आर्थिक उपार्जन र स्वास्थ्यमा खुर्सानीको महत्त्व

0
Shares

खुर्सानी पिरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो । खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरूमार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ । खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर भनेर चिनिन्छ ।

खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन् भने पूर्वतिरका राई, लिम्बू तथा मंगोलियन समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ । अलि साना खालका खुर्सानीमा झनी, चुच्चे, घोक्रे आदि पनि छन् । सानो जिरे खुर्सानी पिरो भन्ने उखान नै छ । पिरो नहुने खुर्सानी भेँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ । खुर्सानीलाई खानाको परिकार सजाउन र स्वादिष्ट बनाउन अधिक प्रयोग गरिएको पाइन्छ । सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ ।

खुर्सानीको इतिहास अध्ययन गर्दा खुर्सानीको उत्पत्ति मध्यअमेरिकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेँडेखुर्सानी, अकबरे खुर्सानी, जिरे, लाम्चे आदि थुप्रै प्रकारका पाइन्छन् । नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र पश्चिमका गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ । तेह्रथुमबाट २०७५ सालमा ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको अभिलेख पाइन्छ । भारतका विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रयोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकेजी ३०० देखि ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरु पनि यो नगदे बालीमा आकर्षित भएका छन् । अहिले चाउचाउहरूमा यही रातो अकबरे खुर्सानी प्रयोग गरेको पाइएको छ र चाउचाउ फ्याक्ट्रीहरुले खुर्सानी खरिद गर्ने हुँदा यसको मूल्य बढ्दै गएको छ । दिनानुदिन खुर्सानीको महत्व बढ्दो छ ।

त्यसमध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाइन्छ भने आजभोलि नेपालको पश्चिमी क्षेत्र गुल्मी, पाल्पा, अर्घाखाँचीमा पनि यसको प्रशस्त मात्रामा खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ । विशेष गरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानीमध्ये आकार, रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानो गोलो, लाम्चो, ठूलो गोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्ले पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा पाइन्छ ।

तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । नेपालको पश्चिमी क्षेत्र गुल्मी, पाल्पा, अर्घाखाँचीमा पनि अकबरे खुर्सानीको खेती गरी व्यावसायिक बनाएको पाइन्छ । यसै गरी सुदूरपश्चिम क्षेत्रमा डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रमा अकबरे खुर्सानीको खेती गरेको पाइन्छ । हाल तरकारी जर्मप्लाजम संवद्र्धन तथा तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरामा यसको जातीय अध्ययन संवद्र्धन गरी कृषकहरुमा प्रचारप्रसार गर्ने कार्य भइरहेको छ । यसरी पूर्वदेखि सुदुरपश्चिम क्षेत्रसम्म अकबरे खुर्सानी खेती फस्टाउँदै गएको छ ।

अकबरे खुर्सानी नेपालको धेरै भू–भागमा उत्पादन हुन्छ । कतिपय किसानले व्यावसायिक ढंगले अकबरे खुर्सानीको उत्पादन गरेका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, इलाम, पाँचथरजस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएका छन् । अकबरे हाम्रो रैथाने उत्पादन हो । यसको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री से. र रातिको तापक्रम १५–२० डि.से. उपयुक्त हुन्छ । तथापि त्यसभन्दा घटी वा बढीमा पनि उत्पादन गर्न सकिन्छ । एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति बिरुवा उम्रे पनि १२०० बिरुवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लास्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।

चिम्ट्याइलो माटोमा अकबरे खुर्सानी राम्ररी सप्रन्छ । भिरालो एवं पाखो बारी पनि अकबरेका लागि उपयुक्त मानिन्छ । आजभोलि कतिपयले घरको छतमा, बार्दलीमा, बगैँचामा समेत अकबरे खुर्सानी रोप्ने गर्छन् । अकबरे खुर्सानीलाई सकेसम्म अग्र्यानिक विधिबाट उत्पादन गर्नु राम्रो हुन्छ । गाउँघरमा गाईवस्तु, बाख्रा, परेवा तथा कुखुराको मल प्रयोग गरेर अकबरे खुर्सानी रोप्ने गर्छन् । यसमा कीरा लागेमा गोमूत्र लगाइन्छ । यसरी अग्र्यानिक ढंगले उत्पादन गरिएको अकबरे खुर्सानीको असली स्वाद पाइन्छ । अकबरे खुर्सानी पिरो हुन्छ । पिरोको पनि आफ्नै स्वाद हुन्छ । यसमा एक किसिमको बास्ना पनि महसुस गर्न सकिन्छ । अबकरे खुर्सानीले कुनै हानि गर्दैन । अकबरे, डल्ले, भिडे, जिरे, हरियो खुर्सानी धेरै थरी हुन्छन् । खुर्सानीका विभिन्न परिकार बनाएर आर्थिक लाभ लिन सकिन्छ भने खुर्सानी धेरै स्वस्थ्यवद्र्धक हुने हुँदा जीवनोपयोगी हुन्छ । यसरी खुर्सानीका फाइदै फाइदा छन् ।

अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्यास्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधिको काम गर्ने बताइन्छ । यसै गरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाइ कम गर्न सहयोग गर्छ । अकबरे वा राङ्गे खुर्सानी पहिले मंगोल जातिका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन् । अकबरे खुर्सानी ग्यास्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधिको रुपमा प्रयोग गरेको पाइन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ ।

अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुचि हुने र थकाइसमेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाइन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का सुकाइ सुल तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट बिर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेत अकबरेको पेस्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ । पिरो खानेकुराले तौल घटाउनेदेखि शरीरलाई न्यानो बनाउन र शरीरभित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ ।

नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । आवश्यकताभन्दा बढी खाएमा ज्यानसमेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो । अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्ट्रिकको दबाई भनेर नै चिनिन्छ । वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जो–कोही आफन्त नेपालबाट जाँदा उनीहरुले अकबरे मगाएका हुन्छन् ।

प्रायः भेँडे खुर्सानीबाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो । तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुँदैन । खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन् । सामान्यतयाः नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ । खुर्सानीका जात पनि दर्जनौं हुन्छन् । नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीँ यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खान सकिन्छ ।

त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसियालगायतका देशहरुमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

अकबरे खुर्सानीका फाइदा:
अकबरे खुर्सानीले खाना पचाउने काममा विशेष सहयोग पु¥याउँछ । साथे माइग्रेनको समस्या समाधानमा सहयोग गर्छ । यो नियमित सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ । त्यस्तै कोल्ड फ्लुबाट बचाउन मद्दत पु¥याउँछ । हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो नियमित खान सकिन्छ । कार्डियोभास्कुलर र मुटुको समस्या हुनबाट जोगाउनमा पनि निकै फाइदाजनक मानिन्छ । यसले डाइबिटिज (चीनीरोग) हुनबाट जोगाउन विशेष भूमिका खेल्छ । शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पु¥याउँछ । रगतमा चिनीको मात्रा घटाउन पनि मद्दत पु¥याउँछ ।

त्यसै गरी अकबरे खुर्सानीले ग्यास्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ । पिसाबसम्बन्धी समस्या कम गराउन सहयोग पु¥याउँछ । अकबरे हालेर पकाएको खाना कीटाणुरहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ । थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिसेर कुनै पनि चिजसँग खान सकिन्छ । यसमा क्याप्सिसिन पाइन्छ, जसका कारण पेटसम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पु¥याउँछ, एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।

हरियो खुर्सानीका फाइदा:
हरियो खुसार्नीले मधुमेहलाई पनि फइदा गर्छ । शरीरको ब्लड सुगर लेबल सन्तुलित गराउँछ । पाचन शक्ति बढाउँछ । यो खुर्सानीमा फाइबर हुन्छ, त्यसैले कब्जियतबाट बचाउँछ । यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र पाचनसम्बन्धी बिमारीहरुलाई राहत मिल्छ । हरियो खुसार्नीमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ, जसले गर्दा छालासम्बन्धी रोग लाग्नबाट बचाउँछ । क्यान्सरबाट बच्न हरियो खुर्सानीले सहयोग गर्छ । हरियो खुर्सानीमा एन्टी अक्सिडेन्ट हुन्छ, जसले शरीरको रोग–प्रतिरोधात्क क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले प्रोस्टेट क्यान्सरको खतराबाट बचाउने गर्छ । प्रतिरक्षामा सुधार ल्याउन सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन ‘सी’ भरपूर मात्रामा हुन्छ, जसले प्राकृतिक प्रतिरक्षामा सुधार गर्छ । यसले रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ । हरियो खुर्सानी सेवन गर्नाले छालाको लागि फाइदाजनक हुने र भिटामिन ‘ई’ पनि पाइन्छ, जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायम र राम्रो हुन जान्छ । हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ । हरियो खुर्सानीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ । भिटामिन ‘सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ ।

त्यस्तै हरियो खुर्सानी एन्टी अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचूर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राख्न सघाउँछ । भिटामिन ‘ए’समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ । हालै भएको एक सर्वेक्षणका अनुसार हरियो खुर्सानीले ब्लड सुगर कम गर्न मद्दत गर्दछ । विज्ञहरूका अनुसार हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ भनेका छन् । हरियो खुर्सानीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई ब्याक्टेरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग–प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ । दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग–प्रतिरोधी क्षमता बढाउँछ । खुर्सानीको सेवन गर्ने ब्यक्तिमा नाकको रक्तसञ्चार, रुघा वा पिनासको समस्या कम हुन्छ भन्ने अनुसन्धानबाट पाइएको छ । हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउँछ र साथै दुखाइ पनि कम गर्छ । हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फूर्त राख्दछ ।

यसै गरी इन्जाइम बढाउन, मानिसको स्वभाव परिवर्तनमा नियन्त्रण पाउनसमेत खुर्सानी उपयोगी हुन्छ भन्ने विज्ञहरूले उल्लेख गरेको पाइन्छ । ब्लड सुगर नियन्त्रण गरी शरीरमा सुगरको मात्रा सन्तुलन राख्न हरियो खुर्सानी लाभदायक छ । शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परिपूर्ति गर्छ । आँखा कमजोर भएकाहरुले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ भन्ने भनाइ छ । छालाको संक्रमण र बाहिरी रोगको प्रभाव रोक्नसमेत हरियो खुर्सानीको सेवन उपयोगी मानिन्छ । चोट वा घाउ लाग्दा हुने रक्तश्राव रोक्नसमेत हरियो खुर्सानीको सेवन लाभदायी हुन्छ । हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ ।

खुर्सानीमा फोलिक एसिड, पोटासियम र आइरन पनि प्रशस्त मात्रामा हुन्छ । चिकित्सकहरूका भनाइ अनुसार रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कोलेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ । यसबाहेक यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् । रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’बाहेक रातो र पहेँलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । विभिन्न विशेषज्ञहरूका अनुसन्धान अनुसार भेँडे खुर्सानी खानेहरूमा बुढेसकालमा आँखाको क्षति हुने घटना कम पाइएको विभिन्न सञ्चारमाध्यममा उल्लेख गरेको पाइन्छ । यसै गरी डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सरजस्ता रोगमा औषधिको समेत काम गर्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुग्ने बताइएको छ ।

यो खुर्सानीको नियमित सेवनले विभिन्न रोगहरू निको हुन्छन् । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । यसले मोटोपन घटाउँछ । रगतमा चिनीको मात्रा घटाउँछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाड–जोर्नीलगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा कीटाणुको संक्रमण कम हुन्छ । थकाइ पनि मेटाउँछ । खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरीरलाई चिसो हुनबाट जोगाउँछ । चिसो, पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेको तरकारीले शरीरलाई फाइदा गर्छ । खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधिमा केही मात्रामा खुर्सानी मिसाइन्छ । खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ ।

सन् १९९८ मा गरिएको एक अध्ययनमा रातो खुर्सानीले मेटाबोलिज्म वृद्धि गर्ने र शरीरको ऊर्जा छिटो उपयोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ । सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरविरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको छ । आम भारतीयमा प्रोस्टेट क्यान्सर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरीरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोङ्काइटिसबाट जोगाउँछ । रातो खुर्सानीले पेटको बिमार पनि निको बनाउने अनुसन्धानबाट पाइएको छ ।
स्वास्थ्यका लागि मात्र नभएर खुर्सानीको व्यावसायिक खेती गरी मनग्गे आम्दानी गर्न सकिन्छ । खुर्सानीको धूलो, मसला, अचार, सुकुटी, चटनी, माडा आदि विभिन्न परिकार बनाई आर्थिक लाभ लिन सकिन्छ । खेतबारी, भीरपाखा, घरका बरण्डामा समेत खुर्सानीको खेती गरी नगदेबालीको रूपमा व्यवसायीकरण गर्न सकिन्छ ।

खुर्सानीका बेफाइदा:
खुर्सानीका थुप्रै फाइदा हुँदाहुँदै यसका बेफाइदाहरू पनि रहेका छन् । आवश्यकताभन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आँखा पोल्ने र निद्रा नलाग्ने हुन्छ । गर्मी हुने मानिसलाई फाइदाभन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिकरुपमा तनाव बढाउने र शौच गर्न गाह्रो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर (उच्च रक्तचाप), कलेजोको रोग, डाबिटिज (चिनी रोग), किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा सावधानी अपनाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण भएका, बाथरोग भएकाहरुले खुर्सानी खानुहुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् ।

खुर्सानीको खेतीबाट मनग्गे आर्थिक लाभ गर्न सकिन्छ । साथै यसको सेवनबाट विभिन्न किसिमको स्वास्थ्यलाभ पनि गर्न सकिन्छ । तर यसको मात्रा, आफ्नो शारीरिक अवस्था र समय अनुकूल प्रयोग हुन सकेन भने यसले ठूलो असर पु¥याउन सक्छ । सचेत भएर सही सदुपयोग हुन सकेमा भने यसको अधिकतम उपयोग गरी धेरै फाइदा लिन सकिन्छ । खुर्सानी खेतीबाट मनग्गे आम्दानी गरी समृद्ध समाज बनाउन पनि सहयोग पुग्छ ।
(लेखक पन्थी नेपाल सरकारका उपसचिव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)