अकल्पनीय सम्पादकीय स्वतन्त्रता



गहन छलफलपछि नेपाल समाचारपत्रले राष्ट्र, राष्ट्रियता र देशभक्तिका सम्बन्धमा पत्रकारिताको एउटा बेग्लै रूपरेखा कोर्ने नीति लिएको थियो ।

संसारमा नेपाल मात्र एउटा यस्तो देश हो जुन देशमा आएका अन्य देशका राजदूतहरू नेपालको परराष्ट्र मन्त्रालयको पूर्व अनुमति नलिई देशको जुनसुकै भागमा पुग्छन् अनि कतै विद्यालय उद्घाटन गर्दै हिँड्छन् त कतै एम्बुलेन्स बाँड्दै दौडिन्छन् ।

अनि पत्रकारहरू पनि तिनका समाचार बनाउँदै हिँड्छन् । पत्रकारहरुले अहिलेसम्म पनि ती राजदूतहरूलाई यो प्रश्न सोधेको समाचार आएको छैन कि उनीहरू आफूखुसी देशको जुनसुकै भागमा पुगेर त्यसरी मुस्ताङ्गमा विद्यालय उद्घाटन गर्न वा सप्तरीमा एम्बुलेन्स बाँड्न जानका लागि हाम्रो देशको परराष्ट्र मन्त्रालयको अनुमति लिएर पुगे कि नलिई ? अनुमति नलिई किन आउनुभयो ? आदि ।

संसारको कुनै पनि देशमा जाने नेपाली राजदूतहरूले यस्तो छुट पाउँदैनन् । दूतावास भएको इलाकाको चार किल्ला बाहिर अन्य शहर वा प्रान्तमा जानुपर्दा त्यो देशको परराष्ट «मन्त्रालयको अनुमति लिनुपर्छ । त्यसरी आफूखुसी गएकोमा त्यहाँका पत्रकारहरूले समाचार बनाउँदैनन् । ब्ल्याक आउट गर्छन् । उल्टो टिप्पणीपूर्ण र प्रश्नात्मक जानकारीका समाचारहरू बनाउँछन् ।जतिबेला, म नेपाल नेपाल समाचारपत्र हुनुपूर्व आजको समाचारपत्र मास्टर हेडमा प्रकाशित हँुदादेखि नै कामना प्रकाशन गृहको नेपाल समाचारपत्र दैनिकमा रहेर पत्रकारिता गरिरहेको थिएँ त्यसबेला यो प्रश्न हाम्रो सम्पादकीय समूहमा जोडतोडका साथ उठाएको थिएँ । यस विषयमा गहन छलफलपछि नेपाल समाचारपत्रले राष्ट्र, राष्ट्रियता र देशभक्तिका सम्बन्धमा पत्रकारिताको एउटा बेग्लै रूपरेखा कोर्ने नीति लिएको थियो ।

यदि, हाम्रो देशसँग अनुमति नलिई कुनै पनि विदेशी कूटनीतिक जिम्मेवारीको व्यक्ति देशको कुनै पनि कुनामा गयो भने त्यो हाम्रो देशप्रतिको हेपाहा नीति हो । त्यसप्रति सचेत गराउने गरी नै समाचार र विश्लेषण प्रकाशित गर्ने । अर्थात् प्रकाशक, प्रधानसम्पादक, सम्पादक सल्लाहकार सम्पादक सबैले यदि सही विचार र प्रस्ताव कुनै पनि संवाददाता वा नवप्रवेशीले नै भन्यो भने पनि छलफलबाट त्यो नेपाल समाचारपत्रको मूल सम्पादकीय नीति बन्न सक्थ्यो ।त्यसपछि म आफूले नेपाल समाचारपत्रमा रहेर परराष्ट्र मामिलासम्बन्धी विटको जिम्मेवारी सम्हालेर पत्रकारिता गर्दा यो विषयलाई सदैव पालना गरेँ । यसैको कारण कतिपय विदेशी कुटनीतिज्ञका समाचार ब्ल्याक आउट गर्ने काम पनि भयो । यसलाई कतिपयले समाचार छुटाएको ठाने । तर, वास्तविकता देशभक्ति र राष्ट्रप्रेम थियो ।

यसै बीचमा मैले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुन, जापानका प्रधानमन्त्री योसिरो मोरी, एमनेस्टी इन्टरन्यासनलका अन्तर्राष्ट्रिय महासचिव पिएरे साने समेतसँग कुराकानीहरू गर्ने अवसर पाउँदा पनि नेपाललाई हेर्ने अन्य मुलुक र अन्तर्राष्ट्रिय संघ–संस्थाको दृष्टिमा इन्डिया वा चीनलाई नजोडिकन हेर्न अनुरोध गरेको प्रश्न सबैजसोमा समावेश हुने गथ्र्यो । त्यो पनि नेपाल समाचारपत्रको परराष्ट्रसम्बन्धी सामग्री बारेको थियो । प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, सम्पादक कपिल काफ्ले, कार्यकारी सम्पादक बद्री तिवारी, सल्लाकार सम्पादक वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मी लगायतका समूहमा यस्ता विषयमा वास्तवमा गम्भीर छलफल हुन्थे ।

नेपालमा पहिलोपटक लोकतन्त्र मिडियामा पनि हुनुपर्छ र मिडिया मोनोपोली (सञ्चार एकाधिकार) अन्त्य गर्नुपर्छ भन्ने आवाज आफैँ मिडिया भएर पनि नेपाल समाचारपत्रले उठाएको थियो । अहिले त्यो प्रसंग झन् बढी सान्दर्भिक बनेर उठेको छ । एउटै सञ्चारगृहले रेडियो पनि टेलिभिजन पनि पत्रिका पनि अनलाइन पनि सञ्चालन गर्न छुट दियो भने जनतामा उसले चाहेको खराब सूचना पनि एकोहोरो प्रस्तुत गरेर प्रभावित गर्न सक्छ । त्यसैले, त्यस्तो एकाधिकार लोकतन्त्र र देशकै विरुद्ध पनि कहिलेकाहीँ प्रयोग हुनसक्छ भन्ने निष्कर्षका साथ नेपाल समाचारपत्रले आफैंले यसको पहलकदमी लिएर एक प्रकारको अभियान नै छेडेको थियो । म आफैंले कयौं सम्पादकीयहरू लेखेको छु । सम्पादकीय समूहमा रहनेहरूले पालैपालो सम्पादकीय लेख्ने चलन थियो । त्यो उच्च सम्पादकीय समूहको स्वतन्त्रतामाथि सञ्चारगृहले लिएको विश्वास थियो ।

अघि माथि उल्लेख गरिएको सञ्चारमा सञ्चार माध्यमकै एकाधिकारविरुद्ध नेपाल समाचारपत्रले लिएको नीति अहिलेसम्म पनि विश्वकै सञ्चार विधिशास्त्रका दृष्टिले महत्वपूर्ण छ । त्यसकै परिणामस्वरुप नेपालमा एउटै सञ्चारगृह भए पनि कम्तीमा अनलाइन, पत्रिका, रेडियो र टेलिभिजनमा एउटै व्यक्ति सम्पादक रहन नपाउने सम्मको नीति सरकारले लिएको छ । यो नीति त्यतिबेलाको नेपाल समाचारपत्रको त्यही अभियानको परिणाम हो ।
उच्च सम्पादकीय जिम्मेवारीमा रहनु हुनेहरुले पनि मैले लेखेका कतिपय सम्पादकीयहरुका सम्बन्धमा व्यक्तिगत रूपमा केही विमति रहे पनि बाहिर एकाकार रूपमा ती सम्पादकीयहरूको बचाउ गर्नुहुन्थ्यो । सम्पादकीय स्वतन्त्रता त्यति हदसम्म थियो तर, केन्द्रमा देश र देशभक्ति हुनुपर्ने मात्र नीति नेपाल समाचारपत्रको थियो ।

मैले एकपटक संसारमा एउटा यस्तो देश हो जुन देशका पत्रिकाहरूले अर्कै देशको स्वाधीनता दिवसका दिन आफ्नै देशको स्वाधीनता दिवसजस्तो खुसी मनाएर पहिलो पृष्ठमै विज्ञापन छाप्छन्, यस्तो संसारको कुनै देशले गर्दैनन् । दौत्य सम्बन्ध स्थापना भएको दिनचाहिँ दुवै देशले छाप्छन् । यो गलत हो । जनतामा यसको राम्रो सन्देश जाँदैन भनेर लेखेको थिएँ । यो हाम्रो परराष्ट्र नीतिले जे भने पनि गलत हो भनेर लेखेको विषयमा भित्रभित्रै एकखालको शीतयुद्धजस्तो चल्यो । यो कुरा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठज्यूले थाहा पाउनुभयो र व्यक्तिगत रूपमा कुरा गर्दा यो त गम्भीर विषय रहेछ, म तपार्इंको दृष्टिकोणमा सहमत छु भन्नुभएको थियो । पुष्कर सर र मैले प्रचण्डको अन्तरवार्ता गरेका थियौं । त्यो अन्तरवार्ता नै पहिलो प्रत्यक्ष अन्तरवार्ता थियो ।

त्यसपूर्वका सबै अन्तरवार्ताहरूमा इमेलबाट एकोहोरो प्रश्न पठाएर जवाफ मात्र आएपछि छापिन्थे । त्यो पुष्कर सर र मैले लिएको अन्तरवार्ता नै पहिलो थियो जहाँ क्रस कोइश्चनहरू तत्काल प्रतिप्रश्न गरिएका थिए । त्यो अन्तरवार्ता लिनु, छाप्नु निकै खतरापूर्ण थियो । मैले अन्तरवार्ताका लागि सबै कुरा मिलाइसकेपछि खतराको बारेमा बताएँ । उहाँले त्यो खतरा आफू पनि मोल्न तयार छु भन्नुभयो । अन्ततः हामी दुवै स्थान गोप्य राखेर अन्तरवार्ता प्रकाशित गर्ने निधोमा पुग्यौं । एक जना प्रधानसम्पादक एउटा आफ्नो फिल्डमा खट्ने पत्रकारसँगसँगै खतरा मोलेर सामग्री संकलनमा लाग्नु सानो विषय होइन । सो अन्तरवार्ता पुष्कर सरको पुस्तक कलममा पनि प्रकाशित छ ।
एकपटक म सम्पादकीय लेखिरेको थिएँ । मोबाइल थिएन । ल्यान्डलाइनमा फोन बज्यो । मैले एकोहोरो बनेर लेखिरहेको धुनमा देब्रेतिरको कानमा रिसिभर जोडेर टाउकोले घाँटीतर्फ दबाउँदै बोलेँ, हजुर ।
— स्वागत जी
— भन्नुस्
— म पुष्कर
— कहाँबाट ?
— माथिबाट स्वागत जी (पुष्कर सरको कार्यकक्ष सबैभन्दा माथिको तल्लामा थियो )
— कहाँमाथि, छिटो भन्नुस् म व्यस्त छु, कुरा के हो ?
— म पुष्कर के
— सरी, म बिजी छु आफ्नो पूरा परिचय दिनुस् वा पछि कुरा गरौं ।
— ठिकै छ नि त पछि कुरा गरौंला
फोन राखियो ।
म फेरि सम्पादकीय लेख्न थालेँ, निहुरिएकै थिएँ ।
मेरो अगाडि कसैको छायाँजस्तो देखेँ । यसो माथितिर हेरेँ । पुष्करलाल श्रेष्ठ प्रकाशक, प्रधान सम्पादक उभिएर हेरिरहनु भएको रहेछ, केही नभनी ।
— ओहो सर नमस्कार ।’ मैले उठेरै नमस्कार गरेँ ।
— अब चिन्नै छोड्नुभयो, त्यसैले म आफैँ अगाडि नै आएँ ।
— म झसंग भएँ सर अघि हजुरले फोन गर्नुभएको हो र ? सरी सर ।
— होइन ठीक छ, सम्पादकीय लेखनमा यति ध्यान दिनुभएको रहेछ, खुसी लाग्यो ।’ उहाँले भन्नुभयो ।
म अलि अप्ठेरो मानेर बसेँ ।

फेरि उहाँले भन्नुभयो, मलाई नचिन्ने गरी काम गर्नुस् यसमा म झन् खुसी छु ।
उहाँको कुरा वास्तवमै धेरै आदर्शवादी थियो । आफ्नो बोसलाई कामले भन्दा कुराले रिझाउने समय, काम नचिने पनि बोस चिन्नुपर्ने समय । उहाँले वास्तवमै मलाई उत्साहित बनाउनुभयो । म पनि यस्तो गम्भीरतापूर्वक सम्पादकीय लेखनमा थिएँ … एउटा कुरा साँच्चै भन्नुपर्ने । त्यो के भने हामीसँग एक जना पत्रकारका लागि एक एक कम्प्युटर पनि थिएन । हातैले सम्पादकीय लेख्थेँ । हातले लेखेर दिएको सम्पादकीय टाइपिस्ट साथीहरूले टाइप गर्थे । त्यसपछि फेरि हामी अन्तिम रूप दिन्थ्यौं ।
म त्यसबेला सम्पादकीय पृष्ठको संयोजन गर्ने गर्थें । मलाई उहाँले अरु कोही एकजना राजनीतिक नेताको लेख हातमा थमाइदिनुभयो र भन्नुभयो यो लेख भोलिका लागि ।
मैले हातमा लिएर एकैछिन पढेँ, निष्कर्ष बुझेँ र भनेँ, सर यो भोलि नै छाप्नुपर्ने हो र ?
मैले हुन्छ भनेर वचन दिएको छु, उहाँले भन्नुभयो ।

मेरो जवाफ थियो —सर यो भन्दा टाइपिस्टकहाँ गइसकेका लेखहरू अझ राम्रा छन् । दोस्रो कुरा हजुरलाई आजै दिएर भोलि नै छापिदिनुस् भन्नेबित्तिकै सम्पादकीय समूहले नहेरी हुन्छ भनेर हजुरले वचन दिनुले हाम्रो पत्रिकाको र सम्पादकीय जिम्मेवारीका समूहको केही पनि अर्थ रहेनछ भन्ने ती नेताले बुझ्छन् । त्यसैले, मेरो सम्पादकीय टिमले भोलि नै नछाप्ने निर्णय ग¥यो भन्ने जवाफ हजुरले दिनु उचित हुन्छ । किनकि, यो लेख उहाँको पार्टीभित्रको किचलोको विषयमा मात्र हो । अरु लेख जनताका समस्यासँग सम्बन्धित छन् ।मैले त्यति भनेपछि पुष्कर सरको अनुहारमा अचम्मको खुसी देखेँ । उहाँले भन्नुभयो, मैले पढेको छैन । यदि त्यसै हो भने ठीक छ ल जे गर्नुपर्छ गर्नुस् । फोन आयो भने सिधैं तपाईंकोमा फरवार्ड गर्न भनिदिन्छु रेसिप्सनिस्टलाई ।वास्तवमा समाचारपत्रमा धेरै सम्पादकीय स्वतन्त्रता थियो । त्यो स्वतन्त्रता कतिसम्म उपयोग गर्ने भन्ने पत्रकारकै विवेकमा भर पर्छ । हामी स्वच्छन्दचाहिँ थिएनौं ।

हुन पनि बढीमा चार वर्षमा राष्ट्रपतिको शासन सकिन्छ तर पत्रकारिताको राज चलिरहन्छ । नेपाल समाचारपत्रले देशभक्तिको पक्षमा स्थापित गरेको पत्रकारिताको एउटा आयाम विश्वका पत्रकारिताका विश्वविद्यालयहरुमा अध्ययन मात्र होइनन् थेसिस गरिन लायक रहेको छ । त्यस समयको समूहमा रहेर देशका कयौं खराब नीतिहरू सुधार गर्न योगदान दिन पाउने अवसर पाएकोमा सधैंका लागि गौरव बोध गर्दछु ।
पत्रकारिता व्यावसायिक नभएर व्यापारिक हुँदै गएको अहिलेको सन्दर्भमा नेपाल समाचारपत्रको आदर्शमय पत्रकारिताको आलोकमा नेपाली पत्रकारिता फेरि पुनर्जागृत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्