यस कारणले पनि एमालेको संकल्प यात्रालाई एमाले रामेछापले विशेष रूपमा सफल बनाउने तयारी गरेको छ।

संकल्प यात्राको टोलीलाई २६ गते बिहान करिब ८ बजे खुर्कोटबाट एमाले सिन्धुली जिल्ला कमिटीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेंरियाले बताए।