इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु



एजेन्सी।

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा करिब ७५ जना थिए।
पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन्, ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ।’

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ। अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्गगित गर्नुपरेको थियो।

इन्डोनेसियाको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन्।

प्रतिक्रिया दिनुहोस्